logo-img

ब्राइटनविरुद्ध म्यानचेस्टर सिटीलाई ४-० को जित, उपाधि होड थप रोमाञ्चक

इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होड थप रोमाञ्चक बनेको छ । विहीबार राति भएको खेलमा ब्राइटनमाथि ४-० को एकतर्फी जित निकालेपछि म्यानचेस्टर सिटीले आफूलाई उपाधि होडमा बलियोगरी प्रस्तुत गरेको छ । 

३४ औं चरणको खेल हुँदा अहिले आर्सनल ७७ अंकका साथ तालिकाको शीर्ष स्थानमा रहँदा सिटी भने ३३ खेलबाट ७६ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ । यस्तै, तेस्रो स्थानमा रहेको झरेको लिभरपुलको ३४ खेलबाट ७४ अंक भएको छ । 

अब सिटीले ५ खेल खेल्न बाँकी रहँदा आर्सनल र लिभरपुलका चार खेलमात्रै बाँकी छन् । अबका खेलको नतिजाका आधारमा प्रिमियर लिगको उपाधि छिनोफानो हुने छ । विहीबार राति सिटीलाई जिताउनका लागि फिल फोडेनले २ गोल गर्दा केभिन डी ब्रुएना र जुलियन अल्भारेजले एक एक गोल गरेका थिए ।

ब्राइटनको मैदाानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनाले १७ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । २६ औं मिनेटमा फिल फोडेनले शानदार गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए । यसैगरी ३४ औं मिनेटमा फोडेनले बर्नान्डो सिल्भाको पासमा व्यक्तिगत दोस्रो गोल गरेपछि सिटी पहिलो हाफमै ३–०को सहज अवस्थामा पुगेको थियो ।

६२ औं मिनेटमा वाल्करको पासमा अल्भारेजले गोल गरेपछि सिटी ४–० को सहज र एकतर्फी जित निकाल्दै स्पष्ट ३ अंक थप गर्न सफल भयो । सिटीको जितसँगै प्रिमियर लिगको उपाधि होड तीन टोलीका बीचमा केन्द्रीत भएको छ । पराजित भएको ब्राइटन भने ४४ अंकका साथ तालिकाको ११ औं स्थानमा छ ।





  • प्रकाशित मिति : वैशाख १४, २०८१ शुक्रबार ७:१३:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया