कान्ति बाल अस्पताल कुनै पनि हालतमा बन्द हुँदैन, बन्द हुन दिँदैनौँः निर्देशक राई

काठमाडौं– पछिल्लो समय कान्ति बाल अस्पतालमा शैय्याको कटौती हुँदै गएकाले आम बुझाइमा अब कान्ति बन्द हुने अवस्थामा पुगेको समाचार फैलिएको छ ।

आर्थिक अभाव भएपछि अस्पतालल ठूलो संख्यामा शैय्या, आइसियु सेवा, इन्टरमिडियट बेड र अन्य उपकरण चाहिँ बन्द गरिसकेको छ । 

अस्पतालका अनुसार ३०० बेड, ३७ आइसियु बेड र २० इन्टरमिडियट सञ्चालनमा रहेको कान्ति अस्पतालतले पछिल्लो एक महिनामा सामान्य तर्फ ४६, आइसियुका १० र ६ इन्टरमिडियट तर्फका शैय्या कटौती गरेको छ । 

बजेट र जनशक्ति अभावका कारण अस्पताल सन्चालनमा समस्या उत्पन्न भएको कान्ति बाल अस्पतालका निर्देशक डा. गणेश राई बताउँछन् । ‘अस्पताल सञ्चालनमा समस्या देखिन थालेको हो,’ राईले फरकधारसँग भने ।

उनले स्वास्थ्य, सामान्य प्रशासन र अर्थ मन्त्रालयको समन्वय र तालमेल नमिलेकाले नै यस्तो समस्या आएको पनि बताए । ‘स्वास्थ्य मन्त्रालयको एक्लो पहलले मात्रै पनि हुँदैन,’ उनले भने, ‘स्वास्थ्यले त काम गरेको छ, तर अब बजेट दिने अर्थले नदिएपछि कसरी काम होस् ?’ उनले अर्थसँग पनि स्वास्थ्यका लागि पर्याप्त बजेट नभएकाले यो समस्या आएको बताए । 

डा. राईले सरकारले स्वास्थ्यलाई नजरअन्दाज गरेको आरोप पनि लगाए । ‘स्वास्थ्यका लागि सरकारले ५ प्रतिशतभन्दा पनि कम बजेट छुट्ट्याएपछि कान्तिमा मात्र होइन, देशभरका अस्पतालमा समस्या परिरहेको छ,’ उनले भने, ‘यही बजेटले धान्न गाह्रो छ, कम्तिमा पनि सरकारले पूरा बजेटको १० प्रतिशत बजेट स्वास्थ्यका लागि छुट्ट्याउनु पर्ने हो ।’



राईका अनुसार कान्ती बाल अस्पतालमा जनशक्तिको पनि ठूलो अभाव छ । ‘१५ वर्ष यता कर्मचारी समायोजन भएको छैन,’ उनले भने, ‘यस्तो अवस्थामा एउटा अस्पताल कसरी स्थिर ढङ्गबाट अगाडि बढ्न सक्छ ?’ 

तर, यही कारणले मात्र अस्पताल बन्द हुने अवस्थामा नपुगेको उनको जिकिर छ । ‘बाहिर भनिएजस्तो अस्पतालको अवस्था त्यस्तो कमजोर वा नाजुक छैन,’ उनले भने, ‘मिडियाहरुले अस्पतालको वास्तविक अवस्था बाहिर ल्याएका छैनन्, अतिरन्जना गरेर प्रस्तुत गरिरहेका छन् ।’



‘हेर्नुस्, कान्ति बाल अस्पताल कुनै हालतमा बन्द हुँदैन, हामी बन्द हुन दिँदैनौँ,’ उनले भने, ‘बाहिर आएका हल्लाकै कारण मुलुककै पुरानो अस्पताल बन्द हुन सक्दैन ।’

उनले अस्पतालले आफूसँग भएको जनशक्तिको यथोचित् परिचालन गरिरहेको पनि बताए । ‘हिउँदमा नवाजात शिशु तर्फको वार्डमा शिशुहरुको संख्या कम थियो । त्यसैले नवजात शिशु तर्फ खटिएको जनशक्तिलाई मानसिक सर्जरी वार्डमा खटाइएको छ,’ उनले भने, ‘हामीले अस्पताल बचाउनकै लागि जनशक्तिलाई उचित परिचालन गरिरहेका छौँ ।’

अस्पतालमा पछिल्लो समयमा देखिएको समस्याबारे स्वास्थ्य मन्त्रालयमा आवश्यक छलफल भएको र यो समस्या छिट्टै समाधान हुने पनि राईले बताए । 

  • प्रकाशित मिति : चैत २४, २०७५ आइतबार १७:२७:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया