logo-img

जैसवालको शतकमा राजस्थान विजयी, मुम्बईको प्लेअफ सम्भावना कठिन

भारतमा जारी १७औँ संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले सातौं जित निकालेको छ । सातौं जित निकाल्नेक्रममा गएराति सम्पन्न खेलमा राजस्थानले मुम्बई इण्डियन्सलाई ९ विकेटले हरायो ।

आफ्नो आठौँ खेलमा मुम्बईले दिएको १ सय ७९ रनको लक्ष्य मुम्बईले १८.४ ओभरमा एक विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि ओपनिङ ब्याटर यशस्वी जैसवालले शतकीय पारी खेले ।



६० बलको सामना गरेका जैसवालले ९ चौका र ७ छक्कासहित अविजित १ सय ४ रनको पारी खेलेका हुन् । आइपिएलमा उनको यो दोस्रो शतक हो । यस्तै, कप्तान सञ्जु सामसनले २८ बलमा दुई चौका र दुई छक्कासहित अविजित ३८ रनको योगदान दिए । ओपनिङ ब्याटर जोस बटलरले २५ बलमा ६ चौकासहित ३५ रन जोडे । 

मुम्बईका लागि पियुष चावलाले मात्र एक विकेट लिन सके । त्यसअघि जयपुरस्थित सवाई मानसिंह स्टेडियममा टस जितेर ब्याटिङ रोजेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ७९ रन बनायो ।



उसका लागि तिलक वर्माले अर्धशतकीय पारी खेले । ४५ बल खेलेका उनले पाँच चौका र तीन छक्कासहित सर्वाधिक ६५ रन बनाए । यस्तै, नेहाल बढेराले ४९, मोहम्मद नाबीले २३ सूर्यकुमार यादव र कप्तान हार्दिक पाण्ड्याले १०/१० रन जोडे ।  

राजस्थानका लागि तीव्र गतिका बलर सन्दीप शर्माले ४ ओभरमा १८ रन खर्चेर पाँच विकेट लिए । उनी यस खेलमा प्लेयर अफ द म्याच चुनिए । यस्तै, ट्रेन्ट बोल्टले दुई, आवेश खान र युजभेन्द्र चहलले एक/एक विकेट लिए । योसँगै चहलले आइपिएलमा २ सय विकेट पूरा गरेका छन् । उनी आइपिएलमा २ सय विकेट पूरा गर्ने पहिलो बलर हुन् ।  



यो जितपछि राजस्थान १४ अंकसहित तालिकाको शीर्ष स्थानमा कायमै छ । यो जितपछि राजस्थान प्लेअफमा पुग्ने पक्काजस्तै भएको छ । सम्भावना नजिक पुगेको छ । आइपिएल प्लेअफमा पुग्नका लागि टोलीलाई १६ अंक चाहिन्छ । राजस्थान अब त्यसबाट दुई अंक मात्र टाढा छ । अब प्लेअफको यात्रा पक्का गर्न उसलाई एक खेलमा जित निकाले पुग्छ ।

८ खेलमा पाँचौं हार बेहोरेको मुम्बईको प्लेअफ यात्रा भने निकै कठिन बनेको छ । मुम्बई अहिले ६ अंकसहित तालिकाको सातौं स्थानमा छ । प्लेअफमा पुग्ने हो भने उसले अब ६ मध्ये ५ खेलमा जित्नैपर्ने समीकरण बनेको छ । 

  • प्रकाशित मिति : वैशाख ११, २०८१ मंगलबार ७:५९:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया