logo-img

गणेशमान सिंह टी ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिता : कर्णाली प्रदेश विजयी

राजधानीमा जारी वीर गणेशमान सिंह टी ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा कर्णाली प्रदेशले मधेस प्रदेशलाई ६ विकेटले हराउँदै विजयी भएको छ ।  

मूलपानी क्रिकेट मैदानमा मधेस प्रदेशले प्रस्तुत गरेको एक सय २१ रनको लक्ष्य कर्णालीले १५ दशमलव ३ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो । कर्णालीका लागि विपिन रावलले सर्वाधिक ४१ रनको योगदान दिए । उनले ४० बलमा दुई चौका र दुई छक्का प्रहार गर्दै ४१ रन बनाएका हुन् । त्यसैगरी हिमान्शु शाहीले अविजित ३२ रन बनाउँदा विपीन शाहीले १७ तथा रवीन्द्र शाहीले १४ रन बनाए ।

बलिङतर्फ मधेस प्रदेशका प्रदीप पास्वान र अभिषेक तिवारीले समान दुई/दुई विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको मधेसले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै एक सय २० रनको योगफल बनाएको थियो । 



मधेसका लागि मायन यादवले सर्वाधिक ३९ रनको योगदान गरे । त्यस्तै विशाल पटेलले अविजित ३२ रन बनाए भने प्रदीप पास्वानले १८ तथा कप्तान राहुल मण्डलले ११ रन जोडे । 

कर्णालीका लागि युनिस ठकुरीले दुई तथा दीपेन्द्र रावत, दीनेश अधिकारी, प्रकाश जैसी र कप्तान दिवान पुनले समान एक/एक विकेट लिए । यस जितसँगै प्रतियोगितामा दोस्रो जित निकालेको कर्णालीले तीन खेलमा चार अंक बटुलेको छ । 

पराजित मधेसको भने चार खेलबाट दुई खेलमा जित हात पार्दै चार अंक जोडेको छ । आजै भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले कोशी प्रदेशलाई तीन रनले पराजित गर्दै विजयी भएको थियो ।





  • प्रकाशित मिति : वैशाख ९, २०८१ आइतबार १९:५८:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया