वैशाख ४ देखि राष्ट्रपति रनिङ शिल्ड, खर्च एक करोड ५० हजार

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा हुने १४ औँ राष्ट्रिय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आगामी वैशाख ४ गतेदेखि सञ्चालन हुने भएको छ । बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै वैशाख ४ देखि ६ गतेसम्म चल्ने प्रतियोगिताको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम तय भएको जानकारी दिइयो ।

संघीय प्रणाली अनुरूप विद्यालय तहमा अध्ययनरत १८ वर्षमुनिका विद्यार्थी खेलाडीहरूलाई खेल कौशल प्रदर्शन गर्ने अवसर प्रदान गर्न प्रतियोगितामा सात वटै प्रदेशबाट ६ सय ८६ खेलाडी सहभागी हुने पत्रकार सम्मेलनमा जानकारी गराइयो । 

स्थानीय तह, जिल्ला तथा प्रदेश छनोट प्रतियोगिताका उत्कृष्ट खेलाडीहरू यस प्रतियोगितामा सहभागी हुनेछन् । प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराँते, तेक्वान्दो र उसु खेलको प्रतिस्पर्धा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । 

त्यसैगरी, भलिबल राखेपको कभर्डहल, कबड्डी लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र, कराँते सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा अवस्थित कराते हल, तेक्वान्दो सातदोबाटोस्थित तेक्वान्दो हल र उसु त्रिपुरेश्वरस्थित राखेपको सेमी कभर्डहलमा हुने राखेपले जनाएको छ । 

एथलेटिक्सको छात्र छात्रामा समान १३–१३ गरी २६ स्वर्ण, कराँते, तेक्वान्दो र उसुको छात्र/छात्रामा समान ६–६ गरी ३६ स्वर्ण तथा भलिबल र कबड्डीको छात्र/छात्रमा समान १/१ गरी ४ स्वर्णका लागि गरी जम्मा ६६ स्वर्णका प्रतिस्पर्धा हुने बताइएको छ । 

प्रतियोगिताको कुल पुरस्कार राशि ११ लाख ५२ हजार रुपैयाँ रहेको छ । प्रत्येक खेलको हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीलाई नगद पुरस्कार प्रदान गरिने छ । समग्रमा टिम च्याम्पियनको उपाधि हात पार्ने टोलीलाई नगदसहित रनिङ सिल्ड प्रदान गरिने छ । 



लुम्बिनी प्रदेशले यसअघिका लगातार तीन संस्करणको उपाधि जितेको थियो । उपाधि जित्ने टोलीलाई दिइने रनिङ शिल्डका बारेमा पनि पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको छ । 

समग्रमा उपविजेता र तेस्रो हुने टिमलाई पनि नगद पुरस्कारसहित ट्रफी प्रदान गरिने बताउँदै आयोजकले जूनियर राष्ट्रिय कीर्तिमानका लागि नगद १५ हजार पुरस्कारको व्यवस्था गरिएको बताएको छ । 



प्रतियोगिता सञ्चालनका लागि सरकारबाट एक करोड ५० हजार रुपैयाँ विनियोजन गरिएको छ । 
 

  • प्रकाशित मिति : चैत २९, २०८० बिहीबार १६:४:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया