पहिरोका कारण रित्तिँदै म्याग्दीको चौरखानी गाउँ

म्याग्दीको रघुगंगा गाउँपालिका–८ चौरखानी गाउँ रित्तिन थालेको छ । भिरालो पाखामा रहेको चौरखानी गाउँको फेदबाट शिरसम्मको जमिन पहिरोले छियाछिया बनाएपछि स्थानीयवासी थातथलो छाडेर अन्यत्र हिँडेका हुन् । चौरखानीका ५३ मध्ये हाल २५ घरपरिवारको मात्र बसोबास रहेको टोल सुधार समितिका संयोजक प्रेम छन्त्यालले बताए । 

‘वि.सं २०६३ मा चौरखानीका ५३ वटै घरमा बसोबास थियो’, उनले भने, ‘शिक्षा, स्वास्थ्य, रोजगारी र अवसरको खोजीमा गाउँ छाडेर जाने क्रमलाई पहिरोको समस्याले झन् बढायो ।’ वडाध्यक्ष गमान छन्त्यालका अनुसार पछिल्लो तीन वर्षयता पहिरोले १८ वटा घर भत्किएका छन् ।

आम्दानीको स्रोत हुनेले बजार र अन्य ठाउँमा जग्गा किनेर घर बनाई बसाइँ सरेका छन् । आधाले घर छाडेर बेनी, पोखरा, काठमाडौँलगायत ठाउँमा गएर बसेका हुन् । घर भए पनि बसोबास छैन । बर्खामा गोठमा गएर बस्ने गरेका छन् । 

गत वर्ष सात परिवारले चौरखानीको डाँडामा घर सारेका थिए । यस वर्ष थप छवटा घर पुनः निर्माण भइरहेको छ । गाउँपालिकाले पहिरोबाट घर भत्किएकालाई पुनः निर्माणका लागि ५ लाख रुपैयाँका दरले अनुदान उपलब्ध गराएको वडाध्यक्ष छन्त्यालले बताए । 

‘पहिरोले हजारौं रोपनी खेतीयोग्य जग्गा नष्ट भएको छ’, उनले भने, ‘रोकथामको प्रयास सफल नभएपछि गाउँ छाडेर अन्यत्र बसाइँ सरेर जाने क्रम बढेको हो ।’ यहाँ छन्त्याल र दलित समुदायको बसोबास छ । हाल दलित समुदायको एउटा मात्र घर छ ।

भूगर्भविद्को टोलीले चौरखानीमा बसोबासका लागि जोखिमयुक्त भएकाले बस्ती सार्न सिफारिस गरेको थियो । गाउँको बीचमा पहिरोले ठाडो चिरा बनाएको छ । खेतबारी र जङ्गल चिराचिरा परेको छ । पहिरोले उठीबास लगाएपछि बसाइँसराइ गरेको चौरखानीका रेश विकले बताए । उनको परिवार हाल गाउँपालिकाको केन्द्र मौवाफाँटमा बसोबास गर्छन् । 



दुई किलोमिटर तल रघुगङ्गा नदीको किनारबाट सुरु भएको पहिरो चौरखानीको शिरमा रहेको पहाडको फेदीमा पुगेको स्थानीय रामप्रसाद छन्त्यालले बताए ।

बर्सेनि ग्यावियन पर्खाल र भल व्यवस्थापन गरे पनि पहिरो रोकिएको छैन । पहिरो रोकथामको प्रयास सफल नभएकाले गाउँलाई नै अन्यत्र स्थानान्तरण गर्न जग्गाको खोजी गरिरहेको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए । रासस 



  • प्रकाशित मिति : चैत २८, २०८० बुधबार १०:३९:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया