logo-img

कीर्तिमानको वर्षा भएको खेलमा हैदराबादको जित, बेंगलुरुको लगातार पाँचाैँ हार

इण्डियन प्रिमियर लिग (आइपिएल) कै इतिहासकै उच्च स्कोर बनेको खेलमा सनराइजर्स हैदराबादले जित निकालेको छ । हैदराबादले गएराति सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुविरुद्ध २५ रनको जित निकालेको हो ।

जारी सिजनमा उसको यो चौथो जित हो । लगातार पाँचौं तथा समग्रमा छैटौँ हार बेहोरेको बेंगलुरुको प्लेअफ यात्रा भने निकै कठिन बनेको छ । आफ्नो सातौं खेलमा हैदराबादले दिएको २ सय ८८ रनको कीर्तिमानी लक्ष्य पछ्याउनेक्रममा बेंगलुरुले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय ६२ रन बनायो । लक्ष्य पछ्याउने बेला कुनै पनि टिमले बनाएको यो उच्च स्कोर हो ।  



बेंगलुरुका लागि विकेटकिपर दिनेश कार्तिक र कप्तान फाफ डुप्लेसिसले आक्रामक ब्याटिङ गरे पनि टिमलाई जित दिलाउन सकेनन् । ३५ बलको सामना गरेका कार्तिकले सात छक्का र पाँच चौकाको सहयोगमा ८३ रनको विस्फोटक पारी खेले ।

यस्तै, डुप्लेसिसले २८ बलमा सात चौका र चार छक्कासहित ६२ रन बनाए । यस्तै, विराट कोहलीले ४२, अनुज रावतले अविजित २५ र महिपाल लोमरले १९ रन जोडे ।



हैदराबादका लागि कप्तान प्याट कमिन्सले ४ ओभरमा ४३ रन दिएर तीन विकेट लिए । यस्तै, मयंक मार्कन्डे र टी नटराजनले एक/एक विकेट हात पारे ।



त्यसअघि बेंगलुरस्थित एम चिन्नास्वामी स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ८७ रन बनायो ।

१७ बर्से आइपिएल इतिहासमा कुनै पनि टिमले बनाएको यो अहिलेसम्मकै उच्च स्कोर हो । हैदराबादले नै यही सिजनमा मुम्बई इण्डियन्सविरुद्ध २ सय ७७ रनको स्कोर बनाएको थियो । उसले केही दिनको अन्तरालमा नै आफ्नो रेकर्ड भंग गरेको छ ।  

बेंगलुरुविरुद्ध हैदराबादका लागि ट्रभिस हेडले शतकीय पारी खेले । ४१ बलको सामना गरेका उनले ९ चौका र ८ छक्कासहित १ सय २ रनको पारी खेलेका हुन् । यस्तै, हेनरिक क्लासेनले ३१ बलमा सात छक्का र दुई चौकासहित ६७ रन बनाए ।

त्यस्तै, अविजित रहेका अब्दुल समदले १० बलमा चार चौका र तीन छक्काको सहयोगमा ३७ रनको आक्रामक पारी खेले । एडन मार्कमले १७ बमा दुई चौका र दुई छक्काको मद्दतमा अविजित ३२ रन जोडे ।

अभिषेक शर्माले २२ बलमा दुई छक्का र दुई चौकासहित ३४ रनको योगदान दिए । बेंगलुरुका लागि लकी फर्गुसनले दुई र रीस टोप्लीले एक विकेट लिए । 

यो जितपछि हैदराबाद अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । उसले ६ खेलबाट ८ अंक जोडेको छ । पुछारमा रहेको बेंगलुरुले सात खेल खेल्दा एक खेलमा मात्र जित निकाल्न सकेको छ । 

  • प्रकाशित मिति : वैशाख ४, २०८१ मंगलबार ७:२:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया