logo-img

काठमाडौंका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन
फाइल तस्बिर

काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयको सौन्दर्यीकरण तथा विद्यार्थीलाई शिक्षण सिकाइप्रति थप उत्प्रेरित गर्न स्वयंसेवक परिचालन गरेको छ । 

सामुदायिक विद्यालयमा सरसफाइ, हरियाली, कलात्मक र आकर्षक वातावरण बनाउनका साथै विद्यार्थीलाई शिक्षण सिकाइप्रति थप उत्प्रेरित गर्ने उद्देश्यले स्वयंसेवक परिचालन गरिएको महानगर शिक्षा विभागका निमित्त प्रमुख सरस्वती पोखरेलले जानकारी दिए । 

महानगरले सार्वजनिक सूचनामार्फत सङ्कलन गरिएका आवेदकमध्ये १ सय ४५ जना स्वयंसेवक छनोट गरेर सामुदायिक विद्यालयमा परिचालन गरिएका पोखरेलले बताए । 



स्वयंसेवकमध्ये ४५ जनालाई युवा र बालबालिका (सम्पदा) कार्यक्रम तथा एक सय जनालाई वातावरण र बालबालिका (बाबा) कार्यक्रमका लागि परिचालन गरिएका छन् । 

पोखरेलका अनुसार महानगरपालिकाभित्रका ८९ सामुदायिक विद्यालयमा छ महिनाका लागि स्वयंसेवक परिचालन गरिएका छन् । स्वयंसेवकले हरेक हप्ताको दुई दिन (बिहीबार र शुक्रबार) विद्यालयमा समय दिनुपर्ने र शिक्षक तथा विद्यार्थीसँग सहकार्य गरी ‘सुन्दर विद्यालय’ कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्नेछ । 

त्यसैगरी हरेक बिहीबार सम्पर्क शिक्षकसँगको समन्वयमा शुक्रबार विद्यालयमा सञ्चालन गरिने कार्यक्रमको कार्ययोजना बनाउने र तिनलाई कार्यान्वयन गर्ने, विद्यालय हाता, कक्षाकोठा, बगैँचा, शौचालयको सरसफाइका लागि अगुवाइ र फोहरको वर्गीकरण अभ्यासलाई संस्थागत गर्नेलगायत काममा स्वयंसेवकबाट योगदान हुने महानगरपालिकाले अपेक्षा गरेको छ । उनीहरूलाई महानगर स्वर्णिम योजना ‘स्मार्ट टोल’ कार्यक्रममासमेत सहभागी गराउन सकिने पोखरेलको भनाइ छ ।  



महानगरपालिले स्वयंसेवकका लागि निश्चित आचारसंहिता पनि बनाइदिएको छ । आचारसंहिताको पालनाले बालबालिकाका अधिकार, विद्यार्थीहरूका व्यक्तिगत गोपनीयताबारे सचेत रहँदै शिक्षण सिकाइप्रति उत्प्रेरित गर्न तथा विद्यार्थीमाथि हुनसक्ने हिंसाबारे सचेतना बढाउनसमेत सघाउ पुग्ने अपेक्षा गरिएको छ ।    



  • प्रकाशित मिति : वैशाख ११, २०८१ मंगलबार १४:२६:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया