logo-img

साल्पा सिलिचुङमा ‘सुम्निमा-पारुहाङ र नछुङ’ को प्रतिमा स्थापना

खोटाङको धार्मिक तथा पर्यटकीयस्थल साल्पा सिलिचुङमा किराँती पुर्खा ‘सुम्निमा-पारुहाङ र नछुङ (धामी) को प्रतिमा स्थापना गरिएको छ । खोटाङ, भोजपुर, सङ्खुवासभा र सोलुखुम्बुको सिमानामा रहेको सिचिलुङमा सुम्निमा र पारुहाङ तथा साल्पापोखरीमा नछुङको प्रतिमा स्थापना गरिएको हो । 

किरात समुदायको सांस्कृतिकस्थल मानिने साल्पा सिलिचुङमा देश/विदेशबाट सङ्कलित रकमबाट सुम्निमा पारुहाङ र नछुङको प्रतिमा निर्माण गरिएको आयोजक साल्पा सिलिचुङ सरोकार संरक्षण तथा प्रवर्द्धन केन्द्र अन्तर्राष्ट्रिय समितिले जनाएको छ ।

प्रतिमाको अनावरण निवर्तमान पर्यटनमन्त्री सुदन किरातीले गरेका हुन् । साल्पा सिलिचुङ किरातीको मुन्दुमी तथा सांस्कृतिकस्थल भएकाले संरक्षण र प्रवर्द्धन गर्न प्रतिमा स्थापना गरिएको समितिका अध्यक्ष राजेन खिम्बुले राईले बताए ।



प्रतिमा स्थापना कार्यक्रमका लागि यही वैशाख ५ गते सरोकारवाला साल्पा सिलिचुङ पुगेका थिए । मुन्दुम्विद् तथा धामी/झाँक्रीको टोलीले वैशाख ६ र ७ गते वृहत कार्यक्रम गरेर प्रतिमा स्थापना गरेका हुन् । साल्पा सिलिचुङको विकासका लागि तयार पारिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार साल्पा सिलिचुङ परिसरमा सुम्निमा-पारुहाङका साथै मुन्दुमी पात्रहरुको मूर्ति तथा प्रतिमा, वाबु (चिण्डो) आकारको मुन्दुमी गेट (प्रवेशद्वार), माङ्खिम तथा मुन्दुम सङ्ग्रहालय लगायतका भौतिक संरचना निर्माण गरिनेछ । 

‘सृष्टिको उत्पत्ति केन्द्र मुन्दुमको प्राण, साल्पा-सिलिचुङ संरक्षण हाम्रो अभियान’ भन्ने नाराका साथ सुरु गरिएको अभियानमा नेपालसहित बेलायत, हङकङ, कोरिया, अमेरिका, अस्ट्रेलिया, जापान, इजरायललगायत विश्वभर रहेका नेपाली जोडिएका छन् । 

यसअघि साल्पा-सिलिचुङको अध्ययन तथा अनुसन्धानका लागि अनुसन्धान समितिसमेत गठन गरिएको थियो । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्ताम्छाली, मुन्दुम अध्येताहरु चन्द्र हतुवाली, भोगिराज चाम्लिङ, सालिक शतासक राई र डा तारामणि राई उक्त अनुसन्धान समितिमा रहनुभएको छ । 



सिलिचुङको चुचुरो समुद्री सतहदेखि चार हजार एक सय ५५ मिटर उचाइमा छ । सिलिचुङ आसपासमा टेम्के, मैयुङ, लौरे, चिलिमढुङ्गा लगायतका पर्यटकीय डाँडा छन् । सिलिचुङको फेदमा साल्पा पोखरी छ । साल्पामा वैशाख, भदौ, कात्तिक र फागुपूर्णिमामा गरी वर्षमा चार पटक मेला लाग्ने गर्छ । 

साल्पा पोखरीको दर्शन गर्नाले बोली नफुट्नेले बोल्न सक्ने, सन्तान नहुनेलाई सन्तान प्राप्ति हुने, धामी तथा झाँक्रीले मुन्दुमी शक्ति प्राप्त गर्ने विश्वास छ । कचौरा आकारमा फैलिएको साल्पापोखरी समुद्री सतहदेखि तीन हजार ६ सय ७२ मिटरको उचाइमा छ । प्छिल्लो समय पदयात्राका लागि प्रसिद्ध गन्तव्य मुन्दुम पदमार्गमा साल्पा सिलिचुङसमेत समेटिएको छ । रासस 



  • प्रकाशित मिति : वैशाख ९, २०८१ आइतबार १४:१९:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया