logo-img

कार्यकर्तालाई नेताको अभिमुखीकरण - ‘क्रान्तिकारी शक्तिहरू एकजुट भएर शक्ति आर्जन गर्नुपर्छ’

नेपाल समाजवादी पार्टीका नेता तथा कार्यकर्ताहरूले क्रान्तिकारी शक्तिहरू एकजुट भएर शक्ति आर्जन गर्नुपर्नेमा जोड दिएका छन् । 

पार्टीको बागमती प्रदेश र गैरभौगोलिक प्रदेश समितिको आयोजनामा आज ललितपुरमा भएको अगुवा कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रममा धारणा राख्ने नेता, कार्यकर्ता तथा जिल्लाका प्रतिनिधिले नेपाली जनताको माग, भावना र चाहनाअनुसार रुपान्तरण र परिवर्तनका लागि देशका वामपन्थीहरूलाई एकठाउँमा ल्याउनुपर्नेमा जोड दिएका हुन् ।

 पार्टीका अध्यक्ष महिन्द्र राय यादवले सङ्घीयता, समावेशी, समानुपातिक, धर्मनिरपेक्षता आधारशिला भएको बताउँदै यसको रक्षाका लागि वामपन्थीहरूलाई एक ठाउँमा ल्याउनुपर्छ भन्ने धारणा राखे । ‘मधेस  आन्दोलन र जनयुद्धको माग पूरा गर्नका लागि नै माओवादीसँग एकता आवश्यक छ । हाम्रो नजिकैको मित्र शक्ति भनेको माओवादी केन्द्र नै हो, गत निर्वाचनमा माओवादी र हाम्रो पार्टी एकता भएर नेकपा समाजवादी हुने सर्तमा चुनाव चिह्न लिएर चुनाव लडेको हो’, उनले भने । 

नेपालका सबै वामपन्थी एक ठाउँमा आउन सकेन भने भारतमा जस्तै कम्युनिष्ट पार्टी समाप्त हुने उल्लेख गर्दै उहाँले वर्तमान सरकार कम्युनिष्ट ध्रुवीकरणका लागि भएको बताए । 

उनले पार्टी एकताको माध्यमबाट जनताको पक्षमा काम गर्ने शक्ति प्राप्त हुने बताउँदै ध्रुवीकरण भएर मात्रै जनताको अपेक्षा सम्बोधन गर्ने पार्टीको रुपमा स्थापित हुन सकिने बताए । उनले विभिन्न आन्दोलनबाट स्थापित नेता तथा कार्यकर्तालाई समेट्दै एकताको अभियानमा लाग्ने सबैलाई जोड्ने अभियान रहेको उनको भनाइ थियो ।

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री तथा नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गङ्गानारायण श्रेष्ठले क्रान्तिकारी शक्तिहरु एकजुट भएर शक्ति आर्जन गर्नुपर्छ भनेर लागिपरेको बताए । उनले पश्चगामी शक्तिहरूको अराजक गतिविधि रोक्न साथै धर्मनिरपेक्षता, गणतन्त्र र सङ्घीयताको संरक्षणका लागि अहिले ध्रुवीकरण हुनु आवश्यक रहेको उल्लेख गरे । 



‘संविधानसभाबाट संविधान घोषणापछि व्यवस्था परिवर्तनको एउटा कोर्ष पूरा भएको हो, तर त्यसपछि त्यही परिवर्तनको आधारमा समाजवादतिर जान नसकेपछि हामी छुट्टिनुपरेको हो, यो बीचमा हाम्रो प्रयोगले पार्टी र परिवर्तनकारी शक्तिहरु सफल हुन सकेन, तसर्थ  जनयुद्धको ‘लिगेसी’ बोकेकाहरू विगतका गल्तीको समीक्षा गर्दै रुपान्तरणसहितको एकता गर्नुपर्छ’, श्रेष्ठले भने ।

पार्टी एकता कार्यदलका सदस्य तथा पार्टीका महासचिव रमेश यादवले नयाँ शक्तिको नारा र मधेस विद्रोहबाट उदाएको शक्तिलाई एकताबद्ध बनाएर समृद्धिको दिशामा कसरी अगाडि बढ्ने भन्ने चिन्ता रहेको बताए ।



उनले जनविद्रोहबाट यहाँसम्म आइपुग्दा एउटा नेतालाई मात्रै स्थापित गर्ने उद्देश्य नरहेको भन्दै एउटा राजनीतिक स्वार्थका लागि राजनीतिक पसल मात्रै खोलेको होइन, जनताको गाँस, बास र कपासको चिन्ताले स्थापित हुन खोजेको बताए । उनले राजनीतिक शक्तिहरूको रुपान्तरणका लागि औचित्यपूर्ण एकता आवश्यक रहेको बताए । पश्चिमी शक्तिको उदय हुँदै गरेको अवस्थामा रहेकाले यसले परिवर्तनकारी शक्ति र वर्तमान व्यवस्थामा खतरा देखापरेको उनको भनाइ थियो ।

कार्यक्रममा मकवानपुरका प्रतिनिधि राजकुमार भेटवाल, ललितपुरका प्रतिनिधि शङ्कर अधिकारी, काठमाडौंका प्रतिनिधि सुरेश खड्गी, भक्तपुरकी प्रतिनिधि ललिता श्रेष्ठ, काभ्रेका उपाध्यक्ष राजीव लामा, ललितपुरका प्रतिनिधि राजु महर्जनलगायत बागमती प्रदेशका विभिन्न जिल्लाका प्रतिनिधिले समृद्धि हाम्रै पालामा भन्ने भनाइलाई सार्थक बनाउन आवश्यक रहेको बताए । यसका लागि विगतमा परिवर्तनका लागि राजनीतिक मोर्चामा क्रियाशील शक्तिहरू एकताबद्ध भएर अगाडि बढ्नुपर्ने, विचार, राजनीति र दृष्टिकोणलाई सार्थक बनाउँदै निराशालाई उत्साहमा बदल्न भाषणभन्दा काम गर्नुपर्ने अवस्थामा ध्रुवीकरण भएर राजनीतिक, आर्थिक तथा सामाजिक रुपान्तरणका लागि लाग्नुपर्ने बताए । 

उनीहरूले नयाँ शक्तिका नाममा खराब नियत भएका व्यक्तिहरू हावी हुँदा राजनीतिक व्यवस्था, संविधानको मूल मर्म र गणतन्त्रमाथि सङ्कट देखापरेको बताउँदै वामपन्थी शक्तिबीचको एकताका माध्यमबाट उपलब्धि हासिल गर्न लाग्नुपर्ने बताए । 

राजनीतिक दलका कार्यकर्ताहरूले सामाजिक गतिविधिमा क्रियाशील भएर सहिष्णुता, सद्भाव कायम गर्दै राजनीतिक लक्ष्य र उपलब्धि हासिलका लागि स्पष्ट लक्ष्यसहित लाग्नुपर्ने, पद प्राप्तिका लागि मात्रै राजनीतिमा लाग्नु नहुनेमा उनीहरूको जोड थियो । 

  • प्रकाशित मिति : वैशाख ८, २०८१ शनिबार १९:२८:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया