logo-img

निजी क्षेत्रलाई नियन्त्रण होइन, सहजीकरण गरौँ : प्रधानमन्त्री दाहाल
फाइल तस्बिर

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजी क्षेत्रलाई विश्वासमा लिएर देशमा लगानीमैत्री वातावरण छ भनेर सन्देश प्रवाह गर्नुपर्ने बताएका छन् ।

नयाँ वानेश्वरस्थित लगानी बोर्डको कार्यालयमा आज बसेको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले विकास र समृद्धिका लागि निजी क्षेत्रलाई नियन्त्रण गर्ने नभइ सहजीकरण गर्नुपर्ने बताए । 

‘निजी क्षेत्रलाई विश्वासमा लिएर विकासको नयाँ मोडेल तयार पार्नुछ’, प्रधानमन्त्री दाहालले भने, ‘निजी क्षेत्रलाई विश्वासमा नलिएसम्म विकास हुँदैन, ⁠त्यसैले निजी क्षेत्रलाई नियन्त्रण होइन, सहजीकरण गरौँ ।’ 



आजको विश्वमा ⁠विकासलाई नियन्त्रण गर्ने सोच ग्राह्य नहुने बताउँदै प्रधानमन्त्री दाहालले विकासलाई प्रोत्साहन गर्ने नीति लिँदा मात्र जनताको चाहनालाई सम्बोधन गर्न सकिने भएकाले त्यसतर्फ लाग्न निर्देशन दिए । 

लगानी सम्मेलनलाई सफल तुल्याउनका लागि सबैले सकारात्मक भावमा काम गर्नुपर्ने बताउँदै प्रधानमन्त्री दाहालले लगानी सम्मेलनमा ‘इच्छा सूची’ प्रस्तुत गर्नेभन्दा पनि ठोस र व्यावहारिक परियोजना प्रस्तुत गर्नुपर्ने बताए । 

‘लगानी सम्मेलनमा ‘विस लिष्ट’ होइन ठोस र व्यवहारिक परियोजना प्रस्तुत गरौँ’, प्रधानमन्त्री दाहालले भने, ‘⁠सम्मेलनअघि ऐन संशोधन गरेका छौँ, त्यसले लगानी बढाउन मद्दत गर्नेछ, त्यसैले पनि ठोस र व्यवहारिक योजनाहरू दिनुपर्छ, ⁠नयाँ सन्देश दिनेगरी सम्मेलन गरौँ ।’ 



विकास परियोजनाको कामलाई सरलीकृत गर्नुपर्ने बताउँदै प्रधानमन्त्री दाहालले ⁠केही राम्रो गर्न खोज्दा अप्ठ्यारा आए पनि त्यस्ता परिस्थितिलाई राजनीतिक नेतृत्वले तोड्न सक्नुपर्ने बताए । 

नेपालमा स्टिल उद्योगलाई प्राथमिकता दिनुपर्ने बताउँदै प्रधानमन्त्री दाहालले त्यस्ता उद्योग स्थापनका लागि गम्भीर भएर काम गर्नुपर्नेमा जोड दिए । उनले ⁠कृषिमा रोजगारी सिर्जना गर्नका लागि सिँचाइलाई प्राथमिकता दिन र ⁠विकासका काम रोकिएका भए अघि बढाउन पनि निर्देशन दिए ।  



  • प्रकाशित मिति : वैशाख ११, २०८१ मंगलबार १३:२७:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया