logo-img

विभागीय कारबाहीमा परी बर्खास्त कर्मचारी स्वास्थ्यमन्त्रीको जोडबलमा पुनः काममा फर्काइए

नक्कली पिसिआर रिपोर्ट बनाएर बेचेको आरोपमा जागिरबाट निकालिएका गंगालाल हृदय केन्द्रका वरिष्ठ ल्याब टेक्नोलोजिष्ट तथा ल्याब इन्चार्ज इञ्चार्ज विनोदकुमार यादवलाई गंगालाल व्यवस्थापनले दुई वर्षपछि पुनः जागिरमा फर्काएको छ ।

गंगालालको सञ्चालक समितिको २० चैतको बैठकले यादवलाई जागिरमा फर्काउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार गंगालालका कार्यकारी निर्देशक डा. रवि मल्लले २ वैशाखबाटै हाजिर हुने गरी २ वैशाखमै पत्र पठाएका छन् । सञ्चालकको समितिको निर्णयमा पनि उनलाई २ वैशाखबाटै केन्द्रको काममा फर्काउने निर्णय भएको थियो ।

पहिलो कार्यकालमा कर्मचारीबाट आउने गुनासा र मन्त्रालयका समस्या सुल्झाउनभन्दा पन्छाउने, तर कर्मचारी नियुक्तिमा रुचि राख्ने मन्त्रीको छवि बनाएका उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले पुनः सोही प्रवृत्ति दोहोर्याएका छन् । मन्त्रालयको जिम्मेवारी सम्हालेको दुई महिना नपुग्दै मन्त्री यादव आफ्ना मान्छेलाई जागिर खुवाउन तल्लीन देखिन थालेका छन् ।



कोभिड महामारीको समयमा नक्कली पिसिआर रिपोर्ट बनाएको, त्रिवि शिक्षण अस्पताल र गंगालालको नक्कली लेटरप्याड बनाएर रिपोर्ट दिने गरेको, परीक्षण नै नगरी रिपोर्ट बेचेको र पोजेटिभ रिपोर्ट दुई हजार रुपैयाँ लिएर नेगेटिभ बनाएर दिएकोलगायत विषयमा छानबिनमा परेर कारबाहीस्वरूप जागिरबाट निकालिएका तत्कालीन समयका गंगालाल हृदयरोग उपचार  केन्द्रका वरिष्ठ ल्याब टेक्नोलोजिष्ट तथा ल्याब इन्चार्ज विनोदकुमार यादवलाई स्वास्थ्यमन्त्री यादवको जोडबलमा पुनः काममा फर्काइएको पाइएको छ ।

केन्द्रको सञ्चालक समितिका अध्यक्षसमेत रहेका स्वास्थ्यमन्त्री यादवको जोडबलमा विभागीय कारबाहीमा परी जागिरबाट बर्खास्त गरिएका यादवलाई दुई वर्षपछि पुनः केन्द्रको सोही ल्याब टेक्नोलोजिस्टको जिम्मेवारीमा फर्काइएको हो । 



केन्द्रका निर्देशक डा. मल्लद्वारा यादवलाई काममा बोलाइएको पत्रमा भनिएको छ, ‘उपरोक्त सम्बन्धमा यस केन्द्रमा वरिष्ठ ल्याब टेक्नोलोजिस्ट पदमा कार्यरत तपाईं विनोदकुमार यादवलाई मिति २०८०/१२/२० गते बसेको केन्द्र सञ्चालक समितिको बैठकको निर्णयानुसार मिति २०८१/०१/०२ गतेदेखि केन्द्रमा हाजिर हुनको लागि यसै पत्रमार्फत जानकारी गराउँदछु ।’



उनले गलत काम गरेको सूचना बाहिरिएपछि केन्द्रले विभागीय छानबिन समिति बनाएको थियो । उक्त छानबिन समितिले यादवले गल्ती नै गरेको भन्दै कारबाहीको सिफारिस गरेको थियो । त्यसपछि उनलाई विशेष अदालतमा भ्रष्टाचारको मुद्दासमेत दायर गरिएको थियो तर, हाल उनले उक्त मुद्दाबाट सफाइ पाइसकेका छन् ।

छानबिन समितिले केन्द्रको कर्मचारी सेवा सुविधासम्बन्धी नियमावलीको दफा १३.५ को (छ) र (ट)मा भएको व्यवस्थाअनुसार विनोदकुमारलाई बर्खास्त गर्न सिफारिस गरेको थियो । उक्त दफाको उपदफा (छ) जानीजानी लापरबाही वा हेलचेक्र्याइँ तरिकाबाट गरेको कामको परिणामस्वरूप बिरामीको स्वास्थ्यमा गम्भीर असर पुगेमा वा मृत्यु भएमा र उपदफा (ट)मा केन्द्रको हितविपरीत कुनै संस्था वा व्यक्तिसँग अवाञ्छित सम्पर्क कायम गरी आफ्नो ओहदाको मर्यादाविपरीत गैरजिम्मेवारी पूर्ण काम गरेमा भविष्यमा केन्द्रको सेवाबाट अयोग्य नठहरिने गरी बर्खास्त गर्न सक्ने व्यवस्था छ ।

गंगालाल स्रोतका अनुसार अहिले उनलाई स्वास्थ्यमन्त्री यादवको जोडबलमा काममा फर्काइएको हो । केन्द्रका एक कर्मचारीले भने, ‘हुन त उहाँले अदालतबाट पनि सफाइ पाइसकेको अवस्था छ । तर, यसपटक पुनः सोही जिम्मेवारीमा भने मन्त्री यादवकै जोडबलमा पुनः उही जिम्मेवारीमा फर्काइएको हो ।’

यता, गंगालाल अस्पतालका सूचना अधिकारी सुदीपचन्द्र दाहालले भने जागिरबाट बर्खास्त गर्दा बोर्डकै निर्णयका आधारमा गरिएको र पुनः बहाली पनि बोर्डकै निर्णयका आधारमा गरिएको जनाएका छन् । ‘पहिले उहाँलाई जागिरबाट बर्खास्त गर्ने निर्णय पनि बोर्डले नै गरेको हो । अहिले पनि बोर्डकै निर्णयका आधारमा पुनः हाजिर गर्न बोलाइएको हो,’ उनले भने । 

स्वास्थ्यमन्त्रीका रूपमा दोस्रो कार्यकाल सुरु गरेका यादवका हरेक कदमलाई जनताले नजिकबाट नियालिरहेको भए पनि उनमा भने कुनै फरकपनको आभास हुँदैन । आफ्नालाई नियुक्त गर्ने पुरानै प्रचलन दोहोर्याएको देख्दा उनीबाट केही आस गर्नु व्यर्थ हुनेसमेत अड्कल काट्न थालिएको छ । 

०७५ जेठमा तत्कालीन केपी ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री नियुक्त भएका यादव अहिले सोही हैसियतमा मन्त्रालयमा छन् । करिब डेढ वर्ष मन्त्रालय चलाएका उनी (४ मंसिर २०७६) मा ‘असफल मन्त्री’को ट्याग भिर्दै बाहिरिएका थिए । 

उनको आलोचना त्यत्तिमै सीमित रहेन । देशमा डेंगुले महामारीको रूप लिइँरहँदा उनी विदेश सयरमा व्यस्त थिए । तत्कालीन डेढ वर्षको अवधिमा उनले डेढ दर्जनभन्दा बढी वैदेशिक भ्रमणमा गरेका थिए । कर्मचारी समायोजन, नीति निर्माणका सबै काम छाडेर वैदेशिक यात्रामा निस्किएको सम्बन्धित सबैको गुनासो थियो । पहिलो कार्यकालमा सुखद् छाप नछाडेका धेरै कारणले गर्दा पनि हिजाआज मन्त्री यादव धेरैको निगरानीमा रहने त भइहाले । 

  • प्रकाशित मिति : वैशाख ११, २०८१ मंगलबार १९:१३:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया