कक्षा १२ पासपछि दुईवर्षे जनरल नर्सिङ कार्यक्रम पढाउने तयारी

कक्षा १२ पास गरेका विद्यार्थीहरूका लागि आगामी वर्षदेखि पढ्न पाउने गरी नयाँ नर्सिङ कोर्स सुरु हुने भएको छ । यस ‘जनरल नर्सिङ कार्यक्रम’को अध्ययन अवधि दुई वर्षको हुनेछ ।

नर्सिङ विधाबारे अध्ययन गरेर सुझाव दिन प्रा.डा. कुन्तादेवी पुनको नेतृत्वमा बनेको कार्यदलले दिएको सुझावअनुसार ‘जनरल नर्सिङ कार्यक्रम’ सुरु गर्न लागिएको चिकित्सा शिक्षा आयोगले जनाएको छ । 

यही चैत ९ गते बसेको आयोगको १३औँ बैठकले कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो । त्यसअनुसार विद्यालय शिक्षा (कक्षा १२) पछि स्वास्थ्य कार्यक्रम सुरु गर्न लागिएको आयोगका उपाध्यक्ष प्रा.डा. अञ्जनीकुमार झाले बताए । ‘आगामी शैक्षिक सत्रबाट कक्षा १२ पछि नर्सिङ कार्यक्रम सुरु गरिनेछ,’ उनले फरकधारसँग भने, ‘यसका लागि पाठ्यक्रम तयार भइरहेको छ ।’

‘चिकित्सा शिक्षा नर्सिङ विधाको अध्ययन र अध्यापनमा प्रयोगात्मक कार्य÷अभ्यास, आवश्यक भौतिक पूर्वाधार, जनशक्ति व्यवस्थापन, आवश्यक शैक्षिक न्यूनतम योग्यता निर्धारण, प्रमाणपत्र तह र स्नातक वा सोभन्दामाथिका एकभन्दा बढी शैक्षिक कार्यक्रम एउटै शैक्षिक संस्थामा सञ्चालन गर्ने सम्बन्धमा सुझाव सिफारिसका लागि’ गठित कार्यदलले १० कक्षापछिको पिसिएल नर्सिङ कार्यक्रम क्रमशः फेज आउट गर्दै १२ कक्षा पूरा गरेपछि नयाँ नर्सिङ कार्यक्रम सुरु गर्न सुझाव दिएको हो ।

हाल माध्यमिक शिक्षा परीक्षा (एसइई) पास गरेपछि प्रवीणता प्रमाणपत्र (पिसिएल) नर्सिङ कार्यक्रम पढ्न पाइन्छ । सिटिइभिटीअन्तर्गतको यो शैक्षिक कार्यक्रम तीनवर्षे हो । पिसिएल गरेपछि ब्याचलर अफ नर्सिङ साइन्स (बिएनएस) अध्ययन गर्न पाइन्छ । यो पनि तीनवर्षे शैक्षिक कार्यक्रम हो । विज्ञान संकाय लिएर कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीका लागि चारवर्षे बिएस्सी नर्सिङ कार्यक्रम सञ्चालन भइरहेको छ ।

संविधान २०७२ कार्यान्वयनको क्रममा २०७५ सालमा संसदले अनिवार्य तथा निःशुल्क शिक्षा ऐन बनायो । जसले ९ देखि १२ कक्षालाई माध्यमिक शिक्षा तोक्यो । त्यसलाई आधार बनाएर नर्सिङ कार्यदलले नर्सिङ कार्यक्रम पनि माध्यमिक शिक्षा पूरा गरेपछि मात्र सञ्चालन गर्नु उपयुक्त हुने निष्कर्ष निकालेको छ । 



कार्यदलको सिफारिस कार्यान्वयन गर्ने निर्णय गर्दै चिकित्सा शिक्षा आयोगले जनरल नर्सिङ कार्यक्रमको पाठ्यक्रम बनाउने जिम्मेवारी कार्यदललाई नै दिएको छ ।

पिसिएल फेजआउट



हाल सिटिइभिटीबाट सम्बन्धन प्राप्त ५२ वटा शिक्षण संस्थाले पिसिएल नर्सिङ कार्यक्रम सञ्चालन गर्दै आएका छन् । हरेक वर्ष दुई हजारभन्दा बढीले नर्सिङ पढ्ने गरेका छन् ।

कार्यदलले माध्यमिक शिक्षा (१२ कक्षा पूरा गरेपछि) नयाँ नर्सिङ कार्यक्रम ‘जनरल नर्सिङ कार्यक्रम’ सुरु गर्न उपयुक्त हुने सुझाब दिएको छ । सरकारले १२ कक्षासम्मलाई विद्यालय शिक्षाका रूपमा उल्लेख गर्दै सोहीअनुसार कार्यक्रम अगाडि बढाएसँगै आयोगले पनि १२ कक्षापछि नै नर्सिङ कार्यक्रम सुरु गर्नु राम्रो हुने कार्यदलको सुझाब छ । 

यसका साथै जनरल नर्सिङ कार्यक्रम पूर्ण रूपमा कार्यान्वयनमा आएको पाँच वर्षभित्र एसइई उत्तीर्ण भएपश्चात पढाइ हुने ‘पिसिएल नर्सिङ कार्यक्रम’ फेजआउट गर्दै लैजानुपर्ने समेत कार्यदलको सुझाव छ ।

कार्यदलले बुझाएको प्रतिवेदनमा हाल विद्यमान रहेको नर्सिङ शिक्षाको सिट संख्यालाई अस्पतालको शय्या क्षमता र बिरामीको चापका आधारमा सिट संख्या बढाउन सुझाव दिइएको छ । हाल प्रमाणपत्र तह र स्नातक तह नर्सिङ कार्यक्रमका लागि अधिकतम ४० सिट, मिडवाइफरी कार्यक्रमका लागि ३० सिट र एमएन नर्सिङ कार्यक्रमको विभिन्न विषयक्षेत्र वा विधामा अधिकतम आठ सिट विनियोजन हुँदै आएको छ ।

कार्यदलले एक सय शय्या क्षमताका अस्पतालमा प्रमाणपत्र तह वा बिएस्सी नर्सिङ र बिएनएस नर्सिङ कार्यक्रमका लागि प्रतिकार्यक्रम अधिकतम ४० सिट, एक सय शय्याको अस्पताल सञ्चालन रहेको अवस्थामा प्रमाणपत्र तह र बिएस्सी नर्सिङ कार्यक्रमका लागि प्रतिकार्यक्रम अधिकतम २० सिट उपलब्ध गराउन सुझाव दिएको छ ।

  • प्रकाशित मिति : चैत २५, २०८० आइतबार १९:१२:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया