logo-img

गृहमन्त्री लामिछानेविरुद्ध कांग्रेस अडिग, सांसदलाई के दियो निर्देशन ?
कांग्रेस प्रमुख सचेतक रमेश लेखक, फाइल तस्बिर

नेपाली कांग्रेस संसदीय दलको बैठकले सहकारीको रकम अपचलनमा संलग्न भनिएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन हुनैपर्ने सर्वसम्मत निर्णय गरेको छ ।

मंगलबार ल्होत्से हलमा बसेको बैठकपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले लामिछानेमाथि संसदीय छानबिन समिति गठन तत्काल हुनुपर्ने मागलाई संसदीय दलले स्वीकृत गरेको बताए । 

‘सहकारीको रकम दुरुपयोग, हिनामिना र ठगी गर्ने कार्यमा सरकारमा बहाल रहेका मन्त्री समेत संलग्न रहेको तथ्य र घटनाहरू सार्वजनिक भई सकेका छन् । नेपाली कांग्रेसले लामो समयदेखि गृहमन्त्री रवि लामिछाने सहकारी रकम अपचलनमा संलग्न रहेको विषय उठाउँदै आएको छ,’ लेखकले भने, ‘कांग्रेस संसदीय दलको यो बैठक वर्तमान सरकार सहकारीबाट पीडित भएका लाखौं नागरिक प्रति गम्भीर र संवेदनशील हुन नसकी गैरजिम्मेवार भएको ठहर गर्दछ ।’



गृहमन्त्रीमाथि संसदीय समिति गठनगरी छानबिन गर्नुपर्ने माग पूरा नभए संसद अवरोध कायमै राख्ने अड्डी राखेको कांग्रेसले त्यसले संसदको कामकारबाही प्रभावित हुने र जिम्मेवारी नलिने चेतावनी सरकारलाई दिएको छ । 

कांग्रेस निर्णयमा थप भनिएको छ, ‘बैठक नेपाली कांग्रेसले मन्त्री नै संलग्न सहकारी रकम अपचलन अपराधको स्वतन्त्र, निष्पक्ष र विश्वसनीय छानबिनको सुनश्चितताको लागि संसदीय समिति गठन गर्न उठाएको मागलाई उचित ठहर गर्दछ । साथै यो बैठक तत्काल संसदीय छानबिन समिति गठन गर्न सरकारसँग माग गर्दछ । यस विषयमा सरकार गम्भीर नभएमा संसदको बैठक वा कुनै पनि कामकारवाही प्रभावित हुने विषयमा सरकार नै जिम्मेवार हुने ठहर गर्दछ ।’

यस्तै, आजकै बैठकले संघीय संसदका समितिहरूमा महत्वपूर्ण विधेयक विचाराधीन रहेकाले समितिमा रहेका आफ्ना सांसदलाई सम्बन्धित समितिको बैठकमा अनिवार्य उपस्थित हुन, विधेयकलगायत समितिमा छलफलमा रहेका विषयमा भाग लिन र जिम्मेवार एवं प्रभावकारी रूपले प्रस्तुत हुन निर्देशन दिएको छ । 



साथै, पछिल्लो समय समाजमा धार्मिक सद्भाव भड्किने गतिविधि भइरहेको प्रति सजगता अपनाउनुपर्नेमा जोड दिँदै कांग्रेसले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र एकता कायम गर्न सबैलाई अपिल पनि गरेको छ । 

मंगलबारकै कांंग्रेस संसदीय दल कार्यसमितिकोे बैठकले बुधबार राष्ट्रिय सभा उपाध्यक्ष पदको निर्वाचनमा कांग्रेसको तर्फबाट राष्ट्रिय सभा सदस्य विष्णुदेवी पुडासैनीलाई उम्मेदवार बनाउने निर्णय पनि गरेको छ । 



  • प्रकाशित मिति : चैत २७, २०८० मंगलबार १३:१:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया