पूर्वाधार अभावमा पनि खेलकुदमा अब्बल सुदूरपश्चिम
फाइल तस्बिर

बझाङ, बाजुरा र अछामलगायत सुदूरपश्चिमका केही पहाडी जिल्लाका खेलकुद विकास समितिका कार्यालय भाडाकै भवनबाटै सञ्चालन भइरहेका छन् । यहाँका अधिकांश स्थानमा खेलकुदका लागि पर्याप्त सुविधा छैन । कतिपय स्थानमा त आधारभूत सुविधा पनि उपलब्ध हुन नसकेको अवस्था छ ।

यद्यपि खेलकुदमा आवश्यक लगानी र भौतिक पूर्वाधार अभावका बीच पनि यहाँका खेलाडीले आफूहरूलाई राष्ट्रियस्तरमा अब्बल सावित गरिरहेका छन् । उनीहरूले खेलमार्फत सुदूरपश्चिम प्रदेशको नाम उचो बनाएका छन् । पालिका हुँदै जिल्ला र प्रदेशबाट छनौट भएका उनीहरुले १४औँ केन्द्रस्तरीय राष्ट्रपति रनिङ प्रतियोगितामा सुदूरपश्चिमलाई प्रथम बनाए । 

पर्याप्त खेल संचरना र प्रशिक्षक नहुँदा पनि यहाँका खेलाडीको गरेको उच्च प्रदर्शनबाट सुदूरपश्चिम खेलकुद परिषद्का सदस्यसचिव दीपकबहादुर सिंहले खुसी व्यक्त गरे । १३औँ राष्ट्रपति रनिङ सिल्डमा सात स्वर्णमै सीमित सुदूरपश्चिम यसपटक भने राष्ट्रपति रनिङ सिल्डमा १९ स्वर्ण, १२ रजत र १८ कास्य गरी ४९ पदकसहित शीर्ष स्थानमा रहेको भन्दै खेलाडीको प्रशंसा गरे ।  

प्रदेशमा ठूला खेल संचरनाका नाममा कञ्चनपुरको महेन्द्रनगरमा बहुउद्देश्यीय कर्वडहल, कैलालीको टीकापुरमा स्पोर्ट्स एकेडेमी र डडेल्धुरामा सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा मिनी कवर्डहल बन्दैछन् । त्यसबाहेक पहाडी जिल्लामा खेलकुदको विकासमा आवश्यक लगानी हुन नसकेको जानकार बताउँछन् ।

‘सुदूरपश्चिम खेलकुदको हव भएको कुरा अहिलेको नतिजाबाट पनि प्रष्ट भएको छ’, सदस्यसचिव सिंहले भने, ‘केही खेलमा प्रशिक्षक उत्पादन र खेलकुदको समग्र विकासमा सरकारले लगानी बढाउने हो भने सुदूरपश्चिम अन्य प्रदेशको तुलनामा अझै अब्बल हुनेछ ।’ 

महेन्द्रनगर र टीकापुरमा  प्रदेश सरकारको १४/१४ करोडको लगानीमा दुई ठूला खेलकुद संरचना बनेपछि खेलकुदको माहोल थप सशक्त हुनेमा उनको विश्वास छ । ‘एथ्लेटिक्स, कबड्डी, उसु, तेक्वान्दोलगायतका खेलमा हाम्रो राम्रो प्रदर्शन रह्यो’, उनले भने । सिंहले प्रतियोगिता अघि प्रदेशभरीका सबै खेलाडीलाई एक महिना बन्द प्रशिक्षणमा राखेर प्रशिक्षण दिइएको बताए ।  



उनका अनुसार सुदूरपश्चिमबाट ९८ जना खेलाडीका साथै प्रशिक्षक र व्यवस्थापक गरी १ सय १५ जना रनिङ सिल्डमा सहभागी भएका थिए । सिंहले लगातार रुपमा भइरहेका खेलकुद गतिविधिका कारण खेलाडीको प्रदर्शन सुधारिएको र सकारात्मक नतिजा आइरहेको बताए ।  

‘सुदूरपश्चिममा धनगढी र महेन्द्रनगरमा रङ्गशालासहित खेल संरचना व्यवस्थापन गर्न सके अझ बढी फड्को मार्न सकिन्छ’, उनले भने, ‘अझै १०/१५ जना प्रदेशका खेल प्रशिक्षक थप आवश्यक छ ।’ 



सिंहले यहाँका पहाडी जिल्लामा खेलकुद समिति नै भाडामा रहेको अवस्थामा प्रशिक्षकलगायत अन्य व्यवस्थापन पनि गर्न राज्यको ध्यान नपुगेको बताए । यति हुँदाहुँदै पनि राम्रो खेलाडी उत्पादन हुनु राम्रो भएको उनको बुझाइ छ ।

बक्सिङ ओलम्पियन डम्बरदत्त भट्टले राष्ट्रपति रनिङ सिल्डमा सुदूरपश्चिमले ल्याएको नतिजाबाट प्रदेश खेलकुदमा अब्बल रहेको प्रष्ट भएको बताए । ‘वीरेन्द्र सिल्डदेखि राष्ट्रपति सिल्ड पुग्दासम्म सुदूरपश्चिम प्रदेश राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा अगाडि देखिएको छ’, भट्टले भने, ‘खेलाडीहरू सेवा सुविधाको अभाव र भविष्यको सुनिश्चितताको अन्यौलताका बीच उत्कृष्ट प्रदर्शन गरेका छन् । उनीहरूलाई जोगाउनका लागि सरकारको ध्यान दिनुपर्छ ।’ 

उनले पनि खेलाडीहरूले एकपछि अर्को प्रतियोगितामा ल्याइरहेको सकारात्मक नतिजा सुरक्षित राख्न प्रदेश र स्थानीय सरकारले ध्यान दिनुपर्नेमा जोड दिए । ‘सुदूरपश्चिमको खेलकुद जगतका लागि अहिलेको नतिजा ऐतिहासिक हो’, भट्टले भने, ‘अझै पनि नयाँ खेलाडीहरूको तन र मन खेलप्रति छ भन्ने पनि यसबाट देखिएको छ ।’ 

केही समयअघि बागमती प्रदेश खेलकुद विकास समितिले आयोजना गरेको प्रथम अन्तर प्रदेशस्तरीय खेलकुद प्रतियोगितामा पनि सुदूरपश्चिमले उत्कृष्ट प्रदर्शन गरेको थियो । सो अन्तर प्रदेशस्तरीय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमले २१ स्वर्ण, २९ रजत र २१ कास्यसहित दोस्रो स्थान ओगटेको थियो । रासस 

  • प्रकाशित मिति : वैशाख ७, २०८१ शुक्रबार १५:५९:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया