logo-img

काठमाडौंमा स्वचालित विधिबाट परीक्षा केन्द्रहरू तोकियो

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का लागि काठमाडौं जिल्लाका परीक्षा केन्द्र तोक्दा आधुनिक प्रविधि प्रयोग गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले परीक्षा केन्द्रलाई प्रभावमा पारी आफ्नो विद्यार्थीलाई सजिलो र प्रतिस्पर्धी विद्यालयका विद्यार्थीहरूलाई विभिन्न हैरानी दिने गुनासो आएकोमा हुने समस्या समाधान गर्न परीक्षा केन्द्र स्वचालित (र्याण्डम) प्रक्रियाबाट तोक्न निर्देशन दिएकी थिइन । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डको प्राविधिक टोलीले ‘पाइलट प्रोजेक्ट’को रूपमा एक सफ्टवेयर बनाई पहिलो पटक काठमाडौं जिल्लाका परीक्षा केन्द्र स्वचालित (र्याण्डम) विधिबाट छानिएको हो । 

हरेक विद्यालयका परीक्षार्थीको संख्या र परीक्षा केन्द्रको सिट संख्याको आधारमा विद्यालय र केन्द्रको दूरी निकालिएको थियो । विद्यालयबाट नजिक पर्ने केन्द्रलाई प्राथमिकता दिइएको थियो । एकै विद्यालयको परीक्षार्थी संख्या हेरी सकभर औसतमा १ सय ५० भन्दा बढी परीक्षार्थी एकै केन्द्रमा नपर्नेगरि बाँडिएको छ । 



एउटै सञ्चालक भएका विद्यालयहरूमा केन्द्र नपर्नेगरि छनोट गरिएको थियो भने दुई परस्पर विद्यालयका परीक्षार्थीको केन्द्र एक अर्काकोमा पनि नपर्नेगरि व्यवस्था गरिएको छ । विगतका वर्षहरूमा कुनै विद्यालयको कुनै परीक्षा केन्द्रमा केही समस्या परेको भनी गुनासो आएको ठाउँ केन्द्र नदोहोरिने गरी छनोट गरिएको छ ।

प्रत्येक पटक परीक्षा केन्द्र तोक्न प्रोग्राम चलाउँदा फरक फरक नतिजा आउने गरी ‘र्यान्डमाइज’ गरिएको छ । यो सफ्टवेयर र विधि ओपन सोर्स गरी ‘गिटहब’मा राखिएको छ । ओपन सोर्सको मान्यता अनुरूप प्रक्रिया पारदर्शी रूपमा राखिएको यसलाई अझै सबल र पूर्ण स्वचालित बनाउन सुझाव दिन समेत आह्वान गरिएको छ । 

यस विधिबाट परीक्षा केन्द्र तोकिँदा परीक्षा केन्द्र किनबेच हुने कुरा निरुत्साहित हुनेछ भने परीक्षा केन्द्रलाई पनि सहजीकरण गर्न सजिलो हुनेछ । विस्तारै देशभरि परीक्षा केन्द्र तोक्न यही विधि प्रयोगमा ल्याइनेछ ।  





  • प्रकाशित मिति : वैशाख ६, २०८१ बिहीबार १६:३३:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया