सत्ता गठबन्धनमा खटपट : देउवा र नेपालबीच अर्थपूर्ण भेटघाट
वैकल्पिक गठबन्धन निर्माणमा आफ्नो साथ रहने नेपालको वाचा

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीको विषयलाई लिएर सत्ता गठबन्धनमा खटपट देखिएको छ । सुरुमा सो प्रदेशको मुख्यमन्त्री एकीकृत समाजवादीको भागमा परे पनि अन्तिममा एमाले र माओवादीले नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका नेता कैलाश चौधरीलाई मुख्यमन्त्रीमा अघि सारेपछि एकीकृत समाजवादी सत्तारुढ दुई ठूला पार्टीसँग बिच्कियो । 

परिणामस्वरुप एकीकृत समाजवादीले कांग्रेससँग मिलेर नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्षका नेता लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्रीमा अघि सार्यो । सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले एउटै पार्टीबाट दुईजनाको उम्मेदवारी परेको भन्दै दुवै उम्मेदवारको दाबी खारेज गरिसकेका छन् । 

यसबीचमा केन्द्रमा गठबन्धनमा आबद्ध दलका नेताहरू सो प्रदेशमा एकीकृत समाजवादीलाई नै मुख्यमन्त्री दिन तयार भए । आफूले मुख्यमन्त्री पाउने आश्वासन पाएपछि एकीकृत समाजवादीले लक्ष्मणकिशोरलाई दिएको समर्थन फिर्ता लिएर आफ्ना प्रदेश सांसद दीर्घ सोडारीलाई मुख्यमन्त्रीका लागि अघि सार्यो । तर, एमालेले सोडारीविरुद्ध विभिन्न मुद्दा रहेको कारण देखाउँदै एकीकृत समाजवादीलाई मुख्यमन्त्रीको उम्मेदवार परिवर्तन गर्न दबाब दियो । तर, एकीकृत समाजवादील्े आफ्नो पार्टीका तर्फबाट सोडारी नै उम्मेदवार बन्ने जवाफ फर्काएको छ । 

सुरुमा आफूलाई पत्तै नदिई नयाँ गठबन्धन बनाएको भन्दै रिसाएका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मात्र होइन, एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि पटक–पटक आग्रह गरेपछि नयाँ समीकरणमा सामेल भए । तर, सहमतिअनुसार आफ्नो पार्टीले केही नपाएको र एमाले–माओवादीबाट धोका पाएको भन्दै एस अध्यक्ष नेपाल उनीहरूसँग चिढिएका छन् । 

यसैबीचमा नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग गोप्य भेटघाट गरेका छन् । कांग्रेसका एक नेताको गोल्फुटारमा रहेको घरमा देउवा र नेपालबीच झण्डै एक घण्टा गोप्य वार्ता भएको हो । बुधबार पार्टीको सचिवालय बैठक सकेर अध्यक्ष नेपाल देउवालाई भेट्न गल्फुटार गएका हुन् । 

एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता दीर्घबहादुर सोडारीलाई एमालेले स्वीकार नगर्ने संकेत गरेपछि नेपाल देउवालाई भेट्न पुगेका हुन् । केन्द्रीय गठबन्धनबाट समर्थन नपाएमा कांग्रेस र नाउपाको रेशम पक्षको सहयोग लिएर आफ्ना उम्मेदवारलाई जिताउने रणनीतिका साथ नेपाल देउवालाई भेट्न गएका हुन् । 



नेपालले देउवालाई वैकल्पिक गठबन्धन निर्माणमा आफ्नो साथ रहने विश्वास दिलाएको कांग्रेस स्रोतको दाबी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसँगै सहकार्य सहज नभएको भन्दै नेपालले देउवासँग सहकार्यको हात अघि बढाएका हुन् ।



  • प्रकाशित मिति : वैशाख ५, २०८१ बुधबार २२:४१:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया