logo-img

दैजी-जोगबुढा सडक निर्माणको काम कछुवा गतिमा
फाइल तस्बिर

वि.सं २०७४ मा ठेक्का सम्झौता भएर सुरु भएको दैजी–जोगबुढा सडकखण्डको काम कछुवा गतिमा अघि बढेको छ । कञ्चनपुरको बेदकोट नगरपालिकाको छेलाबाट १३ किलोमिटर सडक निर्माणमा विलम्ब भएको जिल्लास्थित भौतिक पूर्वाधार विकास कार्यालयले पनि स्वीकार गरेको छ ।

कञ्चनपुरबाट डडेल्धुरालगायत सुदूरपश्चिमका पहाडी जिल्ला जान दूरीका हिसाबले नजिक पर्ने उक्त खण्ड निर्माण विगत दुई वर्षयता कछुवा गतिमा छ । यहाँस्थित नार्गाजुन कन्स्ट्रक्सनले २१ करोड रुपैयाँमा निर्माणको जिम्मेवारी पाए पनि काम भने कछुवा गतिमा भइरहेको उक्त कार्यालयका प्रमुख योगेन्द्रबहादुर अधिकारीले जानकारी दिए । 

‘काम बन्द नै छैन, तर गति भने निकै सुस्त छ’, प्रमुख अधिकारीले भने, ‘१३ किलोमिटरमध्ये चार–पाँच किलोमिटर सडक निर्माण अझै उस्तै छ । केही वर्षअघि सडकसँगै पहिरोले नाली, तारजालीलगायत संरचना भत्काएपछि सडकको यो अवस्था भएको हो ।’ उनले सात–आठ किलोमिटर सडक कालोपत्र भए पनि पहिरोले धेरै ठाउँमा क्षति पुर्याएको बताए । 



दैजीबाट कञ्चनपुरको सिमाना पर्ने लिप्नासम्म २१ किलोमिटर सडकखण्डको निर्माणमा सरोकारवाला निकायले चासो नदेखाएको बेदकोट नगरपालिका–३ का स्थानीय बताउँछन् ।

बेदकोट नगरपालिका–३ का वडाध्यक्ष मोहनबहादुर गुर्धामीले सडक स्तरोन्नतिका लागि पटक–पटक पालिकास्तरबाट ताकेता हुँदै आएको बताए । ‘प्रदेश सरकारको पनि ध्यानाकर्षण गराएका थियौँ’, वडाध्यक्ष गुर्धामीले भने, ‘काम अघि बढाउँछौँ भनेर ठेकेदारका मान्छे भन्छन् मात्रै, गर्दैनन् ।’ 

कञ्चनपुरको महेन्द्रनगर, अत्तरिया हुँदै डडेल्धुरा पुग्न १ सय ६५ किलोमिटर दूरी पार गर्नुपर्छ भने महेन्द्रनगरबाट दैजी–जोगबुढा हुँदै त्यहाँ ६५ किलोमिटर पार गरेपछि पुगिन्छ । रासस  





  • प्रकाशित मिति : वैशाख ४, २०८१ मंगलबार ७:३४:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया