'अनुचित व्यवहार'का दोषी विराट कोहलीलाई आइसिसीले दियाे 'डिमेरिट पोइन्ट'

रिसर्चनयाँ दिल्ली– आइसिसीले ‘आचारसंहिता मिचेका’ भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीलाई ‘डिमेरिट पोइन्ट’ दिएको छ । दक्षिण अफ्रिकाविरुद्धको पछिल्लो खेलमा अनुचित व्यवहार देखाएका कोहलीलाई आइसिसीले ‘पहिलो दर्जाको आचारसंहिता उल्लंघन’को दोषी करार गर्दै नकारात्मक अंक दिएको हो । 

आइतबार भारतको बैंगलुरुमा भएको खेलमा विराट दक्षिण अफ्रिकी बलर ब्युरन हेन्ड्रिक्ससँग ठोकिएका थिए । भारतीय पारीको पाँचौँ ओभरमा रन लिन दौडने क्रममा विराट पिचछेउ उभिएका हेन्ड्रिक्ससँग ‘अनुचित ढंगले’ ठोकिएका थिए । 

२०१६ को सेप्टेम्बरमा पछिल्लो आचारसंहिता जारी भएयता विराटले पाएको यो तेस्रो डिमेरिट पोइन्ट हो । २०१८ को जनवरीमा दक्षिण अफ्रिकाविरुद्धकै खेलमा उनले पहिलो डिमेरिट पोइन्ट पाएका थिए । दोस्रो पोइन्ट भने यही जुनमा भएको एकदिवसीय विश्वकपका बेला अफगानिस्तानविरुद्धको खेलमा मिलेको थियो । त्यतिखेर उनलाई 'म्याच फी'को २५ प्रतिशत जरिवाना पनि तिराइएको थियो । 

रिपोर्टअनुसार, विराटले म्याच रेफ्री रिची रिचर्डसनसामु गल्ती स्विकार्दै उनले प्रस्ताव गर्ने कारबाहीका लागि मन्जुरी दिइसकेका छन् । 

नियमअनुसार, विराटलाई दोषी पाइएको ‘लेभल–१’ आचारसंहिता उल्लंघनका लागि न्यूनतम सजाय खेलाडीलाई सचेत गर्ने र अधिकतम सजायमा खेलाडीको ‘म्याच फी’को ५० प्रतिशत रकम जरिवाना गराउने व्यवस्था छ ।





  • प्रकाशित मिति : असोज ६, २०७६ साेमबार २०:४९:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया