logo-img

रोमाञ्चक मोडमा आइपिएल प्लेअफ दौड, कुन टिमको सम्भावना कति ?
चार टिमको यात्रा कठिन

भारतमा जारी १७औँ सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) को आधाभन्दा बढी खेल सकिसकेका छन् । लिगको ३९ खेल सकिँदा शीर्ष चार अर्थात् प्लेअफ दौडका लागि रोमाञ्चक प्रतिस्पर्धा देखिएको छ ।

अहिलेको अवस्थामा सन् २००८ को आइपिएल विजेता राजस्थानको प्लेअफ सम्भावना लगभग सुरक्षित भइसकेको छ । उसले आठ खेल खेल्दा सातमा जित र एक खेलमा मात्र पराजय बेहोरेको छ ।

राजस्थान अहिले १४ अंकका साथ तालिकाको शीर्ष स्थानमा विराजमान छ । प्लेअफ यात्रा पक्का गर्न उसलाई अब एक जितको खाँचो छ । राजस्थानले अझैं ६ खेल खेल्न बाँकी छ । 

३९ खेलको समाप्तिमा तालिकाको दोस्रो स्थानमा दुई पटकको च्याम्पियन कोलकाता नाइट राइडर्स रहेको छ । उसले सात म्याच खेल्दा पाँचमा जित र दुई खेलमा हारको सामना गरेको छ । राम्रो लयमा रहेको कोलकाता अहिले १० अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । उसले अब प्लेअफको टिकट सुरक्षित गर्न सातमध्ये तीनमा जित निकाले काफी हुन्छ ।

यस्तै, अहिले अंक तालिकाको तेस्रो स्थानमा सानदार लयमा रहेको सनराइनर्स हैदराबाद रहेको छ । गत सिजनमा पुछारमा रहेको हैदराबादले आइपिएल २०२४ मा भने सात खेलमा प्रतिस्पर्धा गर्दा पाँचमा जित र दुई खेलमा मात्र हारको सामना गरेको छ । सन् २०१६ को च्याम्पियन हैदराबादले पनि जारी संस्करणको प्लेअफ यात्रा पक्का गर्न सातमध्ये तीन खेल जित्नुपर्ने समीकरण बनेको छ । 



त्यस्तै, आइपिएल २०२४ मा लखनउ सुपर जायन्ट्सले पनि १० अंक जोडिसकेको छ । आठ खेल खेल्दा उसले पाँचमा जित र तीन खेलमा हार बेहोरेको छ । प्लेअफमा पुग्न अब लखनउले ६ मध्ये तीन खेलमा जित निकाल्नुपर्ने हुन्छ ।



मंगलबार राति लखनउसँग ६ विकेटले पराजित भएपछि पाँच पटकको आइपिएल विजेता चेन्नई सुपर किंग्स पाँचौं स्थानमा झरेको छ । उसले अहिलेसम्म आठ खेल खेल्दा चारमा जित र चार खेलमा हार बेहोरेको छ । प्लेअफमा स्थान बनाउन चेन्नईले ६ मध्ये चार खेलमा जित निकाल्नैपर्ने समीकरण बनेको छ । पछिल्लो लगातार दुई हारले चेन्नईलाई केही धक्का लागेको छ । 

गुजरात टाइटन्सको प्लेअफ सम्भावना पनि कायमै छ । एकपटकको आइपिएल च्याम्पियन गुजरातले पनि आठमध्ये चारमा जित र चार खेलमा हारको सामना गरेको छ । प्लेअफमा स्थान बनाउने हो भने उसले बाँकी ६ मध्ये कम्तीमा चार खेलमा जित निकाल्नैपर्ने समीकरण बनेको छ । अहिले ऊ ८ अंकका साथ तालिकाको छैटौँ स्थानमा छ । 

सातौं स्थानमा रहेको पाँच पटकको आइपिएल विजेता मुम्बई इण्डियन्सको प्लेअफ यात्रा भने कठिन छ । उसले आठ खेल खेलिसक्दा पाँचमा हार तथा तीन खेलमा मात्र जित निकालेको छ । अहिलेसम्म ६ अंक मात्र जोडेको मुम्बईले अन्तिम चारमा स्थान बनाउने हो भने अब ६ मध्ये पाँच खेलमा जित निकाल्नुको अर्को विकल्प छैन ।

आठौँ स्थानमा रहेको दिल्ली क्यापिटल्सको हालत पनि मुम्बईकै जस्तो छ । उसले पनि आठ खेल खेल्दा पाँचमा हार तथा तीन खेलमा मात्र जित दर्ता गरेको छ । १७ वर्षदेखि उपाधिका लागि तड्पिरहेको दिल्लीको तिर्खा यसपटक पनि मेटिने सम्भावना न्यून छ । 

अर्को उपाधिविहीन पञ्जाब किंग्सको हालत झन् खराब छ । ८ म्याच खेलिसक्दा उसले ६ मा हार बेहोर्दा केवल दुई खेलमा मात्र जित हात पारेको छ । प्लेअफ यात्रा गर्ने हो भने उसलाई बाँकी ६ वटै खेलमा जित निकाल्नुपर्ने बाध्यता छ ।

स्टार खेलाडीले भरिपूर्ण रोयल च्यालेन्जर्स बेंगलुरुको हालत जारी सिजनमा कल्पना गरेभन्दा पनि बेहाल छ । प्लेअफ दौडबाट निकै टाढा रहेको बेंगलुरुले ८ म्याच खेल्दा सातमा हार र एक खेलमा मात्र जित निकालेको छ ।

१७ बर्से आइपिएल इतिहासमा तीनपटक फाइनल पुग्दा पनि उपाधि जित्न चुकेको बेंगलुरुको सपना यसपटक पनि चकनाचुर भएको छ ।     

  • प्रकाशित मिति : वैशाख १२, २०८१ बुधबार १४:४८:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया