आइपिएलमा कोलकाताको ह्याट्रिक जित, दिल्ली क्यापिटल्स १०६ रनले स्तब्ध

भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकाता नाइट राइडर्स (केकेआर) ले बुधबार राति सम्पन्न खेलमा दल्ली क्यापिटल्स (डिसी) लाई १०६ रनले हराएको छ ।

जारी सिजनमा केकेआरको यो लगातार तेस्रो जित हो । डिसीको भने यो तेस्रो हार हो । आफ्नो चौथो खेलमा कोलकाताले दिएको २ सय ७३ रनको लक्ष्य पछ्याएको दिल्ली १७.२ ओभरमा १ सय ६६ रनमै अलआउट भयो ।

उसका लागि कप्तान  ऋषभ पन्त र ट्रिस्टन स्टब्सले अर्धशतकीय पारी खेले पनि फराकिलो हार टार्न सकेनन् । कोलकाताविरुद्ध पन्तले २५ बलमा पाँच छक्का र चार चौकासहित ५५ तथा स्टब्सले ३२ बलमा ५ चौका र ५ छक्काको मद्दतमा ५४ रन बनाए ।

यस्तै, डेविड वार्नर १८ र पृथ्वी सा १० रनमा आउट भए । मिचेल मार्स, अभिषेक पोरेल र अक्षर पटेलले खाता नै खोल्न सकेनन् । दिल्लीलाई समेट्न वैभव अरोरा र बरुण चक्रवर्तीले तीन/तीन तथा मिचेल स्टार्कले दुई विकेट लिए ।

त्यसअघि विशाखापट्टनममा टस जितेर ब्याटिङ रोजेको कोलकाताले निर्धारित ओभरमा ७ विकेट गुमाएर २ सय ७२ रन बनायो । आइपिएल इतिहासमा बनेको यो दोस्रो उच्च स्कोर हो ।  



कोलकाताका लागि सुनिल नारायण र अङ्कृष्ण रघुवंशीले अर्धशतकीय पारी खेले । पहिलो विकेटका लागि फिल साल्ट र सुनिल नारायणले ४.३ ओभरमा ६० रनको साझेदारी गरे । साल्टले १२ बलमा १८ रन बनाए । त्यसपछि नारायण र रघुवंशीले ४८ बलमा १०४ रनको साझेदारी गरे ।

दोस्रो विकेटको रूपमा नारायण ३९ बलमा ८५ रनको विस्फोटक पारी खेल्दै आउट भए । त्यसक्रममा उनले समान सात चौका र छक्का प्रहार गरे । यस्तै,  रघुवंशीले २७ बलमा पाँच चौका र तीन छक्काको मद्दतमा ५४ रन बनाए ।



त्यस्तै, आन्द्रे रसेलले ४१, रिंकु सिंहले २६ र कप्तान श्रेयस अय्यरले १८ रनको योगदान दिए । दिल्लीका एनरिक नोर्टजेले तीन र इशान्त शर्माले दुई विकेट लिए ।  

यो जितपछि कोलकाता अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । अपराजित कोलकाताले तीन खेलबाट ६ अंक जोडेको छ । दिल्ली तालिकाको नवौँ स्थानमा छ । उसको चार खेलबाट दुई अंक मात्र छ ।  आइपिएलमा आज राति गुजरात टाइटन्स र पञ्जाव किंग्स प्रतिस्पर्धा गर्दै छन् । 

  • प्रकाशित मिति : चैत २२, २०८० बिहीबार ७:३२:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया