नियम मिच्नेका लागि म आतंक नै हुँ : राजुनाथ पाण्डे, काठमाडौं महानगर प्रहरी प्रमुख

तपाईं देशको राजधानी काठमाडौं महानगरको सुरक्षा प्रमुख हुनुहुन्छ, यतिन्जेलको काम गराइबाट कस्तो अनुभव सँगाल्नुभएको छ ?

मलाई कस्तो लाग्छ भने मुख्यतः काठमाडौं महानगरपालिकाको प्रहरी बलको प्रमुखमा म नियुक्त भएको आउँदो भदौं २ गते दुई वर्ष पुग्दै छ । त्योभन्दा अगाडि म प्रमुख थिइनँ । म आइसकेपछि नवनियु्क्त महानगर प्रमुख, उपप्रमुख प्रमुख प्रशासकीय अधिकृतहरुसँग काम गर्न पाउँदा छुट्टै अनुभूति भइरहेको छ । पहिले म प्रमुख नभएको कारणले के कस्तो छ भन्ने कुरा समेत थाहा हुँदैनथ्यो । अहिलेको अवस्थामा इतिहासमै पहिलोचोटि कानूनले दिएको म्याण्डेट अनुसार काम गर्न कँहीकतै कुनै पनि दबाब छैन । 

हामी पनि मेयरसाबको जुन केही गरौं भन्ने हुटहुटी छ, काम गरौं भन्ने जाँगर छ । जसरी उहाँले हामीलाई केही गर्न प्रोत्साहन गर्नु हुँदा र जनताले पनि हाम्रो कामप्रति सकारात्मक व्यवहार देखाउँदा काम गर्न एकदम खुशी लाग्छ । हाम्रै पालामा केही गर्न सकिन्छ भनेर आफ्नो व्यक्तिगत र पारिवारिक जीवनबाट पर बसेर काठमाडौंलाई सुव्यवस्थित सहर निर्माणका लागि केही गर्न पाउँदा एकदम खुशी लागेको छ । कामको प्रेसर त होला र त्यसमा पनि आनन्द महसुस गरिरहेको छु, मैले । 

चुनौती पनि धेरै होलान् नि सुरक्षा र व्यवस्थापनका । कस्ता–कस्ता चुनौती बेहोरिरहनुपरेको छ ?

चुनौती त धेरै नै छन् । तर, हाम्रो काम गर्ने भनेको नै महानगर सुव्यवस्थाको काम हो । सहर सुव्यवस्थाको काममा फोहोरमैलादेखि लिएर काठमाडौं महानगर क्षेत्रभित्रको सम्पूर्ण कामहरु सौन्दयीकरणको कुरादेखि लिएर सार्वजनिक जग्गा अतिक्रमण हटाउने विषय पनि छन् । त्यसपछि अव्यवस्थित रुपमा राखिएका पसलका कुराहरु हुन सक्छन् । त्यस्तैगरी ध्वनि प्रदूषणका कुराहरु, अनधिकृत विज्ञापनका बोर्डहरु हटाउने कुराहरु पनि छन् । जात्रा व्यवस्थापनका कुराहरुमा सक्नेजति गरिरहेका छौँ । 

काठमाडौं महानगर फेरि यस्तो सहर हो, जहाँ सम्पदाले भरिएको सहर र मन्दिरैमन्दिरको सहर । नयाँ मेयर आएपछि जुन किसिमको जात्रा, यहाँको पर्व, यहाँको सम्पदाहरुप्रति उहाँको जुन अगाध माया छ, त्यसभित्र पनि त्यसको संरक्षण गर्ने महानगरको जिम्मेवारी हो । महानगरले स्थानीयस्तरमा जसरी स्वस्थ महानगर बनाउने योजना छ, यस्तै काममा व्यस्तता छ । तर, हामी आफ्नो कार्य क्षेत्रमा निर्वाध ढंगले काम गर्न पाउँछौँ त्यसैले कामको नतिजा पनि जनताको नजरमा परिरहेकै छ ।



महानगर क्षेत्रमा अनेक किसिमका विकासे काम भइरहेका हुन्छन्, तर समन्वय भने देखिँदैन । सधैँ यस्तो किन हुन्छ, कसरी काम गरिरहनुभएको छ ?
मैले महसुस गरेको सबैभन्दा ठूलो इमानदारी हो । इमानदारीमा एक किसिमको शक्ति हुन्छ जस्तो लाग्छ मलाई । त्यो चुनौतीपूर्ण भएको कारणले र चुनौतीपूर्ण भए पनि हामीले आफूले सक्नेजति काम आफैँले गर्ने र हामीलाई अप्ठेरो परेको बेलामा सम्बन्धित लाइन एजेन्सीसँग सहकार्य, समन्वय गरेर उहाँहरुलाई कन्भिन्स गरेर गइरहेको अवस्था छ । 

तर, अहिले कतिपय अवस्थामा हामीलाई बिहानदेखि लगातार साँझसम्म खटिँदाखेरि सरकारी निकायबाट नै गरिने कामहरुमा सहयोग भइरहेको देखिँदैन । मैले महसुस गरेको विद्युत प्राधिकरण, दूरसञ्चार प्राधिकरण, मेलम्ची खानेपानी योजनालगायत जुन सरकारी तथा अर्धसरकारी निकायहरुले जुन जिम्मेवार ढंगले काम गर्नुपर्ने हो त्यस्तो गरिरहनुभएको छैन । धुँवा र धुलोमुक्त काठमाडौं महानगर भन्ने मेयर साहबको जुन एजेण्डा छ त्यो कुरालाई साकार पार्नका लागि हामीलाई अड्चन आइराख्ने, आज खनेको खाल्डो बनाएर नपुरिदिने, जनताबाट वायु प्रदूषण भयो भन्ने गुनासो आइरहेको छ । त्यो गुनासो व्यवस्थापनको लागि हामी जान्छौं । कतिपय ठाउँहरुमा दुई वर्षदेखि खाल्डो खनेर छोडेको अवस्था छ । स्थानीयहरु आएर हामीसँग गुनासो गरिरहनुहुन्छ । महानगर कहिले सुत्दैन, सुत्न हुँदैन भन्ने मेयरसाबको जुन भनाइ छ यसलाई कार्यान्वयन गर्नका लागि चुनौती पनि छ । त्यो चुनौतीलाई चिर्दै अगाडि बढिरहेका छौँ । 



महानगरमा फुटपाथमा अनेक अवरोध छन्, कतै त हिँड्दाहिँड्दै फुटपाथ कसैको घर कम्पाउण्डभित्र छिर्छ कतै हराउँछ । किन यस्तो भएको होला?

यो त पक्कै पनि हो । हिजो पनि जुन सडक विस्तारको काम भयो यो अवस्था देखिएको हो । सडक विस्तारको काम हुँदाखेरि सबैभन्दा पहिलो प्राथमिकता त पैदलयात्रीलाई दिनुपर्ने हो नि त । पैदलयात्रीको हक छिन्नुहुन्न भन्ने मेयरसाबको धारणा हो । कतिपय ठाउँमा सडक निर्माण गर्दा सडकपेटी हराएको अवस्था छ । त्यो ठाउँहरुमा सडकपेटी बनाउनुपर्छ । पैदयलयात्रु नै मुख्य प्राथमिकता हुनुपर्ने हो । पैदलयात्रीलाई चाहिँ सहज तरिकाले हिँड्ने वातावरण सिर्जना गर्नुपर्दछ । धेरै कुराहरु त तपाईंलाई थाहा नै छन् । संघीय सरकारमातहत रहने कुराहरु हुन् । ८ मिटर चौडाइसम्मको सडक महानगरको मातहत छ, त्यो भन्दामाथि त महानगरले हेर्दैन । प्रदेश सरकार र संघीय सरकारको मातहत रहेका छन् । आफू मातहतमा रहेका सडक र फुटपाथको तव्यवस्थापनका लागि हामी काम गरिरहेका छौँ । 

महानगरवासीका कस्ता कस्ता गुनासा आउँछन् अहिले ?

हामीलाई दैनिक रुपमा गुनासोहरु आउँछन् । अस्ति भर्खरै मात्र हामीलाई एउटा क्याम्पसबाट गुनासो आयो । गेटबाट विद्यार्थीहरु निस्किदाँखेरि चुरोट तान्दै निस्किए भन्ने हामीले तुरुन्त रेस्पोन्स गर्यौं । 

हामीसँग यस्ता गुनासाहरु धेरै नै आइरहेका हुुन्छन् । सामाजिक सञ्जालदेखि टेलिफोन र मेयर साहबको सचिवालयमा पनि । मलाई व्यक्तिगत रुपमा पनि गुनासोहरु आइरहेका हुन्छन् । हामी पनि गर्न खोजिनैरहेका हुन्छौं । हामीले माइकिङ गर्ने, सम्झाउने काम त जारी नै राखेका छौं । नमानेको खण्डमा त्यस्ता व्यक्तिहरुलाई जरिवाना गर्ने, पक्राउ गर्ने पनि काम गर्दै आएका छौं ।

जस्तै यहाँ काठमाडौंको सन्दर्भमा गुट्खा र चुरोटको प्रयोग र फोहर व्यवस्थापनका सन्दर्भमा हामी गरिनैरहेका छौं । सार्वजनिक सम्पदाको एक सय मिटरको दूरीमा सेवन गर्न नदिने विषयमा पनि हामी गरिनैरहेका छौं । हाम्रो यहाँ जनचेतनाको कमी छ । हामी जनचेतना जगाउँदै कारबाही गर्ने काम पनि गर्दै अगाडि बढिरहेका छौं । हामी त्यो विषयलाई सूक्ष्म रुपले हेरिरहेका छौं, कारबाही प्रक्रिया अगाडि बढाउँछौं । 

महानगरका फुटपाथमा अनेक अवरोध छन्, चिया पसललगायतका स–सानापसल राख्ने अनिमानिसहरु पनि त्यतै बसेर खाने गरेका जताततै देखिन्छ । 

पैदलयात्रीलाई हिँड्न असुविधा भएपछि सडकमा झर्नुपर्छ अनि दुर्घटना हुन सक्छ । यस्ता समस्या महानगरले नै हेर्नुपर्ने होइन र ?

काठमाडौं महानगर क्षेत्रभित्र महानगरले गरिरहेको अवस्था छ । सडक भनेको सवारी साधनका लागि हो भने पैदलयात्रीका लागि फुटपाथ हो । काठमाडौंको सडक कति नै ठूलो छ र ? हिजो सडक साँघुरो भो भनेर व्यक्तिको घर नै हटाएर सडक बनाएको अवस्था छ । सडक र पेटी जुन प्रयोजनको लागि बनाइएको त्यही हुनुपर्छ । महानगरका व्यवसायीलाई महानगरले स्वागत गर्छ नै तर व्यवस्थित सहर र यहाँको सडक सुरक्षाको कुरालाई लिएर नागरिकको हिँड्न पाउने अधिकारलाई बेवास्ता गरेर सडक पेटीमा सार्वजनिक स्थलमा फुटपाथमा व्यवसाय गर्ने कुरा महानगर नदिने पक्षमा छ । यो दिइनु पनि हुँदैन । तपाईंले सामाजिक सञ्जालमा हेर्नुभयो होला विगत ३० वर्षदेखि फुटपाथमा व्यवसाय गरेर सम्पन्न भएका व्यक्ति पनि त्यो सडक नछोडी बसिरहेको प्रवृत्ति छ । त्यसकारण महानगरभित्र रहेको यो सम्पदाले भरिएको ठाउँ र सडकपेटीमा फुटपाथ व्यापारी निषेध गरिएको छ र अब कहिँकतै पनि त्यस्तो छुट दिइने छैन । नदिने नीति नै छ ।

सार्वजनिक स्थल र सम्पदा क्षेत्रको अतिक्रमण हटाइसकियो कि अझै बाँकी नै  छ ? कत्तिको अवरोध र दबाब सामना गर्नुपरेको छ ?

यसमा मैले आज केही त भन्नैपर्ने हुन्छ । मैले यसोभन्दा कसैको चित्त नदुखोस् । एउटा कुरा के हो भने, काठमाडौं महानगरले विगतदेखि नै खोलाकिनारा जहाँ हामी सुकुम्बासी तथा अव्यवस्थित बस्ती भन्छौं त्यहाँ रिक्स पनि छ । कतिपय नदीका किनाराहरुमा करिडोर खोल्नुपर्नेमा त्यहाँ अवरोध भएको अवस्था छ । समय समयमा विभिन्न घटनाहरु घटेको त सबैले देख्नुभएकै छ । तर यसको लागि अरु सरकारी निकायको महानगरको साथमा छैनन् । 

अरु निकाय पनि कटिबद्ध भएर त लाग्नुपर्यो नि । महानगर त अहिले पनि तयार नै छ । नदी किनाराको बाटो खोल्नुपर्दछ । यहाँ बसोबास गर्ने ८० प्रतिशतभन्दा बढी मान्छेहरुको मुलुकको कुनै न कुनै ठाउँमा घर छ । उहाँहरु आएर बस्नुभएको छ । हामीले विगत एक डेढ वर्ष अगाडि हटाउन खोज्दाखेरि हटाउन तपाईंले देख्नु नै भयो त्यत्रो विरोध भयो । अवाञ्छनीय गतिविधि गर्ने र यस्ता बसोबासीलाई सम्बन्धित निकायले नियन्त्रणमा लिनुपर्दछ र कारबाही गर्नुपर्दछ । अहिले पनि हामीलाई सहयोगको आशा छ, आशा गरिनै रहेका छौं । यदि सम्बन्धित निकायले हामीलाई आवश्यक्ता अनुसारको सहयोग गर्ने हो भने हामी अहिले भर्खर पाँच मिनेटमा उठेर काम गर्न हामी तयार छौं । त्यसका लागि सम्बन्धित निकायले स्वार्थमुक्त सहयोग गर्न तयार हुने हो भने हामी पाँच मिनेटभित्र मुभ हुन तयार छौं । 

गृह मन्त्रालयअन्तर्गतका दुईवटा प्रहरी संगठनहरु छन् । अरु पनि सुरक्षा निकायहरु छन् । उनीहरुसँग यहाँहरुको समन्वय कत्तिको हुन्छ ?

पहिलाको गृहमन्त्री रवि लामिछानेसँग कुरा भएको हो । उहाँसँग कुरा हुँदा तीन दिनको एक्सन प्लान बनाएर पेस गर्नु भनेको र हामी नेपाल प्रहरी सशस्त्र र हामी बसेर काठमाडौं परिसरमा बसेर एक्सन प्लान पेस पनि भएको हो । तीन दिनपछि त्यो विषय त्यत्तिकै रह्यो र पटक पटक मेयर साबले पहल गरेको मलाई जानकारी छ । यो हटाउनुपर्छ भनेर पहल गरेको हो । पहल गरे पनि हटाउने भनेर कुरा हुन्छ । तर, अगाडि बढ्न सकेको छैन । त्यो पनि एउटा रहस्यकै कुरा रहेको छ । यसमा हामी लागिरहेको छौं । सुन्दर महानगर व्यवस्थित महानगर व्यवस्थित महानगर सम्पदाले भरिएको नेवारी सभ्यता बोकेको यो सहर यसलाई जीवन्त राख्नको लागि विदेशीहरुले आउँदा सभ्यता के हुन् भनेर देखाउन प्रयत्न गरिरहेको छौं । 

पहिला–पहिला चोक चोकमा कति धेरै फोहोर हुने गथ्र्यो । महानगर के गरेर बसेको छ भन्ने प्रश्नहरु पनि आउने गर्थे, अहिले किन कतै पनि फोहोर नभएको त ?

महानगरले फोहोरमैलाको व्यवस्थापनको सिलसिलामा निर्मम तरिकाले काम गरेको छ । हाम्रा प्रहरीहरु फोहोरमैला हेर्ने वातावरण विभागको सबै काममहानगरले गर्छ । बिहान ६ बजेदेखि बेलुका ढिलासम्म सडकपेटीहरुमा निगरानी गरिरहेको हुन्छ । फोहोर गर्ने व्यक्तिलाई सम्झाउने र नमानेको खण्डमा उहाँहरुलाई ल्याएर कारबाही गरिरहको छौं । यतिसम्म कि म कतै जाँदा बाटोमा फोहोर देखेँ भने गाडीबाट झरेर सम्झाउने गर्छु । महानगरले त्यस विषयमा निर्मम तरिकाले कारबाही गरिरहेको छ । पहिलो सर्त भनेको सरसफाइ हो, त्यही विषयमा रहेर काम गरेको हुनाले त्यसैको नतिजा हो भन्ने मलाई लाग्छ । 

डम्ीिङ साइट क्षेत्रका स्थानीय जनताको कत्तिको सहयोग पाउनु भएको  छ ?

राजनीतिक विषय त मैले बोल्न भएन । तैपनि स्थानीय समस्या समाधान गर्नमा महानगरले प्रयत्न गरिरहेको छ । केही नराम्रो गतिविधि गर्ने र धमिलो पानीमा माछा मार्ने मानिसहरुले केही चलखेल गर्न खोज्छन् । तर, त्यस विषयमा हाम्रो सुरक्षा निकायसँग बसेर त्यस्ता गतिविधि गर्नेलाई नियन्त्रण गर्नुपर्छ भनेर समन्वयात्मक ढंगले काम भइरहेको छ । 

महानगर प्रमुख बालेन साहको कार्यशैली विगतका मेयरहरुको भन्दा फरक देखिएको छ । देशभरका मानिसहरुले पनियो कुरा महसुस गरिरहेका छन् । नयाँ पुस्ताका नेता र उहाँ फरक किसिमले निर्वाचित भएर आउनुभएको छ । उहाँसँग काम गर्दा तपाईंलाई कस्तो अनुभव भएको छ ? कत्तिको सहज हुनुहुन्छ उहाँ ?

काम गर्न धेरै सहज छ । नबुझने मानिसले आफ्ना मात्र स्वार्थ पुरा गर्न खोज्ने र महानगरसँग मतलब नराख्ने व्यक्तिले चुनौती दिन खोज्छन् । तर, इतिहासमा नै यो कालखण्ड हो जहाँ यति सजिलो काम गर्न पाइएको छ । हाम्रो नेतृत्व तहबाट काम गर्न कानुनले दिएको परिधिभित्र रहँदासम्म कुनै अवरोध छैन । महानगरको काममा कुनै किसिमको दबाव र प्रभाव सुरु सुरुमा म नियुक्ति भएर आउँदा केही प्रयत्न भएको जस्तो लाग्छ, तर पछि कहीँ प्रभाव दबाब केही छैन । मैले व्यक्तिगत रुपमा भन्नुपर्दा महानगरलाई सुनौलो अवसर हो, यस्तो दिनहरु महानगरका लागि न विगतमा थियो न पछि नै आउँछ जस्तो लाग्छ मलाई । 

यति धेरै जनसंख्या भएको महानगरपालिकाको सुरक्षा प्रमुख हुनुहुन्छ तपाईं । यस्तो व्यस्त रहने जिम्मेवारी भएको मानिसको एक दिन कसरी बित्छ?
म बिहान ५ बजे नै उठ्छु । सामान्यतया बिहान ७ बजेभित्र कार्यालय आइ नै सक्छु । बेलुका ८ बजेसम्म पनि बस्छु । कहिले ९–१० सम्म यहीँ हुन्छु । घर गएर बिहान १–२ बजे निदाको हुन्छु । काम के–के छन् त भनेर योजना बनाइरहेको हुन्छु । हामी नतिजामुखी काम गर्ने हो । नतिजा जनताले अनुभूति गर्नेगरी परिवर्तन भएको छ कि छैन । त्यो गर्न हामी निरन्तर रुपमा छलफलमा छौं । केही कमीकमजोरी भए सच्याउने काम भइरहेको छ । 

मेरो दुई वर्षदेखिको समय मेरो सम्पूर्ण सोचविचार महानगरलाई व्यवस्थित कसरी गर्ने भनेर म लागिरहेको छु ।  म कुर्सीमा भन्दा पनि बाहिर फिल्डमा रमाउँछु । फिल्डमा पुग्दा आफूले देखिन्छ आफूले देखेपछि अरुलाई भन्न पनि सजिलो हुन्छ । म स्वयं फिल्डमा खटिँदा अफिसरहरु र जवानहरुलाई पनि उत्प्रेरणा मिल्छ । म आफैं गएर जे देखिन्छ र के सुधार्न पर्ने हो । तत्काल एक्सनमा जानुपर्छ भन्ने हिसाबले महानगर प्रहरी बलको नियन्त्रणमा र महानगरको कल सेन्टरमा हजारौ गुनासो आउँछन् । दश देखि १५ मिनेटमा हामीले गुनासो सम्बोधन गर्नुपर्छ भन्ने लाग्छ । महानगरप्रति एक किसिमको विश्वास बढेको महसुस भएको छ र सुशासन छ भनेर जनताले जुन दिन अनुभूति गर्नुहुन्छ । त्यही दिन हामीलाई सफल भएको अनुभूति हुन्छ । 

तपार्इं आफैंलाई चैं महानगरवासीले कसरी हेर्छन् र के भन्छन् जस्तो लाग्छ ?

महानगर प्रहरीले पहिला कस्तो काम गथ्र्यो म नेतृत्वमा थिइनँ । तर, मलाई खुसी लाग्छ जनतामा जाँदा एक किसिमको उत्साह माया पाउने गरेको छु । त्यही नै हो हाम्रो काम गर्ने ऊर्जा । हाम्रो लागि त्यही हो शक्तिजस्तो लाग्छ । जहाँ पुग्दा पनि चिया अफर गर्नुहुन्छ । मसँग फोटो खिच्नुहुन्छ । यो जनताको माया हो, विश्वास हो जस्तो लाग्छ । यसले मलाई आनन्द आउँछ । जनता हाम्रो काम कारबाहीबाट सन्तुष्ट हुनुभयो भने ठूलो कुरा त्यही हो । आफ्नो काम कारबाहीले स्वाभाविक रुपमा त्यो नजिता आउँछ जस्तो लाग्छ मलाई । 

राजु पाण्डेले महानगरमा आतंकै मच्चाए पनि भन्छन् नि मानिसहरु, यस्तो पनि सुन्नुभएको छ ?

कानुनविपरीत हुने कारबाहीमा अवरोध गर्दा महानगर प्रहरीले सम्पादन गर्ने काममा अवरोध खडा गर्ने मानिसहरुका लागि म आतंक नै हुँ । तर, महानगर सुव्यवस्थित हुनुपर्छ र महानगर सुदृढ र सुशासन हुनुपर्छ भन्नेको लागि नहुन सक्छ । मैले आतंक मच्चाएँ भनेर भन्नेहरु भनेका महानगर व्यस्थित गर्ने सिलसिलामा हामीलाई असहयोग गर्ने तत्वहरु हुन् ।

महानगरबासीलाई सुरक्षाप्रमुखको नाताले के सन्देश दिन चाहनुहुन्छ ?

महानगर व्यस्थित गर्ने सिलसिलामा हामीलाई सहयोग गर्नुहुन आग्रह गर्छु । अब आउने पुस्ताहरुलाई हामीले भन्दा पनि हाम्रा छोराछोरीको भविष्यको लागि हामीले काम गर्नुपर्ने छ । आफ्नो छोराछोरीलाई सम्झेर कस्तो सहरको परिकल्पना गरिरहेको छन् ? त्यो सम्झेर उहाँहरुले सहयोग गर्नुभयो भने हामीलाई ठूलो सहयोग मिल्नेछ । सबैलाई सहयोग गर्न हार्दिक अनुरोध गर्दछु । 

  • प्रकाशित मिति : वैशाख ६, २०८१ बिहीबार २१:१३:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया