logo-img

रुसी सेनामा भर्ती भएकाहरूका आफन्तको दुखेसो- नेपालको कूटनीतिक पहल कमजोर भयो, उद्धार हुनै सकेन

रुसी सेनामा भर्ती भएका नेपालीका परिवारहरूले आफन्तको उद्धारको माग राख्दै सोमबार पनि सामूहिक अनसनलाई जारी राखेका छन् । शुक्रबारदेखि काठमाडौंको माइतीघरमा रुसी सेनामा भर्ती भएका आफन्तहरूको उद्धारको माग गरी अनशन बस्दै आएका उनीहरूले सोमबार पनि बालुवाटारस्थित रुसी राजदूतावास कार्यालय अगाडि अनशन बसेर उद्धारका लागि दबाब बढाएका हुन् ।

उनीहरूले  सेनामा भर्ती भएकाहरूको उद्धार, रुसी सेनामा रहेका नेपालीको तथ्याङ्क सार्वजनिक, युद्धमा घाइते नेपालीको उचित उपचार, युक्रेनको कब्जामा रहेका पाँच नेपालीको उद्धार, मृतकको शव ल्याउन र क्षतिपूर्तिसहित रुसी सेनाबाट प्राप्त गर्ने सबै खाले सेवा सुविधा नेपाल ल्याउन व्यवस्थालगायतका विभिन्न १३ बुँदे माग राखेका छन् । 

चार दिनदेखि आमरण अनसनमा बसेकी पीडित कृतु भण्डारीले आफूहरू अनशन बसेको चार दिन भइ सक्दा पनि सरकारले बेवास्ता गरेको बताइन् । उनले भनिन्,‘आजभन्दा चार दिन अगाडिदेखि हामी आमरण अनशनमा छौं । म लगायत तीन जना अनशनमा छौँ । अन्य पनि रिले अनसनमा हुनुहुन्छ । आज चौथो दिनसम्म कसैले प्रतिक्रिया दिइएको छैन । सरकारले यो सूचना पाएको छ वा छैन थाहा छैन । तर हामीमाथि पूरै बेवास्ता भएको छ ।’



उनले युद्धग्रस्त क्षेत्रमा अवसरको खोजी गरेर गएका नेपालीहरूको उद्धार तथा जीवन रक्षा गर्नु सरकारका दायित्व रहेको भन्दै आफूहरूको माग सम्बोधनको लागि आग्रह गरिन । 

‘नेपालमा बस्ने वातावरण सृजना नहुँदा हाम्रा आफन्तले युद्धग्रस्त क्षेत्र रोज्न बाध्य भएका हुन् । जसरी गएको भए तापनि उहाँहरू नेपाली नागरिक हुनुहुन्छ । उहाँहरूको जीवन रक्षा गर्ने सरकारको न्यूनतम् दायित्व हो । सरकारले उद्धार, मृतकको शव नेपाल ल्याइदिनुपर्‍यो । युद्धमा घाइते नेपालीको उचित उपचार हुनुपर्‍यो भन्ने अपिल गर्छु,’ उनले भनिन् । 



त्यस्तै आमरण अनसनमा रहेकी अर्की पीडित चिरानी घर्तीको पनि गुनासो उस्तै छ ।  अनशन बसेको चार दिनसम्म पनि सबै निकायलाई जानकारी भएको तर कतैबाट सुनुवाइ नभएको उनी बताउँछिन् । उनले माग पुरा नभएसम्म सडकमै बस्ने जिकिर गरिन् । 



उनले भनिन्,‘अनशन बसेको चार दिन भयो हरेक निकायमा धाइसक्यौ तर हाम्रो कुरा कसैले सुनेको जस्तो लागेन । हाम्रो माग पूरा नभएसम्म हामी सडकमै बस्छौँ । हाम्रा नेपालीलाई फर्काउनु पर्‍यो सरकारलाई यही भन्न चाहन्छु ।’

त्यसै गरी अर्का पीडित कपिल रुम्बाले नेपालको कूटनीतिक पहल नै कमजोर रहेको आशङ्का व्यक्त गरे । सबै ठाउँमा निवेदन दिएको र प्रभावकारी रूपमा कसैले पनि माग सम्बोधन गर्न अगाडि नबढाएको उनले बताए । 

उनले भने,‘परराष्ट्रदेखि सबै ठाउँमा निवेदन दिएको छौँ । खासै प्रभावकारी रूपमा उहाँहरू अगाडि बढेको जस्तो लागेन । कूटनीतिक पहल नै कमजोर जस्तो लाग्यो ।’ 

आन्दोलनकारीले विगत दुई महिनादेखि आवाज उठाउँदै आइरहेका छन् ।

  • प्रकाशित मिति : वैशाख १०, २०८१ साेमबार १४:१७:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया