रञ्जिता श्रेष्ठ पक्षका कैलाश चौधरीलाई सुदूरपश्चिमको मुख्यमन्त्री बनाउने सत्ता गठबन्धनकाे निर्णय

सत्ता गठबन्धनमा सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नाउपालाई दिने सहमति भएकाे छ । नाउपाभित्रकाे विवादले साे पार्टी मात्र हाेइन, प्रदेशकै राजनीति तरंगित भइरहेका बेला केन्द्रमा सत्ता समीकरणमा रहेका दलबीच साे सहमति भएकाे हाे ।

अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीबीचको विवादले नाउपामा विभाजनउन्मुख अवस्थामा पुगेकाे छ । यही अवस्थामा सत्ता गठबन्धनले नागरिक उन्मुक्ति पार्टी (नाउपा)लाई सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व दिने र नाउपाका तर्फबाट सरकारको नेतृत्व अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका कैलाश चौधरीले गर्ने निर्णय गरेकाे हाे । 

सुदूरपश्चिममा हाल नाउपाका ६ सांसद रहेका छन् । केन्द्रमा भएको सहमति अनुसार मुख्यमन्त्री बाहेक नाउपाले एक मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । 

५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा हाल ५१ सांसद रहेका छन् । बहुमतको लागि २६ मत चाहिनेमा हालको सत्ता समिकरणसँग माओवादीका ११, एमालेका १०, नाउपाका ६, एकीकृत समाजवादीका ४ गरि ३१ सांसद रहेका छन् । त्यस्तै प्रदेशमा कांग्रेसका १८ राप्रपा १ र एक जना स्वतन्त्र सांसद रहेका छन् । 

नाउपाका ६ सांसद मध्ये अध्यक्षको पक्षमा २ सांसद मात्र रहेका छन् । अध्यक्ष रञ्जिताले आफ्नो निर्देशन नमानेको भन्दै इन्दिरा गिरीलाई फिर्ता बोलाएपछि प्रदेशसभाले उनी पदमुक्त भएको सूचना समेत सार्वजनिक गरिसकेको छ । 

अध्यक्ष रञ्जिताले सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरीलाई कारबाही गरेर कैलाश चौधरीलाई नेता बनाएकी थिइन् । यो विषय पनि विवादमा रहेको छ ।





  • प्रकाशित मिति : चैत २९, २०८० बिहीबार १६:८:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया