logo-img

उपनिर्वाचनका लागि  धमाधम व्यवस्थापन गरिँदै मतदान केन्द्र

यही वैशाख १५ मा हुने इलाम २ को उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन अन्तिम चरणमा पुगेको छ । मतदान स्थलमा खटिने कर्मचारी र सुरक्षाकर्मी मतदान स्थल पुगेर सबै खाले तयारी गरिरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

बिहीबार स्थानीय राजनीतिक दलसँग सर्वदलीय बैठकसँगै मतदान स्थलको घेरबार, मतदातालाई राखिने लाइन राख्ने ठाउँलगायतको तयारीलाई अन्तिम चरणमा पुर्‍याइरहेका छन् । क्षेत्र नम्बर २ मा एक सय ४९ मतदान केन्द्र तय गरिएको छ ।

मतदातालाई पुरुष र महिलाले अलग–अलग लाइनमा बसेर मतदान गर्न सक्ने गरी व्यवस्थापन गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लाका सबै मतदान स्थलमा कर्मचारी र सुरक्षाकर्मीको टोली पुगिसकेको छ ।

निर्वाचनमा सात सय ४५ कर्मचारी, एक हजार पाँच सय २३ नेपाल प्रहरी, सात सय १० सशस्त्र प्रहरी र चार सय ५० नेपाली सेना र अनुसन्धानका २४ जना परिचालन हुनेछन् । 
छ पालिकाका ४२ वडामा मतदान हुन लागेको छ । यहाँ ५६ हजार  आठ सय ६९ महिला, ५९ हजार १८ पुरुष, दुई अन्य गरी एक लाख १५ हजार  आठ सय ८९ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ । 

त्यस्तै उपनिर्वाचन हुने दिन वैशाख १५ गते इलाम जिल्लाभर सवारीका साधन बन्द गर्ने निर्णय भइसकेको छ । मतदान हुने दिन बिहान ५ देखि साँझ ६ बजेसम्म मेची राजमार्गसहितको यातायात बन्द गर्ने सर्वपक्षीय/सर्वदलीय निर्णय भएको हो ।

मतदानको दिन बिहान ५:०० बजे देखि साँझ ६:०० बजेसम्म अत्यावश्यक सेवाका र अनुमति प्राप्त सवारी साधन बाहेक इलाम जिल्ला भर मेची राजमार्ग लगायत अन्य सबै सहायक मार्गहरूमा सबै किसिमका सवारी साधनको आवागमन बन्द हुनेछन् । झापा, मोरङ, पाँचथर र ताप्लेजुङ जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराई व्यवस्थापनमा सहयोग माग गर्ने निर्णय भएको छ । 





  • प्रकाशित मिति : वैशाख १४, २०८१ शुक्रबार १२:१:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया