भाषा र संस्कृतिमार्फत विश्वका नेपालीलाई जोड्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वका विभिन्न मुलुकमा रहेका नेपालीभाषी र नेपाली मूलका नागरिकलाई आफूले आर्जन गरेको सीप, ज्ञान र पुँजी मातृ तथा पितृभूमि नेपालका लागि खर्च गर्न आग्रह गरेका छन् । 

एशोसिएसन अफ नेपाली ओरिजिन (एएनओ)का प्रतिनिधिमण्डलसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री दाहालले राष्ट्रियता फरक भए पनि मातृ तथा पितृभूमि एउटै भएका कारण सबैलाई जोड्ने अभियान सकारात्मक रहेको भन्दै यस अभियानमार्फत विश्वका नेपालीभाषीलाई जोड्न आग्रह गरेका हुन् । 

प्रधानमन्त्री दाहालले भाषा र संस्कृतिका माध्यमबाट विश्वभर छरिएर रहेका नेपालीलाई जोड्ने एएनओको अभियान सकारात्मक रहेको उल्लेख गर्दै सो अभियानका लागि नेपाल सरकारका तर्फबाट आवश्यक सहयोग रहने प्रतिबद्धता व्यक्त गरेको एएनओका महासचिव चुडामणि भट्टराईले जानकारी दिए । 

विश्वका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीभाषीको गत चैत ६ मा थाइल्याण्डको राजधानी बैंककमा भएको भेलाले नेपाली जातिलाई एकीकृत गरी नेपाली भाषा र संस्कृतिको संरक्षण गर्न एशोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) गठन गरेको थियो । प्रधानमन्त्री दाहालले कला र संस्कृतिमार्फत नेपालीभाषीलाई जोड्ने अभियान सञ्चालन गरेकामा धन्यवाद दिँदै नयाँ अभियानका लागि शुभेच्छा प्रकट गरे । 

एएनओका अध्यक्ष डिल्लीराम अधिकारीले हालसम्म सरकारबाट प्राप्त सहयोग र शुभेच्छाका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा साथ र समर्थन रहने अपेक्षा गरे ।  





  • प्रकाशित मिति : चैत ३०, २०८० शुक्रबार १४:१३:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया