अस्थिर राजनीतिको कोपभाजनमा वीर अस्पताल

आजभन्दा करिब डेढ शताब्दीअघि तत्कालीन श्री ३ महाराजा वीर शमशेरको पहलमा स्थापना भएको वीर अस्पताल विशेषगरी विपन्न एवं असहाय वर्गका लागि लक्षित गरेर स्थापना भएको थियो । १५ साउन १९४७ मा १५ वटा अन्तरंग शय्यासहित स्थापना भएको वीर अस्पतालले आफ्नो १३३ वर्षको जीवनमा हजारौँ नेपालीको ज्यान जोगाएको छ । 

झण्डै डेढ शताब्दीमा वीर अस्पतालले विभिन्न आरोह–अवरोह सहारा बनेर खेप्दै आएको छ । देशभर कुनै अस्पताल नहुँदा पनि आमनेपालीको स्वास्थ्यको अभिभारा बहन गर्दै आएको वीर अस्पताल पछिल्लो समय भने देशको राजनीतिक अव्यवस्थाका कारण सिथिल बन्दै गएको छ । 

सबै जनताको स्वास्थ्य सेवामा पहुँच पुर्याउने लक्ष्य राखेर स्थापना भएको वीर अस्पताल पछिल्लो समय पर्याप्त जनशक्ति अभावका कारण सिथिल अवस्थामा पुगेको हो । स्वास्थ्यकर्मी तथा बेड अभावका कारण उपचारका लागि आउने सर्वसाधारणले अझै पनि सास्ती खेप्नुपर्ने अवस्था छ । अस्पताल आउने बिरामीले समयमै र सहजै उपचार पाउने अवस्था अझै छैन ।

जनशक्ति अभावका कारण वीर अस्पतालले पूर्ण क्षमतामा सेवा दिन सकिरहेको छैन । नौ सय ६० शय्या क्षमताको अस्पतालले हाल छसय शय्या मात्रै सञ्चालन गरेको हो । जनशक्ति अभावमा तीनसय ६० शय्या प्रयोगविहीन बनिरहेका छन् । 

वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले इमर्जेन्सी, आइसियू र अप्रेसन थिएटरमा जनशक्ति अभावले सेवा प्रभावित भएको जानकारी दिए । निवर्तमान स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतले एकाएक अस्पतालका कर्मचारी कटौती गरेपछि अस्पतालले कर्मचारी तथा स्वास्थ्यकर्मीको अभाव खेपिरहेको छ । गत असोजमा दुई ७६ जनशक्ति हटिसकेपछि सेवा प्रवाहमा थप समस्या निम्तिएको निर्देशक डा. पौडेलको भनाइ छ । 

शय्या संख्या र सेवा विस्तार भए पनि सोही अनुपातमा बजेट विनियोजन हुनु त कता हो कता पहिलाको तुलनामा बजेट घट्दै गएपछि वीर अस्पताल आर्थिक संकटमा परेको डा. पौडेलले जनाए । उनका अनुसार बजेट कम भएपछि बिरामीको खाद्यान्न, उपकरण मर्मत, सफाइ कर्मचारी र अक्सिजनको खर्च धान्न अस्पताललाई मुस्किल परेको छ । अस्पतालमा रिएजेन्ट, अपे्रसन थिएटर, प्रयोगशाला, एक्सरेलगायत विभागका लागि आवश्यक उपकरण तथा उपचार सामग्री किन्न पनि हम्मेहम्मे परिरहेको उनको भनाइ छ । वीर अस्पतालमा ६० शय्या आइसियू सञ्चालन हुँदै आएको थियो । 



तर, नेपाल सरकारले नर्सिङ जनशक्ति कटौती गर्दा हाल स्वास्थ्यकर्मी तथा बेड अभावका कारण  २७ शय्या मात्रै सञ्चालन भएको डा. पौडेलले बताए । ‘आइसियूको सेवा ५० प्रतिशतभन्दा बढी कटौती भयो, अप्रेसनको सुविधा ३० प्रतिशतभन्दा बढी कटौती भयो,’ उनले भने, ‘असोजअगाडि मासिक एक हजारभन्दा बढी सर्जरी हुन थालेको थियो, हाल छ सय ५० मा झरेको छ ।’

वंशाणुगत रोगको पहिचान गर्ने सरकारी प्रयोगशाला देशभरमा एउटा मात्र छ । त्यो प्रयोगशाला पनि वीर अस्पतालअन्तर्गत पर्छ । जनशक्ति तथा आर्थिक अभावका कारण सो प्रयोगशाला सञ्चालनमा कठिनाइ भएको डा. पौडेल बताउँछन् ।



डा. पौडेलले आगामी आर्थिक वर्षका लागि ९९ करोड रुपैयाँ बजेटको सिलिङ आएको बताए । योमध्ये ६३ करोड रुपैयाँ तलबमै सकिने र संस्थागत विकासका लागि अपुग हुने उनको गुनासो छ ।

किन भयो वीरमा जनशक्ति अभाव ?

बजेट र जनशक्तिको कमीका कारणले अस्पतालसँग भौतिक क्षमता भएर पनि स्वास्थ्य उपचार दिन सकेको छैन । वीर अस्पताललाई गत वर्ष २६ करोड अनुदान दिइएको थियो । चालू आर्थिक वर्षमा यो रकम एक करोड १६ लाख रुपैयाँमा सीमित गरियो । नियमित अस्पताल सञ्चालनका निम्ति गत वर्ष एक अर्ब ४३ करोड रुपैयाँ छुट्याइएकामा चालू आर्थिक वर्षमा यो रकम ७३ करोडमा झारिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ ।

निर्देशक डा. पौडेलका अनुसार सेवा विस्तार भत्ता नपाएका कर्मचारीका निम्ति मात्र मासिक दुई करोड ४३ लाख ५६ हजार रुपैयाँ रकम आवश्यक हुन्छ । न्याम्सका तीन सय १७ कर्मचारीलाई मासिक एक करोड ७४ लाख रुपैयाँ दिनुपर्ने हुन्छ । राति ड्युटी गरेबापत स्वास्थ्यकर्मी र कर्मचारीलाई मासिक २८ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने हुन्छ । 

कोरोना महामारीको समयमा अस्पतालले विभिन्न विभागमा करारमा कर्मचारी नियुक्त गरेको थियो । त्यतिबेला ६ महिनाको करारका लागि भन्दै डाक्टर, नर्स, पारामेडिक्ससहित जम्मा दुईसय ७५ जनालाई करार नियुक्ति दिइएको थियो । गत असोजमा एकाएक ठूलो मात्रामा जनशक्ति हटाउँदा अस्पतालमा कर्मचारी अभाव भएको डा. पौडेलको भनाइ छ ।

कति जनशक्ति अभाव ? 
 
वीर अस्पतालमा एक हजार आठ सयको हाराहारीमा जनशक्ति आवश्यक छ । तर, अस्पतालमा एकहजार १ सयदेखि एकहजार २ सयको हाराहारीमा पदपूर्ति भएको डा. पौडेलले बताए । यसमध्ये पनि अधिकांश नर्सको दरबन्दी खाली रहेको उनले बताए ।

‘सरकारले आठसय ३१ जना नयाँ जनशक्ति छुट्याएकोमा एक सय मात्रै पूर्ति हुन सकेको छ,’ उनले भने, ‘लोकसेवाबाट दुई सय ४६ जनाको पदपूर्ति हुँदा पनि तीन सय जनशक्ति मात्रै भयो, यसमा पनि पाँच सयको हाराहारीमा खाली नै छ ।’

डा. पौडेलका अनुसार अस्पतालमा छ सय शय्या सञ्चालन गर्न तीन सय ७२ जना नर्स मात्रै छन् । उनले भने, ‘यसमध्ये पनि सुत्केरी बिदा, पढाइ बिदालगायत औसतमा १५ देखि २० प्रतिशत जनशक्ति बाहिर नै हुन्छ ।’

वीरमा हाल १७ एनेस्थेसियोलोजिस्ट र करिब चार सय नर्स छन् । तर, बिरामीको संख्या हेर्दा यो जनशक्ति निकै कम हो । निर्देशक डा. पौडेलका अनुसार वीरमा अप्रेसन गर्न आएका बिरामी नफर्काउने गरी सेवा दिने हो भने १० एनेस्थेसियोलोजिस्ट र दुईसय ५० जना नर्स थप्नुपर्ने अवस्था छ । यसबारे स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई समेत जानकारी गराइसकेको उनले बताए ।

स्वास्थ्य मन्त्रालयले दिएको सिलिङअनुसार अर्थ मन्त्रालयबाट बजेट आउनुपर्नेमा स्वास्थ्यबाटै कटौती भएको अस्पतालको गुनासो छ । वीरको खर्चबारे अर्थ र स्वास्थ्य मन्त्रालयबीचमा पनि विवाद रहेको सरोकारवाला बताउँछन् । 

अहिलेको अवस्थामा वीरलाई तङ्ग्रिन बजेट नै आवश्यक रहेको अस्पताल तथा स्वास्थ्य मन्त्रालयका कर्मचारीले जनाइरहेका छन् । अझै पनि सरकारले वीरलाई पर्याप्त बजेट नदिने हो भने वीरको अवस्थामा सुधार आउन मुस्किल नै रहेको धेरैको भनाइ छ । 
 

  • प्रकाशित मिति : चैत २२, २०८० बिहीबार २१:२९:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया