विदेशी लगानीकर्तालाई सहजीकरण गर्न सरकार तयार छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा लगानी गर्न इच्छुक विदेशी लगानीकर्तालाई सहजीकरण गर्न सरकार तयार रहेको बताएका छन् । भारतीय उद्योग परिसंघको प्रतिनिधिमण्डलसँगको भेटमा उनले विदेशी लगानीकर्तालाई सहज बनाउन सरकार नीतिगत सुधार गर्न इच्छुक रहेको बताए । 

प्रधानमन्त्री दाहालले विदेशी लगानीकर्तालाई सरकारले ‘लजिस्टिक’ सहयोग गर्ने उल्लेख गर्दै नेपालमा लगानीका लागि आग्रह गरे । प्रतिनिधिमण्डलले प्रधानमन्त्री दाहालका साथै अर्थमन्त्री वर्षमान पुन र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग समेत भेटवार्ता गरेको थियो । उक्त भेटमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललगायत पदाधिकारीसमेत सहभागी थिए । 

सो अवसरमा अर्थमन्त्री पुनले नेपालको अर्थतन्त्रमा पनि भारतीय अर्थतन्त्रको ठूलो भूमिका रहेको उल्लेख गर्दै नेपाल र भारतबीचको व्यापार तथा लगानी प्रवर्द्धनका लागि सक्दो प्रयास गर्ने विश्वास दिलाए । भेटमा उद्योगमन्त्री भण्डारीले नेपालमा विदेशी लगानीकर्ताले स्थापना गर्ने उद्योगलाई सहजीकरण गर्न आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ । 

नेपाल उद्योग वाणिज्य महासंघको ५८औँ वार्षिक साधारणसभामा सहभागी हुन भारतीय उद्योग परिसंघका अध्यक्ष सञ्जीव पुरीको नेतृत्वको प्रतिनिधिमण्डल काठमाडौं आएको थियो । महासंघको वार्षिक साधारणसभामा पुरी मुख्य वक्ता थिए । 





  • प्रकाशित मिति : चैत २९, २०८० बिहीबार २०:५८:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया