logo-img

निजी स्वास्थ्य संस्थामा उपचार गराउँदा २० प्रतिशत आफैंले तिर्नुपर्ने

स्वास्थ्य बीमा बोर्डको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत आजदेखि निजी तथा सामुदायिक अस्पतालमा उपचार गर्ने बिमितले २० प्रतिशत रकम आफैंले तिर्नुपर्ने भएको छ । 

बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले आजदेखि निजी तथा सामुदायिक अस्पतालमा उपचार गर्ने बिमितले उपचार खर्चको २० प्रतिशत रकम आफैंले तिर्नुपर्ने (सहभुक्तानी) लागू गरिएको बताए । 

‘अनावश्यक स्वास्थ्य परीक्षणलाई निरुत्साहित गर्न हामीले आजदेखि उपचार खर्चको २० प्रतिशत तिर्नुपर्ने नियम लागू गरेका छौँ’, उनले भने, ‘जसले गर्दा बिमितले अनावश्यक स्वास्थ्य परीक्षण नगराउने र बिरामी भएका बिमित मात्र स्वास्थ्य बीमाबाट लाभान्वित हुनेछन् ।’ 



स्वास्थ्य बीमा कार्यक्रम सहभुक्तानी लागू गर्ने कार्यविधि २०८० संशोधन गरी बोर्डमा आबद्ध बिमितले निजी तथा सामुदायिक अस्पतालमा उपचार गर्ने बिरामीले २० प्रतिशत रकम उपचार खर्चबापत तिर्नुपर्ने व्यवस्था लागू गरेको हो । 

बोर्डले यसअघि माघ १ गतेबाट सरकारी अस्पतालमा उपचार गरेबापत १० प्रतिशत रकम तिर्नुपर्ने नियम लागू गरेको थियो । उनले सरकारी अस्पतालको सक्षमता विकास गर्न र बिरामीलाई  सरकारी अस्पतालप्रति आकर्षित गराउन सहभुक्तानीको व्यवस्था लागू गरिएको बताए । 

कार्यकारी निर्देशक डा. बसौलाका अनुसार सहभुक्तानी १५ शय्यासम्मका आधारभूत अस्पतालमा लागू हुँदैन । सङ्घीय तथा प्रादेशिक अस्पताल, विशेषज्ञ सेवा उपलब्ध भएका आधारभूत अस्पताल, निजी, सहकारी, सामुदायिक अस्पताल, मेडिकल कलेजमा सहभुक्तानी प्रणााली लागू हुने कार्यविधिमा उल्लेख छ । 



बीमा कार्यक्रममा कूल बिमित संख्या ७७ लाख ४१ हजार चार सय ८३ जना र कूल विमितमध्ये सेवा लिनेको सङ्ख्या ३६ लाख ५२ हजार चार सय ३२ जना छन् । नवीकरण गर्ने बिमित ४८ लाख आठ हजार सात सय ६० रहेको छ । रासस 



  • प्रकाशित मिति : वैशाख २, २०८१ आइतबार १८:१०:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया