logo-img

उपनिर्वाचन : इलाम पुगेर घरदैलोमा गगन, पहिचानको मुद्दा समाधान गर्ने मतदातालाई आश्वासन

नेपाली कांग्रेसका महामन्त्री गगन थापा इलाम २ का गाउँ घुम्दै छन् । महामन्त्री थापा झापा हुँदै चुनावी अभियानको माहौल बनाउन इलाम पुगेका हुन् । आउँदो वैशाख १५ गते हुने उपनिर्वाचनमा कांग्रेसका तर्फबाट चुनावी मैदानमा रहेका डम्बर खड्कालाई भोट माग्न थापा इलाम घुमिरहेका छन् ।

गगनले बिहीबार इलाम क्षेत्र नम्बर २ अन्तर्गत सिकारी भन्ज्याङमा आयोजित पार्टीको कोण सभालाई सम्बोधन गरे । त्यस क्रममा उनले अहिलेको परिस्थितिमा उचाल्नेभन्दा पनि सम्हालेर लानेको आवश्यकता भएको बताए । उत्तेजना र भड्कावको राजनीति गर्न नहुने उनको भनाइ छ ।

महामन्त्री थापाले विगतमा पनि कांग्रेसले कठिन परिस्थितिलाई सम्हालेको स्मरण गराउँदै कोशी प्रदेशमा जटिल बन्दै गएको पहिचानको मुद्दालाई पनि सम्हालेर अगाडि लैजानुपर्ने बताए । ‘यो बेलामा उचाल्ने होइन सम्हाल्ने पार्टी चाहिएको छ। पहिचानको मुद्दालाई सम्हालेर लैजान सक्नुपर्छ,’, महामन्त्री थापाले भने ।



०४८ मा कांग्रेसले दुई तिहाइ बहुमत पाएको प्रसंग स्मरण गराउँदै उनले त्यसबेला पनि कांग्रेसले उत्तेजनाको कुरा नगरेको बताए । उनले वर्तमान संविधान बन्दै गर्दा पनि नेकपा (एमाले) ले ‘माओवादीलाई ठेगान लगाऔँ’ भन्दा कांग्रेसले नै माहौल सम्हालेको दाबी गरे । अब पछिल्लो समय जटिल बन्दै गएको पहिचानको मुद्दालाई पनि कांग्रेसले सही तरिकाले अगाडि बढाउने उनको भनाइ छ ।

पार्टी सभापति शेरबहादुर देउवाले इलाम–२ को चुनावी कमाण्डर अर्का महामन्त्री विश्वप्रकाश शर्मालाई बनाए पनि केन्द्रीय नेताहरू इलामका गाउँ घुमिरहेका छन् । पूर्वी नेपालमा पहिचानको मुद्दा पेचिलो बन्दै गएपछि इलाम २ को उपनिर्वाचनमा शीर्ष दलहरू पहिचानवादीहरूसँग डराएको अवस्था छ ।

२०७९ को आम निर्वाचनमा उक्त क्षेत्रबाट निर्वाचित नेकपा (एमाले)का उपाध्यक्षसमेत रहेका सुवासचन्द्र नेम्वाङको निधन भएपछि उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।



कांग्रेसले इलाम–२ मा कांग्रेसका खड्का गत निर्वाचनमा स्वर्गीय सुवास नेम्वाङसँग झिनो मतले पराजित भएपछि देउवाले दोस्रो अवसर दिएका हुन् । नेम्वाङको र खड्काबीचको मतान्तर जम्मा १४४ मात्रै रहेको थियो । कांग्रेस यो उपनिर्वाचनको नतिजा जसरी पनि आफ्नो पोल्टामा पार्ने दाउमा छ । 



  • प्रकाशित मिति : चैत २९, २०८० बिहीबार १५:१६:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया