logo-img

बागलुङमा ३८ वनमा आगलागी : १५ वनको आगो नियन्त्रण बाहिर

बागलुङको बरेङ गाउँपालिका–२ को सल्लेरी सामुदायिक वनमा गत ९ फागुनमा भीषण आगलागी भयो । सो आगलागी गाउँले र प्रहरीको सक्रियतामा दुईपछि नियन्त्रणमा आयो । त्यसभन्दा अगाडि जिल्लाको कुनै पनि वनमा आगलागी भएको थिएन ।

त्यसयता गलकोट नगरपालिकाका एक दर्जन वनमा आगो सल्कियो । एक सातापछि उक्त आगो नियन्त्रणमा आयो । त्यसलगत्तै ताराखोला, ढोरपाटन र निसीखोला गाउँपालिकाको दुई दर्जन बढी वनमा आगलागी भइसकेको छ । दिनप्रति दिन आगलागी हुँदै गएपछि थुप्रै वन जङ्गल रित्तिएका छन् । आगलागीले वन्यजन्तु तितरवितर बनेका छन् ।

आगलागीका कारण हालसम्म मानवीय क्षति भने भएको छैन । करिब एक दर्जन गोठ र पशुचौपाया जलेको डिभिजन वन कार्यालय बागलुङले जनाएको छ । फागुनदेखि हालसम्म ३८ वटा सामुदायिक वनमा आगलागी भएको डिभिजन वन कार्यालय बागलुङकी सूचना अधिकारी लक्ष्मी केसीले जानकारी दिए ।



उनका अनुसार निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिकामा लागेको आगो अहिले पनि नियन्त्रण बाहिर छ । आगो नियन्त्रणका लागि कर्मचारीसहित स्थानीय खटिएको केसीको भनाइ छ । अहिले १५ वटा सामुदायिक वनमा लागेको आगो नियन्त्रण बाहिर रहेको उनले जानकारी दिए ।  

हालसम्म एक हजार दुई सय हेक्टरभन्दा बढी जङ्गलमा आगलागी भएको केसी बताउँछन् । ‘नागरिकको लापरबाहीका कारण धेरै वनमा आगलागी भएको हो, आगलागी हुनबाट रोक्नका लागि हामीहरूले जनचेतनामूलक कार्यक्रम गर्ने र नागरिकलाई सचेत बनाउनका लागि विभिन्न सञ्चारमाध्यमबाट सूचना प्रवाह गरिरहेका छौँ, वनमा आगो लगाउने केही व्यक्तिलाई नियन्त्रणमा लिएर कारबाहीको प्रक्रिया पनि अगाडि बढाएका छौँ, आगोले ठूलो क्षेत्रफलमा फैलिएको वनमा क्षति पु¥याएको छ,’ उनले भने । 

चार दिनदेखि निसीखोला गाउँपालिका–२ मा लागेको आगो अहिले नियन्त्रणमा लिन सकिएको छैन । उपल्लोबेङ्ग्रीदेखि सुरु भएको आगो वडा नं ४ को माझापाख हुँदै बडाचौरको बराह सामुदायिक वनमा फैलिएको छ । 



हावाहुरीका कारण आगो अझै नियन्त्रणमा ल्याउन नसकेको निसीखोला गाउँपालिका–४ का अध्यक्ष टीकानिधी पौडेलले बताए । आगो नियन्त्रणका लागि गाउँले नै लागे पनि असफल भएको उनको भनाइ छ । वडा न २ को शान्ति सामुदायिक वनबाट सुरु भएको आगो धेरै ठूलो क्षेत्रफलमा फैलिएको अध्यक्ष पौडेल बताउँछन् ।

आगो नियन्त्रणका लागि गाउँगाउँबाट ठूलो सङ्ख्यामा स्थानीय वनमा पुगे पनि हावाहुरीले गर्दा नियन्त्रण गर्न नसकेको स्थानीय रामबहादुर घर्तीले बताए । शुक्रबार साँझदेखि नै आफूहरू सुरक्षित भएर स्याउलाका भरमा आगो निभाउने प्रयास गरेको उनको भनाइ छ । 



सडकभन्दा निकै टाढाको वनमा आगलागी हुँदा दमकलको प्रयोगसमेत गर्न नसकिएको घर्ती बताउँछन् । आफूहरू रातभर जागराम बसेर आगो नियन्त्रणमा लागेको उनले बताए । रासस 

  • प्रकाशित मिति : वैशाख ११, २०८१ मंगलबार १३:१:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया