logo-img

छक्काको वर्षा भएको खेलमा दिल्लीविरुद्ध हैदराबाद विजयी, उक्लियो दोस्रो स्थानमा

सनराइजर्स हैदराबादले भारतमा जारी १७औँ सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) मा पाँचौं जित निकालेको छ । पाँचौं जित निकाल्नेक्रममा हैदराबादले गएराति सम्पन्न खेलमा दिल्ली क्यापिटल्सलाई ६७ रनले हरायो ।    

दिल्लीको अरुण जेट्ली स्टेडियममा भएको खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदराबादले २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ६६ रन बनायो । आइपिएल इतिहासमा यो चौथो ठूलो योगफल हो । हैदराबादले दिल्लीविरुद्ध पावर प्ले (सुरुवाती ६ ओभर) मा सर्वाधिक १ सय २५ रन बनाउँदै इतिहास रच्यो । 

उसका लागि ओपनर ट्रभिस हेड र अभिषेक शर्माले आक्रामक पारी खेले । हेडले ३२ बलमा ११ चौका र ६ छक्कासहित सर्वाधिक ८९ रन बनाए । अभिषेकले १२ बलमा २ चौका र ६ छक्काको मद्दतमा ४६ रनको पारी खेले । 

यस्तै, शाहबाज अहमदले २९ बलमा २ चौका र ५ छक्कासहित नटआउट ५९ रन जोडे । नितिश रेड्डीले २७ बलमा ३७ रनको योगदान दिए । दिल्लीका लागि कुलदीप यादवले चार, मुकेश कुमार र अक्षर पटेलले एक/एक विकेट लिए । २ सय ६७ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रेको दिल्ली १९ दशमलव १ ओभरमा १ सय ९९ रनमा अलआउट भयो ।  

उसका लागि जेक फ्रेजर-म्याकगुर्कले १८ बलमा पाँच चौका र सात छक्कासहित ६५ रनको आक्रामक इनिङ खेले पनि दिल्लीले हार टार्न सकेन । यस्तै, कप्तान ऋषभ पन्तले ४४, अभिषेक पोरेलले ४२ र पृथ्वी शाले १६ रन जोडे ।

हैदराबादका लागि टी नटराजनले चार, मयंक मार्कण्डे र नितिश रेड्डीले दुई/दुई विकेट लिए । यो जितपछि हैदराबाद अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।



उसले सात खेल खेल्दा पाँचमा जित र दुई खेलमा पराजय बेहोरेको छ । पराजित दिल्ली सातौं स्थानमा छ । उसले आठ खेल खेल्दा पाँचमा हार तथा तीन खेलमा मात्र जित निकालेको छ ।  



  • प्रकाशित मिति : वैशाख ९, २०८१ आइतबार ७:८:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया