इलाम–२ उपनिर्वाचन : कसको पक्षमा आउला मतपरिणाम ?

इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् । शनिबार दिउँसो उपनिर्वाचनका लागि नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी) लगायत पार्टीका उम्मेदवारहरुले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

नेकपा एमालेबाट सुहाङ नेम्वाङ, नेपाली कांग्रेसबाट डम्बर खड्का, नेकपा (एकीकृत समाजवादी) बाट जितबहादुर राई, जनमत पार्टीबाट प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीबाट श्यामबहादुर दर्जी, मंगोल नेशनल अर्गनाइजेसनका मनेबहादुर लिम्बूले उम्मेदवारी दर्ता गराएका छन् । 

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बू, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू, अर्का स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतमले उम्मेदवारी दर्ता गराएका छन् । उक्त निर्वाचन क्षेत्रमा को विजयी बन्ला भनेर अहिले विभिन्न अड्कलबाजी सुरु भएका छन् । 

पूर्वसभामुख एवं एमालेका तत्कालीन उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको असामयिक निधन भएपछि उक्त क्षेत्रको प्रतिनिधिसभा सदस्य पद खाली भएको थियो । सो क्षेत्रमा शनिबार विभिन्न दल र स्वतन्त्र गगरी २० जनाले उम्मेदवारी दर्ता गराएका छन् । 

२०७९ मंसिर ४ गते सम्पन्न निर्वाचनमा इलाममा २ मा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ कांग्रेसका जिल्ला सभापतिसमेत रहेका डम्बर खड्कालाई झिनो मतान्तरले हराउँदै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । 

नेता नेम्वाङ ३० हजार २० मत ल्याएर विजयी भएका थिए भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २९ हजार नौ सय ६ मत प्राप्त गरेका थिए । एमालेका नेम्वाङ र कांग्रेसका खड्काबीचको मतान्तर जम्मा ११४ थियो । 
 
नेम्वाङ राष्ट्रिय राजनीतिका प्रभावशाली व्यक्तित्व थिए । उनी पटकपटक सांसद मात्र होइन, संविधानसभामा दुईपटक अध्यक्ष र प्रतिनिधिसभामा तीनपटक सभामुख भइसकेका व्यक्ति थिए । त्यसकारण पनि झिनो मतान्तरले नै भए पनि उनी विजयी बनेका थिए । 



झिनो मतान्तरले पराजित भएका खड्कालाई त्यसबेला नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको पनि साथ थियो । अहिले माओवादी केन्द्रले एमालेका उम्मेदवार सुहाङलाई समर्थन गरेको छ भने एकीकृत समाजवादीले आफ्नै उम्मेदवार उठाएको छ । 

उपनिर्वाचनमा यस क्षेत्रमा मुख्य प्रतिस्पर्धा डम्बर खड्का र सुहाङ नेम्वाङबीच नै हुने देखिन्छ । नेम्वाङलाई आफ्नै बुुवाका समर्थकहरूको सहयोगका कारण जित्ने आश छ । उम्मेदवारी दर्तापछि उनले सञ्चारकर्मीहरुसँग कुरा गर्दै इलामवासीको मायाका कारण आफ्नो जित निश्चित रहेको दाबी गरेका छन् । 



नयाँ ढंगले प्रचारप्रसार गर्ने बताउँदै उनले विनागाली गलौज र विनाटीकाटिप्पणी प्रचारप्रसार गर्ने बताएका छन् । सबैजना सक्षम र अब्बल रहेकाले आफ्नो शतप्रतिशत दिएर काम गर्ने उनले बताए । उनले पिता स्व. सुवासचन्द्र नेम्वाङले गरेका कामहरुको पदचाप पछ्याउँदै झनै राम्रो गर्ने प्रतिबद्धता पनि जनाएका छन् । 

एकातिर बुवाका समर्थकको सहानुभूति उनका लागि चुनाव जित्ने बलियो आधार देखिन्छ भने अर्कोतिर राजनीतिमा शून्यप्रायः योगदान र परिपक्वताको अभाव उनका लागि घातक बन्ने देखिन्छ । त्यति मात्रै होइन, वर्षौंदेखि सुवासको छायामा परेका एमालेका सिनियर नेतालाई पन्छाएर नेम्वाङपुत्रलाई नै उम्मेदवार बनाएपछि धेरै एमाले कार्यकर्ता रुष्ट भएका छन् । सुवासलाई नेता मान्न एमालेका सिनियर नेताहरूलाई जति सहज थियो उनका छोरालाई नेता मान्न त्यत्तिकै सहज पक्कै हुँदैन । 

यसपटक नेम्वाङले जिते भने इलाममा सधैँ उनकै वर्चस्व हुने र जीवनभर उनको कार्यकर्ता भएर बस्नुपर्ने बाध्यता उनीहरूलाई आइपर्छ । त्यसैले एमालेकै सिननियर नेताहरूले सुहाङलाई खुलेर सहयोग गर्ने अवस्था देखिँदैन । एमाले अध्यक्ष केपी शर्मा ओलीको कडा निर्देशनका कारण उनीहरू खुलेर विरोधमा उत्रिन त सकेनन्, तर खुलेर नेम्वाङलाई जिताउन पनि लाग्ने सम्भावना कम छ ।    
 
त्यसको प्रत्यक्ष फाइदा कांग्रेस उम्मेदवार खड्कालाई हुनेछ । उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै काग्रेस उम्मेदवार खड्काले गठबन्धन ठूलो कुरा नभएको बताउँदै आफूलाई जनताले निर्वाचित गर्नेमा विश्वस्त रहेको बताएका छन् । 

उनले आफूले नेपाली कांग्रेसमा २०३९ सालदेखि काम गरिरहेकाले पनि भोट दिएर जिताउन आग्रह गरेका छन् । आफूले इलाममा गरेको सामाजिक कार्यहरु हेरेर भोट जनताले मत दिएर विजयी बनाउने उनको दाबी छ । 

नेम्वाङ र खड्कापछि सो क्षेत्रमा चर्चामा रहेका अन्य दुई उम्मेदवारमा राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बू र स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू छन् । मिलन यसअघि नेकपा माओवादीनिकट प्रेस सेन्टरका सदस्य हुन् । रास्वपाबाट उम्मेदवार बन्नुअघि उनले स्वतन्त्र उम्मेदवारीको घोषणा गरेका थिए । कुनै पार्टीबाट प्रस्ताव आए पनि पार्टीको उम्मेदवार बन्दिनँ भनेर उनले बोलेको भिडियो अहिले सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती छ । 

रास्वपामा लामो योगदान पनि नभएको माओवादीनिकट पत्रकारका रुपमा परिचित भएका कारण उनलाई सोचेजस्तो सफलता पाउन सजिलो पक्कै छैन । आफू लिम्बू भएकाले जातीय मत आफ्नो पक्षमा पर्ने उनको बुझाइ छ । तर, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह पनि लिम्बू नै भएकाले जातीय मत पनि बाँडिने देखिन्छ । अझ धरानका मेयर हर्क साम्पाङ त डकेन्द्रको पक्षमा खुलेरै लागेका छन् । 

पहिचानवादीहरूको मत पनि मंगोल नेशनल अर्गनाइजेसनका मनेबहादुर लिम्बू र जनमत पार्टीबाट उम्मेदवार​ प्रेमकुमार थाम्सुहाङले काट्दा स्वतन्त्र पार्टी र स्वतन्त्र उम्मेदवार लिम्बूहरूलाई जित निकाल्न सहज देखिँदैन । त्यसकारण उक्त क्षेत्रमा यसअघि झैँ कांग्रेस र एमालेका उम्मेदवारबीच नै मुख्य प्रतिस्पर्धा देखिन्छ ।  

  • प्रकाशित मिति : चैत २४, २०८० शनिबार २२:३२:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया