logo-img

विश्वासको मत लिँदै मुख्यमन्त्रीद्वय शाह र चौधरी, जोगिएला पद ?
मुख्यमन्त्रीद्वय शाह र चौधरी

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै छन् । केन्द्रमा सत्ता गठबन्धन फेरिएपछि केही दलले समर्थन फिर्ता लिएकाले लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिन लागेका हुन् । 

त्यसका लागि सुदूरपश्चिम प्रदेशसभाको बैठक अपरान्ह ३ बजे र लुम्बिनी प्रदेशसभाको बैठक ४ बजे बोलाइएको छ । उनीहरू नेपाली कांग्रेसको तर्फबाट हाल मुख्यमन्त्री रहेका छन् ।

केन्द्रमा कांग्रेस–माओवादी गठबन्धन हुँदा मुख्यमन्त्री बनेका सुदूरपश्चिमका मुख्यमन्त्री शाह माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका थिए । केन्द्रमा माओवादी–एमाले गठबन्धन बने पनि सुदूरपश्चिममा फरक गठबन्धनको कसरत भइरहेको छ । 



मुख्यमन्त्री शाहले प्रदेशमा रहेका नागरिक उन्मुक्ति, राप्रपा र स्वतन्त्र समेत मिलाएर नयाँ गठबन्धनको सरकार बनाउने प्रयास गरिरहेका छन् ।

प्रदेशसभामा कांग्रेसको १८, नागरिक उन्मुक्तिको सात, राप्रपाको एक र स्वतन्त्र एक गरी २७ मत आफ्नो पक्षमा जुटाउने मुख्यमन्त्री शाहको कसरत छ । तर, नागरिक उन्मुक्तिभित्रको विवादका कारण उनले विश्वासको मत पाउने वा नपाउने भन्ने टुंगो छैन । राप्रपाले भने शाहलाई मत दिने देखिएको छ । 

यस्तै, लुम्बिनी प्रदेशसभामा ८७ सदस्य छन्, जसमध्ये राप्रपाबाट निर्वाचित कपिलवस्तुका सांसद जानकीप्रसाद यादव निलम्बित छन् । बहुमतका लागि ४४ सांसद आवश्यक पर्छ । मुख्यमन्त्री चौधरीले विश्वासको मत पाउने सम्भावना कम छ । 



प्रदेशसभामा एमालेका २९, कांग्रेसका २७, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टीका ४, जनता समाजवादी पार्टी, राप्रपा, लोकतान्त्रिक समाजवादी पार्टी र जनमतका तीन/तीनजना सांसद छन् ।

त्यस्तै, जनमोर्चा, नेकपा एस र स्वतन्त्र एक/एकजना सांसद छन् । मुख्यमन्त्री चौधरी विश्वासको मतका लागि कांग्रेसबाहेक १७ सांसदको समर्थन जुटाउनुपर्ने हुन्छ । 



  • प्रकाशित मिति : चैत २२, २०८० बिहीबार १०:२८:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया