logo-img

फलफूलकाे बाेट हुर्काउने किसानलाई गाउँपालिकाकाे नगद पुरस्कार

चितवन– जिल्लाकाे एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाले फलफूलकाे बाेट लगाउने किसानलाई नगद पुरस्कारकाे घाेषणा गरेकाे छ । फलफूलको बिरुवा हुर्काउने किसानलाई गाउँपालिकाले प्रतिबिरुवा १० रुपैयाँ  दिने भएको छ । गाउँपालिकाले यस आर्थिक  वर्ष २०७६/७७ देखि किसानले हुर्काएको फलफूलको प्रति बिरुवा १० रुपैयाँ दिने भएको हो ।

गाउँपालिका अध्यक्ष  गीताकुमारी गुरुङले किसानलाई व्यावसायिक कृषितर्फ आकर्षित गर्न 'एक फलफूलको बोट दशको नोट' कार्यक्रम ल्याइएको बताए । अध्यक्ष गुरुङले भने, 'इच्छाकामनाको भूगोलमा  फलफूल खेतीको  राम्रो सम्भवना छ, किसानलाई  व्यावसायिक खेतीतर्फ आकर्षित गर्न एक फलफूलको बोट दशको नोट  कार्यक्रम  ल्याएका  छौँ ।'

गाउँपालिकाले  व्यावसायिक फलफूलखेती गर्नेका लागि  दुई सयदेखि पाँच सय बोटसम्म अनुदान दिँदै आइरहेको छ । ती बिरुवा सफलताका साथ हुर्काउने व्यावसायिक किसानलाई प्रतिबिरुवा १० रुपैयाँ प्रदान गरिने अध्यक्ष गुरुङको भनाइ थियो ।  

गाउँपालिकामा सुन्तला, कागती, नासपातीलगायत फलफूलको उत्पादन राम्रो हुने गरेको छ । साथै बाँझो जमिन भाडामा लिई व्यावसायिक खेती गर्ने किसानलाई एक लाख, तीन दुहुना भैँसी पाल्ने किसानलाई एक लाख, व्यावसायिक बाख्रापालक किसानलाई ६० हजारसम्मको अनुदान उपलब्ध गराएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले  आर्थिक वर्ष २०७५/७६ मा तीन दुहुना भैँसी पाल्ने ८ जनालाई जनही एक लाख, व्यावसायिक तरकारीखेती गर्ने आठजनालाई जनही एक लाख, बाख्राखोर सुधारका लागि २० जनालाई जनही २५ हजार, ब्याड बोकाका लागि २० जनालाई जनही ४० हजार र बंगुरपालक दुईजना किसानलाई जनही २५ हजार अनुदान प्रदान  गारिएको अध्यक्ष गुरुङले जानकारी दिए ।  
  
अध्यक्ष गुरुङले किसानलाई व्यावसायिक कृषि पेसातर्फ आकर्षित गर्नका लागि अनुदानका कार्यक्रम सञ्चालन गरिएको बताए । उनले किसानका लागि वडा नं– ४ कुरिनटारमा शीतभण्डार निर्माण गरिएको बताए । साथै वडा नं– ३  फिस्लिङमा तरकारी संकलन केन्द्र निर्माण भइरहेको जानकारी दिए । 
 
चितवनको दुर्गम भेगमा रहेको यस इच्छाकामना गाउँपालिकाका  बासिन्दाको तरकारी खेती र पशुपालन  नै मुख्य आम्दानीका स्रोत हुन् ।  अनुदानका कार्यक्रम सञ्चालन गरेपछि गाउँपालिकाभित्र व्यावसायिक कृषि पेसातर्फ किसान आकर्षित भएका छन् ।





  • प्रकाशित मिति : कात्तिक ५, २०७६ मंगलबार १४:३८:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया