logo-img

गगनको दाबी : वर्तमान सत्ता गठबन्धन माघ महिना कट्दैन
अर्काको नाकको डाँडी भाँच्छु भन्दा वाहवाह, आफ्नोबारे सोध्दा मलाई के थाहा ?

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चुनावअघि गर्ने गठबन्धनलाई अब बिदाइ गर्ने बेला आएको बताएका छन् । शनिबार इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले वर्तमान सत्ता गठबन्धन माघ महिनासम्म भत्किसक्ने दाबी गरे । 

चुनावअघिको गठबन्धन बेइमानी, मतदाताको स्वतन्त्रताको अपहरण र मतदाताको अवमूल्यन भएको थापाको भनाइ छ । उनले अहिले बनेको गठबन्धनले २०८१ सालको माघ कट्न नसक्ने जिकिर गरे। 

उनले भने, ‘म कसम खाएर भन्दिनँ, तर म दाबी गरेर इलामेली जनताको अघि भन्नसक्छु, २०८१ सालको वैशाख ८ गते हो आज । अहिले बनेको गठबन्धनले २०८१ सालको माघ कटाएछ भने तपाईंहरुको बीचमा फेरि जवाफ दिन आउनेछु। मैले केवल यो सन्दर्भमा रहेर मात्रै भनेको। चुनावको अगाडि गठबन्धन जनतालाई धोका हो।चुनावको अघिको गठबन्धन बेइमानी हो। चुनावअघिको गठबन्धन मतदाताको स्वतन्त्रताको अपहरण हो। चुनाव अघिको गठबन्धन मतदाताको अवमूल्यन हो ।’ 

त्यसैले चुनावअघि गर्ने गठबन्धनलाई हाई हाई होइन बाईबाई गर्ने बेला आएको उनले बताए । चुनावअघिको गठबन्धनले नेपालको राजनीतिलाई विकृत बनाएको उनको भनाइ छ । 

थापाले अर्काको नाकको डाँडी भाँच्छु भन्ने रवि लामिछानेले आफ्नैबारे सोध्दा मलाई के थाहा भनेर उम्किन नमिल्ने बताए । थापाले उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछाने छानबिन समितिबाट भाग्दा झन् बढी संशय उठेको बताएका हुन् । 

‘अर्काको नाकको डाँडी भाँच्छु भन्दा वाहवाह । आफ्नोबारेमा सोध्दा मलाई के थाहा भनेर पाइन्छ ? कांग्रेसले निरन्तर संसदीय समिति गठनको माग गरेका छ । समितिमा को बस्छ ? एमालेले नेतृत्व गर्छ । माओवादी, कांग्रेस, रास्वपा, एमाले बस्छ, राप्रपाका सदस्य बस्छन्,’ इलाम– २ का कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्काको चुनावी प्रचारलाई सम्बोधन गर्दै थापाले भने, ‘समितिले छानबिन गर्दा इलाममा उभिएर बोलेको आरोप गलत रहेछन् भने सार्वजनिक बेइज्जती कसको हुन्छ ? मेरो हुन्छ, कांग्रेसको हुन्छ, फाइदा कसलाई हुन्छ ? रास्वपालाई हुन्छ । तर हामी डराएका छैनौं । यसैले कांग्रेसले समिति बनाउँ भनेको हो । तर अनुसन्धान गर्ने भनेको व्यक्ति किन डराइरहेको छ ? किन मानिरहेको छैन ? यहाँ मत माग्न आउनेलाई तपाईंले सोध्नुपर्छ कि पर्दैन ?’





  • प्रकाशित मिति : वैशाख ८, २०८१ शनिबार १५:१७:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया