एथ्लेटिक्समा गणेश विकको राष्ट्रिय कीर्तिमान

गण्डकी प्रदेशका गणेश विकले १४ औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताअन्तर्गत एथलेटिक्सको छात्र हाइजम्पमा मंगलबार नयाँ जुनियर राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा गणेशले १.८१ मिटर जम्प गर्दै २०७५ सालमा भएको राष्ट्रपति रनिङ सिल्डमा लुम्बिनीका प्रभु थारूले बनाएको १.७७ मिटरको कीर्तिमान भंग गरे । 

बागमती प्रदेशका अविनाश सुनार (१.७५ मिटर) दोस्रो तथा लुम्बिनी प्रदेशका मिलन विश्वकर्मा (१.७० मिटर) तेस्रो भए । सो स्पर्धाको छात्रामा सुदूरपश्चिम प्रदेशकी सुस्मिता चौधरी (१.४१ मिटर) पहिलो, गण्डकीकी सिमा श्रेष्ठ (१.३८ मिटर) दोस्रो तथा लुम्बिनीकी पूजा नेपाली र कर्णाली प्रदेशकी हीरा बुढा (१.३० मिटर) तेस्रो भए ।

छात्र १ हजार ५ सय मिटर दौडमा गण्डकीका बादल कार्कीले स्वर्ण जिते । उनले निर्धारित दूरी ४ मिनेट १९.१ सेकेन्डमा पूरा गरे । ४ मिनेट १९.६ सेकेन्ड समयमा कर्णालीका अजय विक दोस्रो तथा ४ मिनेट २२.७ सेकेन्ड समयमा सुदूरपश्चिमका विक्रम विक तेस्रो भए । 

उक्त स्पर्धाको छात्रामा कर्णालीकी कल्पना बुढा पहिलो भइन् । निर्धारित दूरी तय गर्न कल्पनाले ५ मिनेटमा ०४.४ सेकेन्ड समय लगाइन् । सुदूरपश्चिमकी देवकीकुमारी धामी (५ मिनेट १३.०९ सेकेन्ड) दोस्रो तथा बागमतीकी अस्मिता भुजेल (५ मिनेट १९.८ सेकेन्ड) तेस्रो बने ।

छात्राको ४ सय मिटर दौडमा लुम्बिनीका रोहितकुमार गुप्ता पहिलो भए । उनले ५१.५ सेकेन्डमा दूरी तय   गरे । बागमतीका सन्तबहादुर दराई (५१.९ सेकेन्ड) दोस्रो तथा कोशी प्रदेशका राकेश सार्की तेस्रो स्थानमा रहे । सो स्पर्धाको छात्रामा कर्णालीकी सरिता खड्का पहिलो भइन् । दूरी पूरा गर्न सरिताले १ मिनेट ०२.३ सेकेन्ड समय  खर्चिन् । लुम्बिनीकी अनिशा थारू (१ मिनेट ०३.५ सेकेन्ड) दोस्रो तथा कर्णालीकी भावना कर्साल (१ मिनेट ०३.७ सेकेन्ड) तेस्रो भए ।



छात्रको १ सय मिटर दौडमा मधेश प्रदेशका आदेशकुमार यादव पहिलो भए । उनले निर्धारित दूरी पूरा गर्न ११.२० सेकेन्ड समय लगाए । बागमतीका प्रवीण राना मगर (११.३५ सेकेन्ड) दोस्रो तथा सुदूरपश्चिमका चन्द्र बोहरा  (११.५२ सेकेन्ड) तेस्रो भए । सोही स्पर्धाको छात्रामा सुदूरपश्चिमकी रितु जोशी पहिलो भइन् । रितुले निर्धारित दूरी १३.५८ सेकेन्डमा पूरा गरिन् । गण्डकीका एन्जल अधिकारी (१३.६६ सेकेन्ड) दोस्रो तथा निशा घर्ती (१३.७५ सेकेन्ड) तेस्रो भए ।

राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा भइरहेको राष्ट्रपति रनिङ सिल्डको एथलेटिक्समा विभिन्न २६ स्पर्धा समावेश छन् । पहिलो दिन मंगलबार ८ स्पर्धाको फाइनल सम्पन्न भएको छ ।



  • प्रकाशित मिति : वैशाख ५, २०८१ बुधबार १०:४:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया