logo-img

पुस्तक अंश : जनआन्दोलन २०४६ र मरिचमान सिंह

नाकाबन्दी भइरहे पनि जनजीवन लिकमा आउन खोज्दै थियो । त्यही समयमा २०४६ फागुन ७ गतेदेखि जनआन्दोलन भयो । पञ्चायतकै केही शक्ति विस्तारै पञ्चायत छाड्ने संकेत देखाइरहेका थिए ।  

राजेश्वर देवकोटाको घरमा जम्मा भएर एक विज्ञप्ति बनाएका थिए । त्यसमा भनिएको थियो– हामी प्रजातन्त्रको विकासका लागि प्रतिबद्ध छौँ हिंसा र मुठभेडबाट केही उपलब्धि हासिल हुन नसक्ने हुनाले आवाश्यक सुधारका लागि पञ्चायती शासकलाई आग्रह गर्दछौँ । 

त्यसमा पञ्चायतभित्रैका लोकेन्द्रबहादुर चन्द, बालाराम घर्तीमगर, डा. यादवप्रसाद पन्त, केशरबहादुर विष्ट, पदमसुन्दर लावती, पशुपतिशमशेर जबरा, वीरेन्द्रकेशरी पोखरेल, मकुन्दबहादुर बस्नेत, लेखनाथ अधिकारी, चक्रबहादुर शाही, श्रीप्रसाद बुढाथोकी, विश्वेश्वर मरवेता, हेमबहादुर मल्ल, धुव्रविक्रम शाह, गगनजंगबहादुर सिंह, गम्भीरजंग कार्की, चन्द्रदेव चौधरी, डम्बरबहादुर बम, पीताम्बर थापा, बुद्धिमान तामाङ, भगवानदास गुप्ता, योगेन्द्रसिंह थापा, रामचन्द्र राय, रामबहादुर बिसी, विजय कुँवर, विश्वनाथप्रसाद जयसवाल, वीरेन्द्रकुमार पोखरेल, दीर्घराज प्रसाईं, कुलचन्द्र शर्मा, चन्द्रबहादुर बुढा मगरलगायत ४० जनाले जनआन्दोलनको पूर्वसन्ध्यामा सरकारलाई सचेत पत्रजस्तै निकालेका थिए । 

आफ्नै मान्छेहरू किन यस्तो लेखिरहेका छन भनेर दरबारले बुझ्न सकेन । सरकारले पनि नबुझेझैँ गर्‍यो । एकपछि अर्काे पञ्चायतमा पहिरो आइरहँदा राजा वीरेन्द्र पोखरा गए । २०४६ माघ ५ देखि ७ गतेसम्म भएको नेपाली कांग्रेसको राष्ट्रिय सम्मेलनमा भारतीय जनता दलका नेता चन्द्रशेखर आए । उनले चाक्सीबारीको भव्य समारोहमा आन्दोलनको आगो सल्काइदिए ।

पञ्च भेलामा सबै नेपाली पञ्च, सबै पञ्च नेपाली भन्ने पनि स्थिति अन्यत्र मोडिइसकेको थियो । पञ्चायतलाई टिकाउन जिन्दगीभर पञ्च बनेर रहेका मरिचमानले कर्तव्य ठाने । अरूले छाड्दै जाने संकेत देखाए पनि उनले आन्दोलन प्रतिकार समिति बनाएका थिए । नवराज सुवेदीको निर्देशनमा र परशुनारायण चौधरीको संयोजकत्वमा गठित प्रतिकार समितिमा निरञ्जन थापा, कमल थापा, डा. मोहमद मोहसिन, सुरेन्द्रबहादुुर बस्नेत, हरिशचन्द्र महत, लोकबहादुर श्रेष्ठ, भरतबहादुर प्रधान थिए । केन्द्रीय सुरक्षा समिति बन्यो । तत्कालीन प्रधानसेनापति, मुख्यसचिव, गृहसचिव, बलाधिकृत, बागमती अञ्चलका अञ्चलाधीश, प्रहरी महानिरीक्षक, जनसम्पर्क कार्यालयका मुख्य अधिकृतहरूको । त्यस्तै, अस्थायी प्रकृतिको अर्काे सुरक्षा समिति बन्यो, गृहमन्त्री निरञ्जन थापाको अध्यक्षतामा ।

परशुनारायण चौधरीको संयोजकत्वमा केन्द्रीय समन्वय समिति गठन भयो । जनआन्दोलन निस्तेज पार्न पञ्चायत नीति तथा जाँचबुझ समितिसँग समन्वय गर्न अर्काे राजनीतिक समिति बन्यो । ती विभिन्न समितिले जिल्ला–जिल्लामा भएको आन्दोलन दबाउन नीति बनाउने, निर्देशन दिने, समीक्षा गर्ने कार्यहरू गरिरहेका थिए । तर, जुनरूपमा राष्ट्रिय पञ्चायत सदस्यको सहभागिता हुनुपर्ने हो, त्यति भएन । आन्दोलनको विपक्षमा जनमत बनाउनुपर्ने । त्यसको औचित्यबारे प्रस्ट्याउनुपर्ने काममा धेरै राष्ट्रिय पञ्चायत सदस्य उदासीन बनेर बसिदिए । 



प्रत्येक जिल्लामा प्रतिकार समिति बनाइएको थियो । त्यो प्रतिकार समितिमा जति ऊर्जा देखिनुपर्ने हो देखिएन । ठाउँ–ठाउँमा प्रतिकार समितिले अलिक बढी ज्यादती पनि गर्‍यो । जसका कारण जनता यिनको धम्की र दम्भ हेरौँ न भन्ने  हिसाबमा मान्छेहरू बसिदिए । पोखराको प्रतिकार समिति यसको उदाहरणको रूपमा देख्न सकिन्छ । पहिले राधेश्याम कमारो संयोजक थिए । पछि अम्बरबहादुर कार्की भए । कारण पोखरामा भूपू राज्यमन्त्री राधेश्याम कमारोको नेतृत्वमा पञ्चहरू भेला भई २०४६ माघ २९ गते भेला आयोजना गरी कोही कतै जनआन्दोलनमा लाग्नेलाई निर्मम यातना र कारबाही गरिने धम्की दिए । विद्यार्थीहरू धम्कीदेखि डराएनन् । उनीहरूले त्यसको भोलिपल्ट नै फागुनको १ देखि ४ सम्म क्याम्पस हाताभित्रको जय नेपाल चौरमा जुलुस सभा गर्न थाले । मुठभेड भइहाल्यो र त्यहाँ दर्जनौं घाइते भए । यो घटनाले जनजीवन थप उत्तेजित बनेको थियो । पृथ्वीनारायण क्याम्पस हातामा भएको जुलुस सभामा प्रहरीले हस्तक्षेप गर्दा दुवै पक्षमा भिडन्त भएको र क्याम्पस हाता र महिला छात्रावासमा समेत प्रवेश गरिएको विषय त्यतिबेला व्यापकता छायो । त्यसले फागुन ७ गतेदेखि हुँदै गरेको आन्दोलनमा बल पुर्यायो । जनता थप उत्तेजित भए । र, फागुन ७ गते भएको आन्दोलनमा पाल्पा, तनहुँ, मकवानपुर, नारायणगढमा एक/एक र चितवनमा तीन जनाको मृत्यु भयो । 

सात गतेको त्यो आन्दोलनमा सात जनाकै मृत्यु भयो । जुन सरकारका लागि अपशकुनको संकेत थियो । आन्दोलनले व्यापकता लिँदै गयो । पञ्चायतलाई थेग्न सकिन्छ कि भनेर मरिचमान कस्सिएर लागे । पञ्च भेला, सभा सम्मेलन, गिरफ्तारी, लाठी चार्ज, अश्रुग्यास सबै शक्ति सरकारले प्रयोग गर्न थाल्यो । आन्दोलन जति बढ्दै आयो उति जनउभार बढ्न थाल्यो । कर्मचारी, पत्रकार, वकिल, शिक्षक, चिकित्सक, उद्योगी, व्यापारी एकपछि अर्काे समूह आन्दोलनमै लाग्न थाल्यो । सुरुमा कालोपट्टी, धर्ना हुँदै जुलुस सभा–समारोहतिर पेसागत संघ–संगठनहरू पनि लाग्न थाले ।



८ गते भक्तपुरमा चार र ९ गते धनुषामा ६ जनाको मृत्यु भयो । चैत्र १४ गते भद्रपुरमा गोली चल्यो । त्यहाँ एक जनाको मृत्यु भयो । १७ गते बागबजारमा एकजना र ललितपुरमा दुई जनाको गोली प्रहारबाट मृत्यु भयो । चैत १९ गते मन्त्रिपरिषद् नै जनआन्दोलनको विषयलाई लिएर विभाजित बन्यो । परराष्ट्रमन्त्री शैलेन्द्रकुमार उपाध्यायले राजीनामा नै दिए । झन् कट्टरपन्थीलाई मन्त्रिमण्डलमा समावेश गरियो । उदारवादीका कुरै सुनिएन ।

पञ्चायतका हार्डलाइनर थिए, मरिचमान । उनको कट्टरपन्थले उनलाई हानि पुर्याइरहेको थियो । जुन उनले बुझ्नै सकेनन् । सानो भेलामा पनि प्रहरी दमन हुँदा आन्दोलनलाई बल पुगिरहेको थियो । राजाले २१ र २२ गते बैठक डाके । त्यसमा उदारवादी पञ्चले जनआन्दोलनको कुरा सुनिनुपर्छ भन्दा राजाले त्यसलाई पनि लत्याए । आन्दोलनको आगो दनदनी दन्किरहेको थियो । 

२० चैतको घटनामा पनि सात जनाको मृत्यु भएको देखिन्छ । राजधानीको चुच्चेपाटी, बानेश्वर, नयाँ बजारमा एक–एकजना र कीर्तिपुरमा चार जनाको मारिए । यस्तो हुन थाल्यो, मृत्यु मृत्युका लागि हैन राष्ट्रको जीवनको लागि थियो । मान्छेहरू मर्न र मार्न नडराउने बन्न थाल्यो । स्थिति अनियन्त्रित हुँदै जान थाल्यो । चैत २३ गते मरिचमानले राजीनामा दिए । त्यही दिन झन् विशाल सागर उर्लियो । पाटन र कीर्तिपुर ‘सरकारमुक्त क्षेत्र’ बनिसकेको थियो । लोकेन्द्रबहादुर चन्दले बेलुकी ५ः३० मा शपथ लिँदा देश सहिदको रगतले लतपतिइसकेको थियो । मरिचमानको राजीनामा र लोकेन्द्रबहादुर चन्दको आगमनले उदारवादी पञ्च मात्रै खुसी भए । बहुदलवादीलाई त्यसले केही माने राखेन । 

चैत २४ गते मात्र ११ जनाको मृत्यु भयो । चैत्र २४ गते बुटवलमा दुईजना, काठमाडौंमा आठजना र धनुषामा एक जनाको मृत्यु भएको थियो । चैत्र २५ गते पनि ललितपुरको नटोल र काठमाडौंको कुलेश्वरमा गोली लागी दुई जनाको मृत्यु भएको थियो । चैत २ गते चितवनमा एकजना र काठमाडौंको भेडासिङमा दुई जनाको मृत्यु भएको थियो । 

दैनिक मान्छे मर्छन् । तर, दैनिक जनसहभागिता झन् बढी हुन थाल्यो । मरिचमानको राजीनामासँगै बनेको नयाँ चन्द सरकारले पनि स्थिति कब्जामा लिन सकेन । राजाले गरेको शाही घोषणामा जाँचबुझ आयोग बनाउने भने पनि आन्दोलन रोकिएन । झन् नारायणहिटी घेर्छु भनेर हजारौं मानिस तयार भए । चैत २६ गते राति राजदरबार संवाद सचिवालयले टेलिभिजन र रेडियोबाट बोलिदिए– दलमाथिको प्रतिबन्ध फुकुवा भयो । 

आन्दोलन त्यसै रात स्थगित भयो । चैत २७ गते देशमा बहुदल आएको घोषणा भयो । जनता विजय र्‍यालीमा उर्लन थाले । चैत २८ गते पनि बालाजुमा एक जनाको मृत्यु भयो । जनआन्दोलनको क्रममा देशभर मृत्यु हुनेको संख्या ४५ पुग्यो । २६ जिल्लामा २३ सय २१ जना घाइते भएको जनआन्दोलनपछि छानबिन गर्न बनेको मल्लिक आयोगको प्रतिवेदनमा बताइएको छ ।  जनआन्दोलनको क्रममा देशभर गरेर व्यक्तिगत र सरकारी गरी अर्बौँ क्षति भएको पनि आयोगको प्रतिवेदनमा उल्लेख छ । 

मल्लिक आयोगको प्रतिवेदन हेर्दा तत्कालीन समयको जनआन्दोलनमा तराईको कम संलग्नता छ । कर्णालीलाई यो आन्दोलनको कुनै प्रभाव नै नपरेको जस्तो प्रतिवेदनमा देखिन्छ । पञ्चायत टिकाउन मरिमेटेर लाग्नु मरिचमानको भुल थियो कि जस्तो देखिन्छ । उनले नचाहँदा पनि गोली चल्न थालेपछि मरिचमान त्यही बेला नबस्नुपर्ने थियो । तर, राजाको अगाडि उनी लाचार थिए । दरबारको तर्फबाट एक फौज र सरकारको तर्फबाट एक फौज गरेर ललितपुर र भक्तपुरमा गोली चलेको थाहा पाएपछि उनले राजीनामा त्यति खेरै दिनुपथ्र्याे । दिएनन् । सकिन्छ कि अझै भनेर लागिरहे । 

उनले एक भेटमा भनेका थिए– कु तत्त्वले जनमानसलाई उत्तेजनामा ल्याउने काम गर्यो । राजा पनि जनता मार्ने योजनामा थिएनन्, म पनि थिइनँ, तर गोली किन चल्यो, त्यो मलाई नै थाहा भएन । ‘एकजनाले छुरी हानेको घटनाले त मलाई रातभर तनाव दिन्थ्यो र भोलि बिहानै घटनास्थलमा आफैँ पुगेँ । मान्छे मर्नु मेरो लागि हृदयविदारक थियो,’ उनले भनेका थिए । 

दरबार हत्याकाण्डको घटनापछि उनलाई आफ्नो कार्यकालमा कतै उनै दरबारमा भएका ‘र’का खुफियाको मास उत्तेजित गराउँदै दरबार हत्याकाण्डसम्म आइपुग्ने चाल त थिएन जस्तो लागेको उनले बताएका थिए । 

प्रधानमन्त्रीको आदेशबिना सिडिओको आदेशबिना त्यतिबेला गोली हानियो र मान्छे मरे, भक्तपुरमा । मरिचमानले नै कसले गोली हान्यो भनेर सिडिओलाई सोध्दा ‘ब्याकअपमा आएको फौजले हानेको, उसलाई सोझै दरबारबाट आदेश आएको’ भने । दरबारका भूमिगत गिरोहले पनि मरिचमानलाई फाल्ने बेला यही हो भनेर सिधै गोली हान्नू भनेर पठायो । 

आन्दोलनका बेला चितवनमा सिडिओ रहेका विमल कोइराला आफ्नै भवन ज्ञानेश्वरमा भन्दै थिए– चितवनमा पनि गोली हान्न भनेर गएका फोर्सलाई मैले ब्याक अप गराएँ ।’ 

आन्दोलनमा एकातिर गृहबाट आदेश हुन्थ्यो, अर्काेतिर दरबारबाट । दुईतिरबाट आएको आदेशलाई सिडिओले आफ्नो विवेकले काम गर्नुपथ्र्याे भन्थे, कोइराला । तत्कालीन गृहराज्यमन्त्री निरञ्जन थापा भन्थे– मरिचमानले मान्छेको ज्यान सबैभन्दा प्यारो चिज हो, त्यसमा तलमाथि नगर्नू भनेर आदेश दिने गरेको थिएँ ।’ उनले भने,‘मरिचमानले भनेअनुसार नै म गर्थे फेरि पनि गोली लागेर मान्छे मर्थे, मेरो टाउको यसैले कुटुकुटु खान्थ्यो ।’

सिडिओ, गृहमन्त्री र प्रधानमन्त्री समेतलाई मान्छेलाई गोली हान्नू भन्ने थाहा नहुने र प्रहरी केबाट चल्ने ? यो कुराले मलाई गम्भीर बनाएको थियो । चैत १७ गतेको आन्दोलनमा मास उत्तेजित गराएर ललितपुरमा तीनजना मरेपछि भारतले आफूलाई बार्गेनिङ गर्न एक पत्र पठाएको मरिचमानले खुल्ला सभामै बताएका थिए । २०५४ को निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ को भाषणमा उनले भनेका थिए– मलाई शंका थियो, भक्तपुरजस्तै ललितपुरमा पनि भारतीयहरूले ताण्डव मच्चाएका छन्, नभन्दै त्यो कुरा खुलिहाल्यो, ललितपुर काण्डपछि उनीहरूले एक पत्र नै पठाए, त्यो पत्रमा हस्ताक्षर गरेको भए आफूले निर्वाध सत्ता चलाउन पाउने थिएँ ।

‘राष्ट्रघाती दुईपल्ट मर्छ । एकपल्ट मृत्यु आएर, एकपल्ट धिक्कारेर । राष्ट्रघात गरेर निर्वाध सत्तामा बस्न मलाई मन लागेन’ उनले यही भनेका थिए । मरिचमानले पत्रमा यस्तो लेखिएको थियो रे– नेपालको आन्तरिक मामलाको परराष्ट्र र सुरक्षाको जिम्मा भारतलाई दिनुस् हैन भने आन्दोलन चर्किएर जान्छ । चैतको १७ गते आएको त्यो पत्र मरिचमानले राजालाई दिँदै भने– सरकार भारतसँग हैन, आफ्नै जनतासँग झुकिबक्सियोस्, अब अस्थिरतातर्फ जान सक्छ, म बरु राजीनामा दिन्छु ।’ 

राजाले भने– अहिले तिमीले राजीनामा दिन पर्दैन ।’ त्यसको सात दिनपछि मरिचमानले राजीनामा दिनैपर्ने दिन आयो । २३ गते राति राजा आफैंले भने– मरिचमान तिमी राजीनामा देऊ ।’ राजालाई पनि गलाउने कोही शक्ति दरबारभित्रै थियो भनेर उनले पटक–पटक इंगित गरेका छन् । पञ्चायतका अन्तिम प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द भए पनि मरिचमानलाई नै पञ्चायतको अन्तिम प्रधानमन्त्री मानिन्छ । किनकि उनले नै पञ्चायतको लिगेसी थामेका थिए । राजा, राष्ट्रियता र पञ्चायत उनका तीन कुरा जहिल्यै पनि आदर्श रहे । त्यसमा नाकनिक गरेर उनले ढोङ पालेनन् । फागुन ८ गते भक्तपुरमा मान्छे मरेपछि उनको ब्रह्मले राजीनामा दिने सोचाइ बनाइसकेको थियो । 

छोरा अनिललाई भनेको अनिलले भन्नुभएथ्यो– अनिल अब यो सरकारमा बस्नु ठीक छैन, अर्कैको आदेशमा मान्छे मारिन थाले । कहिल्यै पोलिटिकल कुरा सल्लाह नगर्ने बाबुले कोट फुकालेर खुइय्य गर्दै त्यसो भनेको देखेर अनिललाई पनि लागेको थियो– अब बुवाले राजीनामा दिनुहुन्छ । फेरि ललितपुरमा चैत १७ गते मान्छे आफूले आदेश नदिईकन मरेपछि मरिचमान लत्रँदै निवासमा आएको अनिलले बताए । भन्थे– सिक्री लगाएर काम गर्न गएको जस्तो ठान्नुहुन्थ्यो, जानै नपरोस् जसरी हिँड्नुहुन्थ्यो ।’ 

जोश हराउँदै गएको कामबाट अन्ततः मरिचमानले चैत २४ गते राजीनामा दिए । त्यही दिन ११ जना सहिद भए ।  राजा वीरेन्द्रले पनि आफ्नो जनता यत्रो मरेको स्थिति हेर्न नसकेर मरिचमानले भनेको सम्झे– भारतसँग झुक्नुभन्दा त जनतासँग झुकिबक्सियोस् सरकार । जनतासँग झुकेर राजा वीरेन्द्रले चैत्र २६ गते राति बहुदल घोषणा गरिदिए । 

(घोष्ट राइटिङ नेपालबाट प्रकाशनको तयारीमा रहेको कमल ढकालद्वारा लिखित मरिचमान सिंह श्रेष्ठको जीवनीमा आधारित पुस्तक ‘सल्यानदेखि सिंहदरबारसम्म’ को संघर्षको पुस्तक अंश । )

  • प्रकाशित मिति : चैत २६, २०८० साेमबार १०:१:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया