logo-img

नवनियुक्त मुख्यमन्त्री अधिकारीद्वारा पदभार ग्रहण, ओपिडी सेवा १२ घण्टा पुर्‍याइने

गण्डकी प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले जिल्ला अस्पतालले प्रदान गर्ने बहिरंग (ओपिडी) सेवालाई थप गरी १२ घण्टा पुर्याउने निर्णय गरेका छन् । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज पदभार ग्रहण गर्दै उनले सो निर्णय गरेका हुन् । अस्पतालहरुले बिहान १० देखि साँझ ५ बजेसम्म ‘ओपिडी’ सेवा सञ्चालन गर्दै आएकामा अबदेखि बिहान ७ देखि साँझ ७ बजेसम्म उक्त सेवा सञ्चालन गर्नेछन्  । 

त्यसअघि मुख्यमन्त्री अधिकारीले सहिद उद्यान र पुष्पलाल स्मृति उद्यामा पुगी सहिदको प्रतिमामा माल्यार्पण गरेका थिए । अधिकारी कास्की–१ (क) बाट प्रदेशसभामा निर्वाचित भएका हुन् । 



नेकपा (एमाले)सहित नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र एक स्वतन्त्र प्रदेशसभा सदस्यको समर्थनमा अधिकारी मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा, १६८ को उपधारा २ बमोजिम अधिकारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । यसअघि नेपाली कांग्रेसबाट निर्वाचित सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिएपछि एमालेको नेतृत्वमा प्रदेश सरकार बनेको हो । 

कांग्रेसले भने मुख्यमन्त्री नियुक्ति प्रक्रियाप्रति असहमति जनाएको छ । मुख्यमन्त्री अधिकारीले एमालेका २२, माओवादी केन्द्रका आठ (सभामुखसहित) र एक स्वतन्त्र प्रदेशसभा सदस्यको समर्थन जुटाएर मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गरेका थिए ।   





  • प्रकाशित मिति : चैत २५, २०८० आइतबार २३:०:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया