logo-img

काे हुन् लुम्बिनीका मुख्यमन्त्री महरा ?

लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्रीमा जोखबहादुर महरा नियुक्त भएका छन् । उनी प्रदेश सरकारको पाँचाैँ मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । 

०३७ सालदेखि ०३९ सम्म प्रावि शिक्षक उनी २०३५ र २०३६ सालको विद्यार्थी आन्दोलनमा संलग्न भई राजनीतिमा प्रवेश गरेका थिए । उनले ०४४ देखि २०५० सालसम्म मावि शिक्षकका रुपमा पनि काम गरे । 

मुख्यमन्त्रीमा नियुक्त भएपछि आज शपथग्रहण गरेका महरा ०७९ मंसिरमा सम्पन्न प्रदेशसभा निर्वाचनमा रोल्पा क्षेत्र नं १ (१) बाट लुम्बिनी प्रदेश सभामा निर्वाचित भएका थिए । 



लुम्बिनी प्रदेशको पहाडी जिल्ला रोल्पाको साविक गजुल गाविस वडा नं २, हाल सुनिलस्मृति-गाउँपालिका-५ गजुल काट्नेमा बुवा खलबहादुर महरा र आमा रमिता महराको कोखबाट ०२० कात्तिक १ गते जन्मिएका महराले स्थानीय श्री जनज्योति मावि गजुलबाट एसएलसी उत्तीर्ण गरेका हुन् । 

यस्तै उनले महेन्द्र बहुमुखी क्याम्पस दाङबाट प्रमाणपत्र तह तथा राजनीतिशात्र र अर्थशास्त्रमा स्नातकसम्मको अध्ययन गरेका छन् । नवनियुक्त मुख्यमन्त्री महराका श्रीमती तपी महरा र चार छोरा छन् । 

उनले ०४२ मा विद्यार्थी संगठनको दाङको सचिव हुँदै ०५१ मा नेकपा (माओवादी)को रोल्पा जिल्ला सचिवका रुपमा पार्टीको जिम्मेवारी पाएका थिए । यसपछि पनि पार्टीको विभिन्न जिल्लामा नेतृत्वमा रहेर जिम्मेवारी निर्वाह गरेका महरा ०६४ मा नेकपा (माओवादी)को तर्फबाट संविधानसभा सदस्य भएका थिए । 



०६२ देखि ०६५ र ०७२ देखि ०७८ सम्म दुईपटक पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख स्वकीय सचिवको जिम्मेवारीमा काम गरेका महराले ०७४ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख स्वकीय सचिवको जिम्मेवारीमा रहेरसमेत काम गरेका थिए । 

नेकपा (माओवादी केन्द्र) स्थायी समिति सदस्य रहेका महरा गत वर्ष एमाले संसदीय दलका नेता लीला गिरी नेतृत्वको प्रदेश सरकारमा लुम्बिनी प्रदेश सरकारको आर्थिक मामिला मन्त्रीको जिम्मेवारीमा रहेका थिए । 



  • प्रकाशित मिति : चैत २५, २०८० आइतबार १६:४५:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया