logo-img

गर्मीमा देखिन सक्छन् यस्ता संक्रामक रोग, बच्ने कसरी ? (भिडियोसहित)

जाडो मौसमको तुलनामा गर्मीयाममा संक्रामक रोगले बढी सताइएको पाइन्छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)का अनुसार नेपालमा गर्मी, प्रि–मनसुन र मनसुनमा मलेरिया, कालाजार, डेंगु, एक्युट ग्यास्ट्रोएन्टेराइटिस, हैजा र सिभियर एक्युट रेस्पिरेटरी इन्फेक्सन र अन्य महामारीको सम्भावित रोगमा आन्द्राको ज्वरो, लेप्टोस्पाइरोसिस, हाइड्रोफोबिया, चिकुनगुनियाजस्ता रोग देखिने गर्दछन् ।

गर्मी मौसममा विशेषगरी, झाडापखाला, जण्डिस, टाइफाइड, फुड पोइजनिङलगायत संक्रामक रोगको जोखिम बढी हुने सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् । यी समस्या बर्सेनि देखिने भएकाले डा. पुन यसलाई मौसमी संक्रामक रोग पनि भन्न रुचाउँछन् ।

डा. पुनका अनुसार गर्मी मौसममा फैलिने अधिकांश रोग पेटसँग सम्बन्धित हुन्छन् । जुन पानी, खाना र सरसफाइका कारण फैलिने गर्दछन् । नेपालमा गर्मी सुरु भइसकेकाले पनि अब संक्रामणजन्य रोगका बिरामी पनि बढ्ने उनको आकलन छ ।



गर्मी मौसममा संक्रामणजन्य रोगबाट जोगिन सावधानी अपनाउनपर्ने डा. पुनको सुझाव छ । डा. पुन भन्छन्, ‘यो समयमा बाहिरी खाना खाँदा रोगको जोखिम बढी हुन्छ । गर्मीयाममा लाग्ने रोग खाना र पानीसँग सम्बन्धित हुन्छ । गर्मीमा मान्छेलाई प्यास बढी लाग्छ । पानी खाँदा दूषित पानी पर्यो भने रोगको सम्भावना बढी हुन्छ । अर्को खाना हो, जाडोभन्दा गर्मी सिजनमा खानामा ब्याक्टेरियाको सक्रियता बढ्छ ।’

कसरी जोगिने ?



गर्मीयाममा खानेकुरा चाँडै सड्ने हुन्छ । झिँगा, साङ्ला, लामखुट्टेलगायत किरा बढी सक्रिय हुन्छन् । यी किराका कारण स्वस्थ्यमा विभिन्न संक्रमणको जोखिम हुन्छ । 

गर्मी बढेसँगै अस्पतालमा विभिन्न किसिमका बिरामी आउन थालेको डा. पुनले जानकारी दिए । हालको मौसममा ब्याक्टेरिया बढी सक्रिय हुने उनको भनाइ छ । ‘शुद्ध पानी र ताजा खानामा बढी ध्यान दिनुपर्छ,’ उनले भने, ‘हात धुने, व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिनुपर्छ ।’



उनका अनुसार पछिल्लो केही सातायता कोरोना भाइरस संक्रमित बिरामीको चाप पनि बढिरहेको छ । विशेषगरी ६० वर्षभन्दा माथि उमेरका मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । 

‘पछिल्लो समय कोरोना भाइरसले वृद्धवृद्धालाई बढी दुःख दिएको देखिन्छ । विशेषगरी दीर्घरोगी र वृद्धवृद्धामा संक्रमण तीव्र हुने देखिएको छ । त्यसैले सामान्य रुघाखोकी लागेको भनेर हामीले हेलच्याक्र्याइँ गरेर बस्ने बेला छैन,’ डा. पुनले भने, ‘सामान्य रुघाखोकी पनि कोरोना भाइरसको लक्षण हुनसक्छ । त्यसैले स्वास्थ्यमा कुुनै पनि लक्षण देखिनेबित्तिकै स्वास्थ्य परीक्षण गराउन आवश्यक छ ।’

दूषित पानी र खानाका कारण हुने रोग तथा समस्या, लामखुट्टे तथा किराफट्यांग्राका कारण हुने रोगहरू, फोहोर तथा हिलोका कारण हुने संक्रमण बढी देखिने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्र मरासिनी बताउँछन् । 

त्यसकारण महाशाखाले वैशाखदेखि असोजसम्म यस्ता रोगको व्यवस्थापन र उपचारका लागि तयारी अवस्थामा रहन र विशेष सतर्कता अपनाउन आग्रह गर्ने गरेको समेत जानकारी दिए ।

पानी उमालेर पिउनाले पनि संक्रमणजन्य रोगबाट बच्न सकिने चिकित्सकहरूको राय छ । नेपाल बर्डन अर्फ डिजिज २०१७ का अनुसार नेपालमा कुल जनसंख्याको ४.५१ प्रतिशतको अकाल मुत्यु झाडापखालाले हुने गरेको देखिएको छ । 

जुन सन् १९९० मा १२.१७ प्रतिशत मानिसको मुत्यु झाडापखालाले हुने गथ्र्यो । गर्मी, प्रि–मनसुन र मनसुन मौसममा सरुवा रोगको जोखिम नेपालमा धेरै भएकाले सरकारले विशेष सावधानी अपनाउनुपर्ने विज्ञहरूको सुझाव छ ।​​

  • प्रकाशित मिति : वैशाख १३, २०८१ बिहीबार १८:५२:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया