रास्वपालक्षित शंकर पोखरेलको टिप्पणी : नयाँ-पुरानोको बहसले मुलुकमा समस्या थपियो
फाइल तस्बिर

सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकलाई नयाँ नभइ बलियो राजनीतिक शक्ति आवश्यकता रहेको बताएका छन् ।

महासचिव पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति लक्षित गर्दै नयाँ र पुरानो राजनीतिक पार्टीको बहसले मुलुकमा राजनीतिक अस्थिरतालाई नै मलजल गरिरहेको जिकिरसमेत गरे । पार्टीको ललितपुर जिल्ला कमिटीले शुक्रवार गरेको एक कार्यक्रममा उनले मुलुकमा नयाँ–नयाँ प्रयोग नभइ बलियो राजनीतिक शक्तिको निर्माण गर्नु राष्ट्रिय आवश्यकता भएको तर्कसमेत गरे ।

‘हामी हाम्रो मुलुक भित्र नयाँ र पुरानोको बहस गरेर के गरिरहेका छौँ ? मुलुकमा राजनीतिक अस्थिरतालाई मलजल गरिरहेका छौँ । जे समस्या हो, त्यो समस्यालाई विस्तार गरिरहेका छौँ । समस्या हल गर्ने दिशामा हाम्रो ध्यान केन्द्रित हुन सकिराखेको छैन । त्यस अर्थमा अव हामीले भन्न सक्नु पर्दछ–जनताका बीचमा अव नयाँ नयाँ प्रयोग होइन,’ उनले भने, ‘धेरै राजनीतिक दलहरूका बीचमा जनमतलाई विभाजित गर्ने होइन । अब राष्ट्रको आवश्यकता जनमतको धुव्रीकरण, राजनीतिक दलहरूको ध्रुवीकरण, बलिया राजनीतिक दलहरूको निर्माण । यो नै अहिलेको राष्ट्रिय आवश्यकता हो । त्यसले मात्रै विकास र समृद्धिको नेतृत्व गर्नसक्दछ ।’ 

महासचिव पोखरेलले मुलुकको विकास र समृद्धिको नेतृत्व गर्न पनि बलिया राजनीतिक शक्तिको विकल्प नभएको दोहोर्याए । उनले अमेरिका, चीन, भारत, बेलायत लगायतका देशको दृष्टान्त पेस गर्दै विकास र समृद्धिको प्रश्न अगाडि आउँदा बलिया राजनीतिक दलको मात्रै त्यसलाई नेतृत्व गर्न सकेको बताए ।  

मुलुकको विकास र समृद्धिको आधारशिला बलिया र ठूला राजनीतिक दलबाट मात्र सम्भव रहेको महासचिव पोखरेलको भनाइ छ ।

‘निरंकुशताको कालमा राजनीतिक दलहरूले आफ्ना नीतिको आधारमा राजनीति बिस्तार गर्न सक्दाखेरी धेरै पार्टीहरू अस्तित्वमा रहे । यो सच्चाइ हो । तर, जब विकास र समृद्धिको प्रश्न अगाडि आउँदछ । जव लोकतान्त्रिक समाज व्यवस्थाको निर्माण हुने गर्दछ । त्यसपछि धेरै राजनीतिक दलहरू होइन, बलिया राजनीतिक दलहरूको आवश्यकता पर्दछ भन्ने सच्चाइलाई हामीले जनताका बीचमा लिएर जान सक्नुपर्दछ । त्यसले मात्रै मुलुकको विकास र समृद्धिको आधारशिला तयार गर्नसक्दछ । भन्न सक्नुपर्दछ– ठूला पार्टीभित्रै सुधार सम्भव छ । नीतिको विकल्प पनि त्यही खोज्न सकिन्छ, नेतृत्वको विकल्प पनि त्यही खोज्न सकिन्छ । त्यस अर्थमा नेपाललाई अस्थिरताको प्रयोगशाला नबनाऔँ । स्थायित्वतर्फ लिएर जाऔँ भन्ने कुराको अपिल गर्न सक्नुपर्दछ,’ पोखरेलले भने । 



उनले मुलुकलाई सही ढंगले नेतृत्व दिन सक्ने पार्टी एमाले मात्रै भएको दाबी पनि गरे । 



  • प्रकाशित मिति : चैत ३०, २०८० शुक्रबार १९:०:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया