राप्रपाले पनि भन्यो- सहकारी ठगीको छानबिन गर्न संसदीय समिति बनाउनै पर्छ

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सहकारी ठगी प्रकरणको छानबिन गर्न संसदीय छानबिन समिति बनाउनुपर्ने बताएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख सचेतक शाहीले सहकारीमा लाखौँ मानिसहरू पीडित भएको भन्दै संसदीय छानबिन समिति बनाउनुपर्ने बताएका हुन् । 

उनले यसअघि पनि संसदबाट संसदीय छानबिन समिति बनेको उल्लेख गर्दै अब पनि संसदीय छानबिन बनाउनुपर्ने बताए । उनले मंगलबार (हिजो) राप्रपाले गरेको शान्तिपूर्ण आन्दोलनमा गृह मन्त्रालयको निर्देशनमा आफूमाथि कुटपिट भएको बताए । उनले गृहमन्त्री रवि लामिछानेलाई विगतमा चितवन प्रहरीले पक्राउ गर्दा आफूले साथ दिएको स्मरण गराउँदै उनले आज आफूमाथि उनै गृहमन्त्रीले कुटपिट गराएको बताए । उनले गृहमन्त्री लामिछानेको यस प्रकारको कदमको भर्त्सना गरे ।

उनले भने, ‘रवि लामिछाने यो देशको गृहमन्त्री हुँदै गर्दा माइतीघर मण्डला निषेधित गराउनुभएको छ । आज भद्रकालीको मन्दिरसम्म निषेधित बनाउनुभएको छ । यो देशको संविधान ठुलो कि गृहमन्त्री ठूलो ? नेपालको संविधानले स्पष्ट भनेको छ, शान्तिपूर्ण रूपमा कुनै पनि मान्छेले, कुनै पनि समूहले, कुनै पनि दलले आफ्नो मत राख्न पाउँछन् । निषेधाज्ञा कहाँ गर्ने भन्ने थाहा छ कि छैन ? भोलि सभामुख र हामी सांसदहरूको घर पनि निषेधाज्ञा बन्देला ।’

प्रमुख सचेतक शाहीले ०४७ सालपछिका सार्वजनिक व्यक्तिहरूको सम्पत्ति छानबिन गरेर देखाउन गृहमन्त्रीलाई चुनौती दिए ।  





  • प्रकाशित मिति : चैत २८, २०८० बुधबार १३:५८:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया