logo-img

भारतमा दुर्घटनामा निधन भएका सातै जनाको शव नेपाल ल्याइँदै

सोमबार राति भारतको उत्तराखण्डस्थित नैनीताल जिल्लाको बेतालघाटमा सडक दुर्घटनामा परी मृत्यु भएका सात जना नेपालीको शव आज नेपाल ल्याइँदै छ । 

दुर्घटनाको खबरपछि बुवाको शव बुझ्न नैनीताल पुगेका बाँके बैजनाथ गाउँपालिका–८ का प्रमोद थारुले मृतक सबैको शव परीक्षण अस्पतालले गरिसकेको जानकारी दिए । दुर्घटनामा मृत्यु भएका विश्राम थारुका छोरा प्रमोदले मृतकका केही आफन्तहरू पनि शव लिन नैनीताल पुगेका बताए । 

‘अस्पतालमा परीक्षणको सबै काम सकेर शव गाडीमा हाल्दैँ छौँ’, नैनीतालबाट प्रमोदले भने, ‘शवका लागि बरफको व्यवस्था नहुँदा हल्द्वानीमा पुगेर हाल्ने सल्लाह भएको छ ।’ उनले पश्चिमी नाका गड्डाचौकी हुँदै शव आज साझँसम्म नेपाल पुगिसक्ने बताए । 



सवारी दुर्घटनामा परी मृत्यु हुनेमा बाँकेको बैजनाथ–८ का धिरज थारु, उदयराम थारु, विश्राम थारु, तिलकराम थारु, अन्तराम थारु र विनोद थारु र बर्दियाको बाँसगढी नगरपालिका–१ चेपाङका टोपबहादुर बस्नेत रहेका छन् ।

त्यसैगरी बैजनाथ गाउँपालिका–८ का वडाध्यक्ष भगन थारुले मृतकको शव ल्याउने विषयमा समस्या परे वडा कार्यालयले विपद् व्यवस्थापन कोषबाट रकम खर्च गर्ने व्यवस्था गरिने बताए । ‘मृतकका आफन्तहरू नैनीताल पुगेर हामीसँत नियमित सम्पर्क गरिरहनुभएको छ’, उनले भने, ‘नयाँ वर्ष मनाउन घर फर्किरहेका दुर्घटनामा परेपछि सिङ्गो वडा नै शोकमा छ ।’

वडाध्यक्ष थारुका अनुसार दुर्घटनामा परी सोही वडाका स्थानीय दशरथ थारु र शान्ति थारु घाइते भएका र उनीहरूको भारतमै उपचार भइरहेको छ ।



सो दुर्घटनामा परी सात नेपाली नागरिक र जीप चालक भारतीय नागरिकसहित आठ जनाको मृत्यु भएको थियो । घटनास्थल वरपर नै उनीहरू सडक छेउमा खानेपानीको पाइप विछ्याउने काम गर्दथे । सोमबार काम सकिएपछि जीप भाडामा लिएर टकनपुर आउने तयारीमा रहेका उनीहरू जीप चढेको केही बेरमै दुर्घटना भएको थियो । 



  • प्रकाशित मिति : चैत २८, २०८० बुधबार १७:२०:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया