कांग्रेसलाई उपनिर्वाचन उम्मेदवार छान्न सकस, आज पनि बैठक
फाइल तस्बिर

आउँदो १५ वैशाखमा हुने उपनिर्वाचनका लागि एमाले, रास्वपालगायत अन्य दल उम्मेदवारी घोषणा गरेर प्रचारमा लागिसकेका छन् । तर, नेपाली कांग्रेसले भने अझैसम्म उम्मेदवारकै टुंगो लगाउन सकेको छैन । 

उम्मेदवार छान्न सोमबार र मंगलबार दिनभर सभापति शेरबहादुर देउवाले पार्टीभित्र नेतासँग छलफल गरिरहेका छन् । तर, सहमति जुटेको छैन । कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा नेताहरूबीच मतभेद भएको छ ।  

मंगलबार उम्मेदवारको टुंगो लगाउन नसकेपछि बुधबार पनि कार्यसम्पादन समितिको बैठक बस्दैछ । प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पार्टीले उपनिर्वाचनका लागि उम्मेदवारी दिने र त्यही विषयमा छलफल भइरहेको बताए । ‘सिफारिस भएर आएका नाममाथि छलफल भयो । विभिन्न चरणमा सबै नामहरूमाथि छलफल गरेपछि अब टुंग्याउने चरणमा पुगेको छ,’ उनले भने, ‘आज बस्ने बैठकले टुंगो लगाउँछ ।’

बुधबार पनि दिउँसो २ बजे बुढानिलकण्ठस्थित देउवाको निवासमा बैठक बस्दैछ । मंगलबारको बैठकमा सभापति देउवाले इलाम–२ मा डम्बरबहादुर खड्का र बझाङको प्रदेशसभा–१ मा अभिषेक सिंहलाई उम्मेदवार बनाउन प्रस्ताव गरेका थिए । तर, त्यसमा नेता शेखर कोइराला पक्षले असहमति जनाएको छ ।

देउवाको प्रस्तावमा नेता कोइराला र महामन्त्री गगन थापाले असहमति जनाएपछि मंगलबार उम्मेदवारको टुंगो लाग्न नसकेको हो । कोइराला पक्षले इलाम–२ मा भेषराज आचार्य र बझाङमा जगत जोशीलाई उम्मेदवार बनाउन प्रस्ताव गरेको छ । 





  • प्रकाशित मिति : चैत २१, २०८० बुधबार ९:२:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया