logo-img

रवि लामिछानेलाई रोष्टममा बोल्न नै नदिएर निषेध गरियो : स्वर्णिम वाग्ले
आरोप लाग्नासाथ सांसदबाट पनि राजीनामा दिने सर्वदलीय सहमति गरौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले आरोप लाग्नासाथ पदबाट राजीनामा गर्नुपर्ने नजिर स्थापित गर्न सर्वदलीय सहमति गर्न प्रस्ताव गरेका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद वाग्लेले सहकारी प्रकरणको सम्बन्धमा गृहमन्त्री रवि लामिछानेलाई रोष्टममा उभिएर बोल्न नदिएर निषेध गरिएको बताए । 

उनले भने, ‘संसदीय छानबिन समिति बनाउन आपत्ति होइन । कस्तो नजिर स्थापित गर्न गइरहेका छौँ भन्नेबारे विचार गर्नुपर्ने हुन्छ । सर्वदलीय सहमति गरौँ, आरोप लाग्नासाथ सबले राजीनामा गरौँ । मन्त्रीले मात्र होइन, सांसदले पनि राजीनामा गरौँ । र आरोप लाग्यो, जाहेरी पर्‍यो भने राजीनामा दिने र संसदीय समिति गठन गर्ने नजिर स्थापना गर्न तयार हो ? सर्वदलीय सहमति गरौँ यो हो भने पहिलो हस्ताक्षर राष्ट्रिय स्वतन्त्र पार्टीले गर्नेछ । बाहिर अनुसन्धान प्रभावित गरिने । राज्यका निकायहरूमा अविश्वास गरिने । कुरालाई संसदभित्रै प्रवेश गरायौँ भने त सुनदेखि वाइडबडीसम्म । टिकापुरदेखि बालमन्दिरसम्म । शरणार्थीदेखि टेरामक्ससम्म । मनी लण्डरिङदेखि कर छलीसम्म । झण्डा हल्लाउँदै अख्तियार धाएको कुरादेखि लिएर भ्रष्टाचारमा प्रमाणित नेतालाई सरकारी खर्चमा शालिक बनाइएका कुरासम्म पनि त प्रवेश हुन्छ होला नि त ।’

उनले यस प्रकारको असहिष्णुता र अनुदार वाद कहाँबाट आयो भनी प्रश्नसमेत गरे । उनले आरोप लाग्नासाथ मन्त्रीबाट मात्रै होइन सांसदबाट पनि राजीनामा गर्ने गरी सर्वदलीय सहमति गर्न प्रस्ताव गरे । उनले आरोप लाग्नासाथ र जाहेरी पर्नासाथ राजीनामा दिने र संसदीय समिति गठन गर्ने नजिर स्थापना गर्न अन्य दल तयार भए रास्वपा पनि तयार रहेको बताए । 

उनले भने, ‘प्रतिपक्षमा हुँदा हामीले पनि प्रश्न गरेका हौँ । शालीन प्रतिरोध, शालीन प्रतिवाद, संसदीय व्यवस्थामा प्रतिपक्षी धर्म नै हो । त्यसलाई हामीले उन्नत किसिमले प्रयोग गरेकै हौँ । सम्पूर्ण प्रतिपक्षीहरूले अर्थमन्त्रीको राजीनामा माग्दा खेरी हामी संयमित भएका थियौँ । हामी रोकिएका थियौँ । हामीले भन्यौँ अर्थमन्त्रीको पहिला कुरा सुन्नुपर्छ । उहाँलाई स्पष्टीकरणको मौका दिनुपर्छ । अनधिकृत व्यक्तिको प्रवेश द्वारा बजेट निर्माण गरियो भन्दा खेरी अर्थमन्त्रीको राजीनामा हामीले मागेका थिएनौँ भौतिक मन्त्रीमाथि पनि लगभग सबै प्रतिपक्षी दलहरूले राजीनामा माग्दा खेरी हामीले भन्यौँ पहिले उहाँको कुरा सुन्नुपर्छ । आज गृहमन्त्रीले तपाईँहरूले यति धेरै आक्षेप लगाउनु भएको छ यही हल भित्र । म रोष्टममा उभिएर जवाफ दिन चाहन्छु भन्दा खेरी उहाँलाई निषेध, यो हदसम्मको असहिष्णुता, यो अनुदार वाद कहाँबाट आयो ? यो कस्तो संस्कृति हामी बसाउन खोज्दै छौँ यो असाध्यै चिन्ताजनक छ ।’ 

उनले गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिएर उनको कुरा सुन्नुपर्ने बताए । उनले गृहमन्त्रीको जवाफले चित्त नबुझे संसदको सम्बन्धित समितिमा अथवा संसदीय छानबिन समितिमा जान सकिने बताए ।  





  • प्रकाशित मिति : चैत २१, २०८० बुधबार १५:३७:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया