कति बढ्ला वृद्धभत्ता ? कत्रो होला बजेटको आकार ?

काठमाडौं– आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बजेटमार्फत वृद्धभत्ता बढाउने उद्घोष गरे । राजधानीमा आयोजित ज्येष्ठ नागरिकको स्वास्थ्य बिमा कार्यक्रम तथा ‘खोलौँ बैंक खाता’ कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले भने, ‘लुकाएर लुक्ने कुरा छैन, वृद्धाभत्ता बढ्छ ।’ 

साँच्चै बढ्ला त वृद्धभत्ता ?

ओली नेतृत्वको वाम गठबन्धनको चुनावी घोषणापत्रमा वृद्धभत्ता दुई हजारबाट बढाएर पाँच हजार पुर्याउने उल्लेख थियो । चुनाव जितेर ओली नेतृत्वमा एकलौटी सरकार बनेपछिको पहिलो बजेटमा अलिकति पनि भत्ता बढेन । त्यसैले, यसपटकको ओलीको बोलीमा धेरैले पत्यार नमानेका हुन सक्छन् । 

तर, यसपटक प्रधानमन्त्रीले घोषणा गरेजस्तै वृद्धभत्ता बढ्ने अर्थमन्त्रालय स्रोतले पुष्टि गरेको छ । चुनावी घोषणापत्र र नीति तथा कार्यक्रमको वरिपरि रहेरै बजेट आउने मन्त्रालय स्रोतको दाबी छ । 

चालु आर्थिक वर्षको बजेटमा वृद्धभत्ता नबढाएपछि अर्थमन्त्रीले चर्काे आलोचना सहनुपरेको थियो । संयुक्त चुनावी घोषणापत्रले गरेको वाचा पूरा गर्ने दिशामा डेगै नसरेको भन्दै धेरैले सरकारको खिल्ली उँडाएका थिए । 

अर्थमन्त्री युवराज खतिवडाले भने आफूले पहिलो ३ वर्ष गाली र पछिल्लो दुई वर्ष ताली खाने बजेट ल्याउने भन्दै प्रतिवाद गरेका थिए । 



राष्ट्रिय सभाका मानोनीत सांसद खतिवडालाई चिट्ठा तान्दा दुई वर्षको मात्रै कार्यकाल परेको छ । सांसद भएको १४ महिना पूरा भइसकेकाले उनीसँग अब १० महिना मात्र बाँकी छ । त्यसपछि फेरि सांसद चुनिने र अर्थमन्त्रीमा निरन्तरता पाउने उनमा आशा त होला, तर भरोसा छैन । यो नै आफ्नो अन्तिम बजेट हुन सक्ने भएकाले पनि उनले भत्ता बढाउने मन्त्रालय स्रोतको विश्लेषण छ । 

कति बढ्ला भत्ता ?



आइतबारको कार्यक्रममा प्रधानमन्त्रीले वृद्धभत्ता बढ्ने बताए पनि कति पुग्छ भन्ने प्रस्ट्याएनन् । 

सरकारले चालु आर्थिक वर्षमा सामाजिक सुरक्षाको लागि ४२ अर्ब १८ करोड विनियोजन गरेको थियो । त्यसमा, सामाजिक सुरक्षा भत्तामा मात्रै पहिलो ६ महिनामा १४ अर्ब ६३ करोड खर्च भइसकेको छ । घोषणापत्रमा वाचा गरेजस्तो एकैपटक पाँच हजार भत्ता पुर्याउँदा सामाजिक सुरक्षाको बजेट १ खर्ब नाघ्छ । त्यहीअनुसार आकार बढ्दा बजेट निकै ठूलो हुन्छ । त्यसैले, एकैपटक वृद्धभत्ता पाँच हजार पुग्ने सम्भावना कम देखिन्छ । 

आगामी आवको बजेट ओली सरकारको दोस्रो बजेट हो । यसपछि पनि यो सरकारले अरु तीन बजेट प्रस्तुत गर्नेछ । त्यसैले, सरकारले बर्सेनि एक–एक हजार थपेर अन्तिम वर्षसम्ममा पाँच हजार पुर्याउन सक्छ, जुन आगामी चुनावको लागि गतिलो एजेन्डा बन्न सक्छ । 

बजेटको आकार १५ खर्ब

राष्ट्रिय योजना अयोगले यसअघि नै १५ खर्बको बजेट सिलिङ पठाइसकेको छ । बजेटकै तयारीस्वरुप अहिले योजना अयोग पनि मन्त्रालयगत छलफलमा जुटेको छ । मन्त्रालय उच्च स्रोतका अनुसार सरकारले १५ खर्बकै बजेट ल्याउने तयारी गरेको छ । 

चालु आर्थिक वर्षमा सरकारले ७ प्रतिशतभन्दा बढीको आर्थिक वृद्धि हासिल गर्ने बताइरहेको छ । आर्थिक वृद्धिदर देखाउनका लागि भए पनि सरकारले बजेटको आकार बढाउन सक्छ । 

  • प्रकाशित मिति : वैशाख १, २०७६ आइतबार २०:२४:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया