सप्तरी– नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले केपी ओली नेतृत्वको दुईतिहाइ सरकार पूर्ण रुपमा असफल भइसकेको बताएका छन् ।
प्रेस युनियनले सप्तरीमा गरेको पत्रकार सम्मेलनमा नेता सिंहले जनताले यो सरकार बनेदेखि नै शान्ति सुरक्षाको अनुभूति गर्न नपाएको र भ्रष्टाचार लगातार बढीरहेको बताए ।
सरकारले समृद्धिको नारा दिए पनि आफैँ त्यसविरुद्ध काम गरिरहेको उनको आरोप छ । सरकार विधि र प्रक्रियाविपरीत चलेको आरोप लगाउँदै सिंहले बजेट खर्च र छनेट भएका योजना पूरा गर्न नसक्नुले सरकार असफल छ भन्ने देखाएको टिप्पणी गरे ।
नेता सिंहले प्रधानमन्त्रीले भ्रष्टाचार नगर्ने र भ्रष्टाचार हुन नदिने बताए पनि सुनकाण्ड र बाइडबडीमा भ्रष्टाचार गर्नेलाई संरक्षण दिएर आफ्नो बोली आफैँले परिवर्तन गरेको आरोप लगाए ।
कर्मचारी समायोजनको नाममा गलत समयमा कर्मचारी यताउता गरेर देशलाई अस्तव्यस्त बनाएको भन्दै नेता सिंहले भने, ‘अहिले विकासको काम हुने समय हो । यो अवस्थामा सबै तहमा कर्मचारी हुन जरुरी छ । तर, समायोजन गर्दा धेरै ठाउँमा कर्मचारी पुग्न नसकेर काम हुन सकिरहेको छैन ।’
समायोजनमा कर्मचारीलाई चित्त बुझाउन नसक्नु सरकारको अर्को असफलता भएको उनको बुझाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।