नेकपा(एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले नेपाली कांग्रेस सरकारमा हुँदा सहकारी प्रकरणको छानबिन अगाडी नबढाएको विषयमा कांग्रेसमाथि नै छानबिन गर्नुपर्ने बताएका छन् ।
बुधवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलाले नेपाली कांग्रेस सरकारमा हुँदा सहकारी प्रकरणमा प्रश्न उठेका व्यक्तिको किन छानबिन भएन भनेर प्रश्न गरेका हुन् ।
उनले सरकारमा हुँदा किन अनुसन्धान गरिएन भन्दै कांग्रेसको नियतमाथि अनुसन्धान गर्न समिति बनाउनुपर्ने बताए । उनले कांग्रेसले सरकारबाट बाहिरिने बित्तिकै प्रतिशोध साँधेको बताए । सरकारमा हुँदा जनताहरू सहकारीबाट ठगिएको नदेख्ने कांग्रेसले सरकारबाट बाहिरिनसाथ देखेको बताए ।
उनले भने, ‘प्रमुख प्रतिपक्षले आफ्ना आन्दोलनका रूपहरूलाई बदल्नुपर्छ । सांसदको कानुन बनाउने मुख्य अभिभारा वा जिम्मेवारी अवरोध नगर्नका लागि प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसलाई आग्रह गर्न चाहन्छु । यो संसदबाट समिति बनाउने नै हो भने पहिलो कुरा सरकारमा हुँदा काँग्रेसले किन बदनियत राखेर दोषीका बारेमा, प्रश्न उठेका व्यक्तिका बारेमा अनुसन्धान गर्न चाहेन ? प्रक्रिया अगाडी बढाउन चाहेन ? त्यो नियतको बारेमा अध्ययन र अनुसन्धान गर्न समिति बनाउनुपर्छ । सरकारबाट बाहिर आउने बित्तिकै प्रतिशोध साँध्नका लागि, सरकारबाट हट्ने बित्तिकै सहकारीबाट धेरै जनताहरू ठगिएका रहेछन् भनेर देख्ने ? सरकारमा हुँदा पट्टी बाँधेर हिँड्ने ।’
उनले कांग्रेसले संसदको स्थापित विधि र मान्यतालाई धज्जी उडाएर संसद् अवरुद्ध गरेको बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।