logo-img

संयुक्त राष्ट्रसंघका सहायक महासचिवसहित ३५ देशका प्रतिनिधि नेपाल आउँदै

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)को एसिया प्यासिफिक क्षेत्रका ३५ देशका आवासीय प्रतिनिधि नेपाल आउने भएका छन् । अर्थमन्त्री वर्षमान पुनको सचिवालयले दिएको जानकारीअनुसार उनीहरु यही वैशाख १७ गते काठमाडौं आइपुग्नेछन् । 

युएनडिपीका तर्फबाट नेपालका लागि आवासीय प्रतिनिधि आयशानी मेडागांगाेडा लाबेले आज अर्थमन्त्री वर्षमान पुनसँगको शिष्टाचार भेटमा उक्त भ्रमणबारे जानकारी गराएका हुन् । 

युएनडिपीको एसिया प्रशान्त क्षेत्रको बैठकका लागि उनीहरु काठमाडौं आउन लागेका हुन् । बैठकका लागि संयुक्त राष्ट्रसंघकी सहायक महासचिव एवं युएनडिपीकी एसिया प्रशान्त क्षेत्रका लागि क्षेत्रीय निर्देशक कन्नी विग्नाराजा पनि नेपाल आउनेछिन् । 



त्यस क्रममा विग्नाराजाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, अर्थमन्त्री वर्षमान पुन र ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतलगायतसँग शिष्टाचार भेट गर्ने जनाइएको छ । 

यस्तै, विग्नाराजासहितको टोलीले सोलुखुम्बु क्षेत्रको भ्रमणमा गर्नेछ । त्यहाँ इम्जा ताल निरीक्षण गर्ने कार्यक्रम छ । युएनडिपीले इम्जामा हिमताल फुट्न सक्ने सम्भावनालाई दृष्टिगत गर्दै उक्त जोखिम घटाएको थियो । 

तालभन्दा तल्लो भेगमा रहेका बस्तीको सुरक्षाका लागि युएनडिपीले तालभित्र जमेको हिउँ बाहिर निकालेर तालको गहिराइ बढाएको थियो । यस्तै, युएनडिपीले दोलखाको उत्तरी क्षेत्रस्थित रोल्वालिङ उपत्यकामा रहेको नेपालको सबैभन्दा ठूलो हिमताल च्छोरोल्पाको फुट्न सक्ने जोखिम पनि घटाएको थियो । 



आगामी दिनमा त्यस्तै जोखिममा रहेकामध्ये सुनकोशी बेसिनका तीन र गण्डकी बेसिनका एक तालको जोखिम घटाउने योजना रहेको लाबेले बताए । 

भेटमा लाबेले युएनडिपीले नेपालको गरिबी निवारण तथा स्वास्थ्य क्षेत्रमा गरिरहेको कामबारे स्मरण गर्दै ‘ग्लोबल ग्रिन क्लाइमेट फन्ड’को कार्यक्रम नेपालमा लागू गर्न लागेको जानकारी दिए । 



  • प्रकाशित मिति : वैशाख १०, २०८१ साेमबार २०:३४:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया